+
+
प्रहरीको निष्कर्ष :

सांसद भण्डारीको घरमा लिक भएको ग्याँसमा आगोको झिल्को पर्दा दुर्घटना 

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन २८ गते १९:३७

२८ फागुन, काठमाडौं । सांसद चन्द्र भण्डारीको घरमा भएको ग्याँस दुर्घटनाको कारण मानवीय त्रुटि नै भएको निष्कर्षमा प्रहरी पुगेको छ । ४ फागुन राति भएको आगलागीमा परी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको थियो भने सांसद भण्डारी घाइते भएका थिए । उनको भारतमा उपचार भइरहेको छ ।

घटना लगत्तै दुर्घटनामा परेको ग्याँसका उपकरणसहित छानबिन गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले दुर्घटनाको कारण ग्याँस लिक भएको ठाउँमा स्पार्क (झिल्का) उत्पन्न हुनु रहेको निष्कर्ष निकालेको हो ।

मानवीय त्रुटिका कारण ग्याँस लिक भएको कोठामा बिजुलीको स्वीच अन गर्दा निस्केको झिल्कोले आगलागी भएको र सो आगो आफैं निभेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रही उपरिक्षक सिताराम रिजालले बताए ।

‘मानवीय कारणले ग्याँस लिक भएको कोठामा बिजुलीको स्वीच अन गर्दा झिलिक्क झिल्का (स्पार्क) निस्कियो,’ एसपी रिजालले भने, ‘एकैछिन आगो लाग्यो त्यही कारणले झ्याल ढोका फुट्यो र आगो निभ्यो । ’

दुर्घटनामा मानवीय त्रुटिबाट कोठामा ग्याँस लिक भएको निष्कर्षमा पनि प्रहरीको छ । दुर्घटना हुनुमा ग्याँस सिलिण्डरका साथ प्रयोग भएका अन्य उपकारण कारण नभएको परिसरका प्रवक्ता रिजालले बताए । यद्यपि दुर्घटनामा परेको सिलिण्डरसहितका अन्य उपकरणको प्राविधिक र प्रयोगशाला परीक्षण भने नगरिएको रिजालको भनाइ छ ।

दुर्घटनासँग जोडिएका उपकरणको प्रयोगशाला परीक्षण भएको हो भन्ने प्रश्नमा उनले भने, ‘ग्याँस सिलिण्डर विस्फोट भएको भए प्रयोगशाला परीक्षण गर्नुपर्ने थियो,’ उनले थपे, ‘तर, यो घटनामा सिलिण्डर विस्फोट भएको छैन ।’

काठमाडौंको बुद्धनगरस्थित सांसद चन्द्र भण्डारीको घरमा प्रयोग भएको राजधानी नामक कम्पनीको ग्याँस दुर्घटनामा परेको थियो । दुर्घटना लगत्तै सांसद भण्डारी र उनको आमालाई कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो । तर, आमा हरिकलाको ५ गते बिहान उपचारको क्रममा निधन भयो भने भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो । दुर्घटनाको २३औं दिनमा पनि भण्डारीको सघन उपचार जारी छ ।

सांसद भण्डारीको घरमा प्रयोग भएको ग्याँस सिलिण्डर दुर्घटनाको दुई महिना अघि भरिएको थियो । नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुश मल्लीको उद्योगमा उत्पादित राजधानी ग्याँस भण्डारीले नजिकैको लुम्बनी मार्टबाट खरिद गरेका थिए ।

भण्डारीको घरमा ग्याँस पुर्‍याउने लुम्बिनी मार्टका सञ्चालक लक्ष्मण भण्डारीले आफ्नो ग्याँसमा कुनै समस्या नरहेको दाबी गरेका थिए । ‘ग्याँस विस्फोट भएको होइन, यो लिकेज हो,’ उनले दाबी गर्दै भनेका थिए, ‘सिलिण्डर सग्लो छ, पाइप र रेगुलेटरसमेत केही भएको छैन । ग्याँस पड्केको भए घर ध्वस्त हुने थियो ।’

उनले दुर्घटनाको कारण सिलिण्डर नभई पाइप, रेगुलेटर वा मानवीय हेलचेक्रयाईं भएको हुनसक्ने दाबी गरेका थिए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?