+
+
अनुभव :

‘दलको दास बन्ने प्रतिस्पर्धामा छन् विद्यार्थी नेता’

विद्यार्थीसँग जोडिने हो भने स्ववियुमा विद्यार्थीको करिअर काउन्सिलिङ गर्ने एउटा युनिट स्थापना गर्नुपर्छ र त्यो कामकाजी हुनुपर्छ । स्वर्णिम वाग्ले र सुशील ज्ञवालीहरूलाई विद्यार्थीसँग अन्तरक्रिया गराउने माध्यम बन्नुपर्छ स्ववियु ।

दीपकबाबु कँडेल दीपकबाबु कँडेल
२०७९ चैत १ गते १६:२३

२०३६ सालबाट सुरु भएको स्ववियु निर्वाचनमा नेविसंघबाट हृदयराम थानी चुनाव लडे तर पराजित भए । पुल्चोक क्याम्पसमा हामी निरन्तर पराजित हुँदै आएका रहेछौं । म प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुल्चोक क्याम्पस भर्ना भएँ र विद्यार्थी राजनीतिमा जोडिएँ ।

२०४९ सालमा सम्पन्न स्ववियु निर्वाचनमा म नेविसंघबाट उपसभापतिको उम्मेदवार बनें । सभापतिमा नारायण काफ्ले हुनुहुन्थ्यो । हामी विजयी भयौं र इतिहास रच्यौं । हामीसँग चुनाव लड्ने सुशील ज्ञवाली सभापतिमा पराजित भए, जो अहिले राष्ट्रिय योजना आयोगको सदस्य छन् ।

यसअघि कम्युनिष्टको दबदबा थियो । हामीभन्दा अघिल्लो कार्यकालमा अनेरास्ववियुका भरत पहारी सभापतिमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला नेविसंघ बनेर क्यान्टिनमा खाजा र खाना खान पनि नपाउने अवस्था थियो ।

च्यासल आसपास कम्युनिष्टहरूले घेर्ने, लखेट्ने गर्दथे । हामीले जनसम्बन्ध राम्रो बनायौं । एकजना एमालेका साथी कांग्रेसमा प्रवेश गरे । उनलाई लिएर हामी चुनाव प्रचारप्रसारमा हिंड्यौं । त्यतिबेला गिरिजाबाबु प्रधानमन्त्री थिए ।

हामी चुनाव जित्दा डीन डा. सुदर्शनराज तिवारी थिए । एकजना सकारात्मक सोच भएको मान्छे । चुनाव कमिटीको अध्यक्ष प्रा.डा. सरोज देवकोटा थिए, जो अहिले दिवंगत भइसके ।

हामी स्ववियुमा रहँदा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पार्टी नेता थिए । गणेशमान त हामीले चुनाव जित्दा राति एक बजे विजय जुलूसमै आएका थिए । क्षेत्रपाटीबाट जीप चढेर राति केवल बधाई दिन गणेशमान आएका थिए । उनी लट्ठी टेकेर विजय जुलूसमा हिंडे । तर अगाडि निर्णय प्रक्रियामा पार्टीको कुनै हस्तक्षेप रहेन ।

बिग्रियो नेतृत्वको नर्सरी

त्यतिबेला स्ववियुमा धेरै स्रोतसाधन हुन्थ्यो । हामी विद्यार्थीको बीचमा बढीभन्दा बढी पुगेर उनीहरूको कुरा सुन्थ्यौं । कक्षा कक्षामा पुगेर पनि हाम्रा एजेन्डाहरू राख्थ्यौं । शैक्षिक र पूर्वाधार सुधारदेखि त्यसमा विद्यार्थीको पहुँच सुनिश्चित गर्न भूमिका खेल्यौं । क्रिकेट टिम बनायौं जतिबेला त्यो एकदमै कम खेलिन्थ्यो ।

इभेन्टकै रूपमा भित्र्याउने काम गर्‍यौं । खेलकुद सामग्रीदेखि पूर्वाधार बनाउन भूमिका खेल्यौं । विद्यार्थीले केही न केही परिवर्तनको महसुस गरे । शैक्षिक वातावरण र स्पोर्टस् म्यानसिपमा काम गरेपछि विद्यार्थीले परिवर्तनको महसुस गर्ने पनि भए । अतिरिक्त पाठ्यक्रम (एक्ट्रा करिकुलम)मा पनि काम गर्‍यौं ।

