+
+

एफबीआईको सहयोगमा भयो पृथ्वीको ठगी धन्दा पटाक्षेप

नेपालमा १४ वटा फर्जी कम्पनी दर्ता गरेर पृथ्वीबहादुर शाहसहितको गिरोहले ६१ करोडभन्दा बढी रकम ठगी गरेको भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) को सहयोगमा यो प्रकरणको पटाक्षेप गरेको हो ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ चैत १ गते २०:१०

१ फागुन, फागुन, काठमाडौं । सन् २०२१ को मार्चमा अमेरिकाकी एक महिलाले नर्दन एन्टी भाइरसको सेवा तीन वर्षलाई नविकरण भएको व्यहोरासहितको इमेल पाइन् । त्यसवापत २४९.९९ अमेरिकी डलर बैंक खाताबाट काटिएको उल्लेख थियो ।

जबकि, उनले कहिल्यै त्यसरी एकैपटक लामो समयका लागि एन्टी भाइरसको पैसा तिर्ने गरेकी थिइनन् । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसनलाई दिएको उजुरीमा उनले भनेकी छन्, ‘सामान्यतया मैले एक वर्षको मात्रै सर्भिस लिने गरेको थिएँ, त्यो पनि एकदमै कम पैसा तिरेर ।’

एकैपटक तीन् वर्षको सेवा नवीकरण भएको इमेल आएपछि उनले त्यससँगै उल्लेखित नम्बरमा फोन गरिन् । फोनमा एलेक्स म्याक्सवेल नाम बताउने व्यक्तिले कम्युटरमा भर्चुअल्ल एक्सेस दिए रकम फिर्ता हुनसक्ने बताए । त्यसपछि उनले एउटा सफ्टवेयरमार्फत उनलाई भर्चुअल एक्सेस दिइन् ।

‘रकम प्राप्त गर्नलाई ९३ थिच्न भनिएको थियो, त्यो गर्ने वित्तिकै कम्प्युटर पूरै ह्याङ भयो’, उनले भनेकी छन्, ‘जतिबेला कम्युटर राम्ररी चल्यो, त्यसबेला मेरो खातामा ९९ हजार ९०० डलर आएको देखियो ।’ यस्तो हुने वित्तिकै उनले कम्युटर बन्द गरिन् ।

अर्को दिन उनलाई फेरि म्याक्सवेल बताउने व्यक्तिको फोन आयो । ‘फोनमा मलाई बैंकमा गएर ९९ हजार ९०० डलर वायर ट्रान्सफर गर्न भनियो’, उनी थप्छिन्, ‘मैले १८ मार्च २०२१ मा पैसा फिर्ता गरेर स्टेटमेन्ट पठाएको थिएँ ।’ उनले त्यो रकम नेपालको प्रभु बैंकमा रहेको एक खाता नम्बरमा पठाएकी थिइन् ।

जब उनले पठाइसकिन्, त्यसपछि थाहा पाइन्-उनको खातामा ९९ हजार ९०० डलर आएकै थिएन । त्यसपछि बैंक अफ अमेरिकामा उजुरी गरिन्, बैंकले पैसा आफूहरुबाट फत्किसकेको बताएपछि अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन -एफबीआई) लाई जानकारी गराइन् ।

****

२० मे, २०२१ मा अमेरिकाका एक युवक आफ्नो वृद्ध बुबाको बैंक खाता विवरण अनलाइनबाट ब्राउज गरिरहेका थिए । उनले अकाउन्टिङ सफ्टवेयर क्वीक बुकका लागि पैसा काटिएको देखे । नविकरण वापत पैसा काटिएको थाहा पाएपछि उनले त्यसलाई रद्द गर्ने प्रयास गरे ।

‘पहिले विजनेस कारोबारहरु क्वीक बुक मार्फत गर्नुहुन्थ्यो, तर अहिले सेवा निवृत्त जीवन विताइरहेकाले रिन्यू गर्न जरुरी थिएन’, छोराले भनेका छन्, ‘त्यसैले मैले क्वीक बुकको कस्टमर केयरको फोन नम्बर इन्टरनेटमा सर्च गरेको थिएँ ।’