अहिले आएर विद्यार्थी राजनीति हेर्दा उत्साहित हुने ठाउँ बाँकी छैन । हामीकहाँ नर्सरी राम्रोसँग गोडमेल गरेर हुर्काउने काम नै भएको छैन अनि राम्रा बिरुवा कसरी हुर्कन्छन् ? विद्यार्थीलाई इन्नोभेटिभ बनाउने काम पार्टीकै भूमिकाको कारण अस्तव्यस्त छ ।

अहिले विद्यार्थीलाई ‘इन्नोभेटिभ’ र ‘गरिखाने’ कसरी बनाउने भन्दा पनि ‘कसरी पार्टीको गोठालो बनाउने’ भन्ने सोच नेताहरूले राखिरहेका छन् । यसको सबैभन्दा ठूलो दुर्भाग्य भोलि देशले पनि भोग्नुपर्छ ।

अहिले विद्यार्थीलाई इन्नोभेटिभ र गरिखाने कसरी बनाउने भन्दा पनि कसरी पार्टीको गोठालो बनाउने भन्ने सोच नेताहरूले राखिरहेका छन् । यसको सबैभन्दा ठूलो दुर्भाग्य भोलि देशले पनि भोग्नुपर्छ । नेतृत्व पनि राम्रो जन्मिंदैन । जस्तै, म उपसभापतिमा निर्वाचित हुँदा गगन थापाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । २०५१ सालमा स्ववियु सदस्य लडेका थापा अहिले पार्टीको महामन्त्री छन् । त्यतिबेलाको जस्तो नेतृत्वको नर्सरी अहिले सुरक्षित छैन ।

अहिले नेताहरू नेतृत्वभन्दा दास जन्माउने होडमा छन् । त्यसैले विद्यार्थीको आकर्षण पनि बाँकी छैन । एक्लै एक्लै लड्नुपरेको भए कुनै पनि संगठनले १५ जना राम्रो उम्मेदवार दिनसक्ने अवस्था छैन ।

सुधारको बाटो

विद्यार्थीलाई अबको देश कसैको निगाहमा होइन, तपाईंको खुबी र सिर्जनशीलताले चल्ने हो भन्ने सन्देश हाम्रो नेतृत्वले दिनुपर्छ । अहिले मेरो बच्चा नेविसंघ वा कुनै भ्रातृ संगठनमा बस्न डराउँछ, रुचि देखाउँदैन । उसले सामाजिक सञ्जालबाट सबै कुरा हेरिरहेको छ । हाम्रो बेला क्याम्पसमा एउटा फोन थियो, त्यहाँबाट घर फोन गर्न शनिबार कुर्नुपथ्र्यो ।

म आफ्नो करिअर सोच्थें । पढ्नुबाहेक विकल्प थिएन । अहिलेका विद्यार्थीसँग विकल्प छन् । विषयवस्तुसम्म आफ्नो प्रत्यक्ष पहुँच छ । आफैं धारणा बनाउन सक्छन् । त्यसैले स्ववियुले विद्यार्थीकेन्द्रित कार्यक्रम अगाडि बढाउनुपर्छ । अहिले त क्याम्पसमा विद्यार्थी नै घटेका छन् ।

विदेश जानेको लर्को छ । अमृत साइन्स क्याम्पसमा भर्ना हुन कति मुस्किल हुन्थ्यो । केवल भर्ना गर्नलाई पुल्चोकमा पनि अत्यधिक प्रतिस्पर्धा हुन्थ्यो । अहिले सरकारी क्याम्पसमा विद्यार्थी पाउन मुस्किल छ । विद्यार्थी घटिरहेको समाचार पढिरहेका छौं ।

स्ववियुले शैक्षिक वातावरण सुधार्नुपर्‍यो । अहिले त दलगत स्वार्थ बढी हावी हुँदै उल्टो शैक्षिक वातावरण बिगार्ने भूमिकामा स्ववियु देखा परिरहेको छ । हामी शिक्षकका नोट व्यवस्थित गरेर विद्यार्थीलाई बाँड्थ्यौं । राम्रा विद्यार्थीलाई कसरी आकर्षण गर्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो ।

हामी स्ववियु र राजनीतिमा लागेकाहरू जसरी पनि राम्रो पढ्नुपथ्र्यो । नत्र विद्यार्थीले नेतृत्वका रूपमा स्वीकार्दैनन् भन्ने भय र लाज दुवै हुन्थ्यो । शिक्षक र विद्यार्थी दुवैले गर्ने व्यवहार नै फरक हुन्थ्यो । त्यही भएर मैले स्ववियुमा लागेपछि पढ्न थप मिहिनेत गरें र नतिजा सुधारें ।

पछि म नेपाल इन्जिनियरिङ क्याम्पसमा स्ववियु (विद्यार्थी काउन्सिल) सभापतिमा निर्वाचित भएँ तर त्यता लागेर मेरो अध्ययन प्रभावित भएन । मैले अध्ययनमा अतिरिक्त मिहिनेत गरें ।

पढाइ बिग्रँदा मैले नेतृत्व गर्ने नैतिक धरातल गुमाउँछु भन्ने भयले पनि मैले अध्ययनमा मिहिनेत गरें । त्यहाँ मैले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सघाउन कोष खडा गरें । पछि त्यो ४–५ लाखको कोष नै बन्यो । जसबाट गरिब विद्यार्थीको फी तिर्न सघाइन्थ्यो ।

उद्देश्य एकातिर, काम अर्कोतिर

पछि पछि त मैले के देखें भने विद्यार्थी कल्याणकारी कोष बनाएर सघाउने होइन, आफ्नो जीविकोपार्जनका लागि स्रोतसाधन कब्जा गर्ने प्रतिस्पर्धा चल्यो । त्यसलाई दुरुपयोग गरेर कसरी नेताको अगाडि गएर फोटो खिचाउने भन्ने होड चल्यो ।

दासहरूमध्ये महादास कसरी बन्ने प्रतिस्पर्धा चल्यो । अनि स्ववियु पदाधिकारी विद्यार्थीतिर होइन, दलका नेतातिर फर्किए । विद्यार्थीबाट कट्न थाले । क्षमता र संगठनको प्राथमिकता त्यागेर व्यक्तिगत र दलगत स्वार्थ हावी भएको छ ।

अहिले सबैभन्दा बढी बेरुजु भएको संस्था त्रिवि हो । यसमा विद्यार्थी संगठनहरूको पनि योगदान छ । उनीहरूले पनि जिम्मा लिनुपर्छ । किनकि विद्यार्थीले यसलाई रोक्न कुनै पहल गरेनन्, उल्टो सहयोगी भए ।

हामी क्याम्पस प्रशासनसँग सार्वजनिक सुनुवाइ र लेखा परीक्षणको माग राख्थ्यौं । अहिलेका स्ववियुले त्यसो गर्न सक्छन् ? अबका स्ववियु नेतृत्वले क्याम्पस प्रशासनसँग सार्वजनिक लेखा परीक्षण गर भन्ने नैतिक धरातल गुमाउनुहुँदैन ।

स्वतन्त्र विद्यार्थी युनियनको अभ्यास विभिन्न रूपमा संसारभरिका क्याम्पसहरूमा छ । यसलाई विद्यार्थीको इन्नोभेसन, नेतृत्व र उद्यमशीलतासँग जोडेर अगाडि बढाउनुपर्छ । अन्यथा, हामी सही दिशामा जाँदैनौं । त्यही नेविसंघको सभापति शेरबहादुर देउवा यो देशको पाँच पटक प्रधानमन्त्री भए, नेविसंघको संस्थापक नेता र झण्डा बनाउने रामचन्द्र पौडेल अहिले राष्ट्रपतिमा निर्वाचित भएका छन् । आजको नेविसंघ र स्ववियु त्यस्तो नर्सरी हुनसक्छ, जहाँ भविष्यका नेता हुर्कन सकुन् ? सबैले गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ ।

विद्यार्थीसँग जोडिने हो भने स्ववियुमा विद्यार्थीको करिअर काउन्सिलिङ गर्ने एउटा युनिट स्थापना गर्नुपर्छ र त्यो कामकाजी हुनुपर्छ । स्वर्णिम वाग्ले र सुशील ज्ञवालीहरूलाई विद्यार्थीसँग अन्तरक्रिया गराउने माध्यम बन्नुपर्छ स्ववियु ।

नेविसंघको उपसभापति र सभापति बनिसकेका नेता अहिले कांग्रेस महामन्त्री छन् । स्ववियुलाई विद्यार्थीमैत्री बनाउन उनीहरूले पनि भूमिका खेल्नुपर्छ । इन्नोभेसनलाई रोक्ने काम त पक्कै नहोला ।

(पुल्चोक क्याम्पस स्ववियुका पूर्वउपसभापति तथा पालुङटार नगरपालिकाका पूर्वमेयर  कँडेलसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?