इन्टरनेटमा प्राप्त नम्बरहरुको सूचीमध्ये उनले पहिलो नम्बरमा समपर्क गरेर समस्याबारे जानकारी गराए । फोन उठाउने व्यक्तिले रकम फिर्ती प्रक्रिया थाल्न अर्का एक व्यक्तिसँग कुरा गर्न भने । जेम्स मोरगान नामक व्यक्तिसँग सम्पर्कमा पुगेपछि उनलाई कम्युटरको ‘रिमोट एक्सेस’ (भर्चअल एक्सेस) दिन भनियो ।

‘सुरुमा एक्सेस दिइहाल्न म तयार थिइनँ, तर नदिइ नहुने भनेपछि धेरै विवाद गर्न ठिक लागेन’, उनी भन्छन्, ‘मलाई क्वीक बुकको एकाउन्टमा लग इन गर्न भनिएको थियो । मैले त्यही अनुसार गरेँ ।’ एकैछिनमा उनको म्यासेजमा एउटा संकेत आयो, जहाँ ४८१ नम्बर टाइप गर्न उनलाई भनियो । दुई पटकको प्रयासपछि त्यो नम्बर इन्टर भयो ।

‘त्यो नम्बर हाल्ने वित्तिकै खातामा ४ लाख ८१ हजार अमेरिकी डलर आएको सन्देश स्क्रीनमा देखियो, म छक्क परैँ’, उनले भनेका छन्, ‘के भयो भनेर सोध्दा मोर्गेनले मलाई त्यो अन्तर्राष्ट्रिय कालोधनको पैसा भएको बताए ।’

पीडितका अनुसार उनले तत्काल प्रहरीलाई त्यसबारे जानकारी दिन खोजेका थिए, तर त्यसो गरे दुवै जनाविरुद्ध ‘मनी लाउन्डरिङ’को मुद्दा लाग्न सक्ने बताए । त्यही बीच सम्पर्कमा आएका तेस्रो व्यक्तिले आफूलाई वकिल बताउँदै सहयोग गर्ने बताए । त्यसका लागि नजिकको बीबीएण्डटी बैंकमा गएर वायर ट्रान्सफरमार्फत ३ लाख ५० हजार अमेरिकी डलर एउटा खातामा हाल्न भनियो ।

‘एकदिनमा अन्तर्राष्ट्रिय वायरमार्फत रकमान्तर गर्न सकिने अधिकतम सीमा नै त्यत्ति हो’, अनुसन्धानमा संलग्न एफबीआईका अधिकारीले दिएको विवरणमा उल्लेख छ, ‘त्यतिबेला विजनेस इन्भेष्टमेन्ट भन्दै होली टाइम्स नामक संस्थाको नाममा पैसा पठाउन भनिएको थियो ।’

होली टाइम्स नेपालमा पृथ्वीबहादुर शाह र विनोद सुन्दासको नाममा दर्ता भएको कम्पनी हो । यसरी अमेरिकाबाट कम्पनीको नेपालस्थित कुमारी बैंकको खातामा पैसा पठाएको अनुसन्धानका क्रममा खुलेको छ ।

उनलाई पैसा जम्मा गरिसकेपछि एकदमै तनावपूर्ण परिस्थिति सम्हालिएको भन्दै फोनमा भनिएको थियो । पछि रकम निकाल्नलाई उनको आधिकारिक आईडी कार्ड चाहिएको भन्दै लाइसेन्स स्क्यान गरेर पठाउन भनिएको थियो ।

उनले स्क्यान गरेको कपी कुमारी बैंकको इमेलमा पठाए । केहीबेरमा उनलाई अमेरिकास्थित बैंकबाट एउटा फोन कल आयो, सुरुमा उनले उठाएनन् ।

पछि भ्वाइस म्यासेज सुन्दा उनलाई बीबीएण्डटी बैंकका कर्मचारीले ठगीमा परेको हुनसक्ने बताएका थिए । त्यसपछि झस्किएका उनले आफैं बैंकमा फोन गरेर सबै विवरण बताए ।

नभन्दै बैंकमा जाँच गर्दा उनको खातामा कहिल्यै ४ लाख ८१ हजार डलर नआएको खुल्यो । बल्ल उनले आफू ठगीमा परेको थाहा पाए । अहिले नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा उनी कानूनी लडाइँ लडिरहेका छन् ।

****

टेक्सासका एक व्यक्तिलाई ग्रिक स्क्वाड (कम्प्युटरसम्बन्धी समस्या समाधान गरिदिने कम्पनी) को सेवा रिन्यू हुन लागेकाले ४२३.९७ डलर काटिन लागेको भन्दै इमेल आयो । त्यसलाई रोक्ने भए फोन गर्न भन्दै ८८८-२१६-….. नम्बर दिइयो ।

उनले त्यसलाई रद्द गर्न भन्दै दिइएको नम्बरमा फोन गरे । त्यसक्रममा स्याम वाटसन नामक व्यक्तिसँग उनको कुरा भयो, उनले भनेअनुसार गर्दै जाँदा खातामा ४२ हजार २०० अमेरिकी डलर जम्मा भयो ।

‘एक्कासी त्यति धेरै पैसा खातामा आएपछि छक्क परेँ’, उनले भनेका छन्, ‘मलाई वायरमार्फत फिर्ता गर्न भनिएको थियो, नभए सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने र ठूलो मुद्दा बन्ने बताएका थिए ।’ यही विश्वासमा पर्दा उनले पनि रकम गुमाएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार यसरी अमेरिकी नागरिक ठगिएको तीन वटा घटना मात्र छैनन् । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) र नेपालस्थित अमेरिकी दूतावाससँग समन्वय गरेर सीआईबीले अनुसन्धान थालेपछि २४ जना पीडितले उजुरी दिएका छन् ।

‘केहीको उजुरी नेपालस्थित अमेरिकी दूतावासमार्फत आएको हो भने केहीले वारेस राखेर दिएका छन्’, सुवेदी भन्छन्, ‘२० जनाको समूहले संगठित रुपमा अमेरिकी नागरिकलाई ठगेको पाइएको छ ।’

पृथ्वी संलग्न कम्पनीहरू ।

प्रहरीका अनुसार अछामका पृथ्वीबहादुर शाहले १४ वटा कम्पनीहरु खडा गरेर प्रबन्ध पत्र र नियमावलीमा उल्लेखित उद्देश्य विपरित अनुमति समेत नलिइ विदेशी लगानी भित्र्याएको दाबी गर्दै ठगीको रकम हात पार्ने गरेका थिए । उनले भारतमा रहेको गिरोहसँगको सहयोगमा यो धन्दा चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यी २४ जनै पीडितले शाह जोडिएका कम्पनीमा रकम जम्मा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘अमेरिकामा रहेका नागरिकहरुलाई कम्प्युटरमा जडान हुने एन्टी भाइरस निवकरण गर्ने लगायतका वहाना बनाएर पीडितहरुसँग सम्पर्क स्थापित गराएर अनाधिकृत रुपमा उनीहरुको डिभाइजमा एक्सेस पुर्‍याउने गरेको देखिएको छ’, ब्यूरोका एसएसपी राजेन्द्र आचार्य भन्छन्, ‘पीडितको कम्प्यूटरमा पहुँच बनाएर खातामा रकम जम्मा भएको देखिने डुप्लिकेट स्टेटमेन्ट देखाएर पैसा फिर्ता पठाउन लगाएको देखिएको छ ।’

यसरी २०७४ सालयता उनीहरुको समूहले अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ (आजको विनिमय दर अनुसार नेपाली ६१ करोड २८ लाख बढी), १९ हजार ८२५ पाउण्ड (३१ लाख ७४ हजार नेपाली रुपैयाँ) र क्यानेडियन डलर ३ लाख ४० हजार (३२ करोड ७८ लाख बढी) नेपाल भित्र्याएको अनुसन्धानबाट देखिएको छ ।

शाह समूह सञ्चालक रहेको खातामा आएको रकम शंकास्पद लागेपछि नेपाल राष्ट्र बैंकले पहिल्यै रकम रोक्का गरेको थियो । तर, त्यसलाई फुकुवा गर्न तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दबाब दिएको सार्वजनिक भएपछि यो प्रकरण सतहमा आएको थियो । त्यसपछि सीआईबीले गरेको अनुसन्धानका क्रममा त्यसरी भित्र्याइएको रकम ठगीबाट आर्जित भएको खुलेको थियो ।

तर, शाहले चाहिँ प्रहरीसँग बयान दिँदै आफूले पर्यटन व्यवसायका लागि वैदेशिक लगानी भित्र्याएको दाबी गरेका थिए । अदालतले उनीसहित पक्राउ परेका ६ जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । एक जना चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । १३ जना अझै फरार छन् ।

शाहले भित्र्याएको रकम मध्ये २० करोड अझै रोक्का छ ।

 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?