
२ चैत, बुटवल । रुपन्देहीमा त्रिविका ४ आंगिक र १३ सामुदायिक गरी १७ क्याम्पसमध्ये ७ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने भएको छ ।
६ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा तालाबन्दी गरेकाले चुनाव स्थगित भएको छ ।
बुटवलका कालिका, सैनामैनाको पर्रोहा बहुमुखी, तिलोत्तमाको पशुपति र शंकरनगरको दुर्गादत्त गरी ४ वटा नयाँ क्याम्पसमा विद्यार्थी संगठनहरु क्रियाशील नभएकाले चुनावका लागि संगठन नै दर्ता भएका छैनन् ।
बुटवलका लुम्बिनी वाणिज्य र सिद्धार्थ गौतम तथा तिलोत्तमाको राममणिमा निर्वाचन अधिकृतको कार्यालयमा ताला लागेको छ ।
तिलोत्तमाकै सरस्वती संस्कृत तथा भैरहवाको भैरहवा बहुमुखी र रुपन्देही क्याम्पसमा पनि विद्यार्थी संगठनहरुबीच विवादका कारण चुनाव अनिश्चित बनेको छ । ‘विभिन्न निहुँमा विपक्षी संगठनहरु मिलेर ताला लगाएर चुनाव नहुने अवस्था भएको छ’ अनेरास्ववियू रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले भने ।
बुटवल बहुमुखीमा धेरैको चासो
चुनाव हुने क्याम्पसहरुमा बुटवलको बुटवल बहुमुखी, देवदहको देवदह आदर्श, कन्चन गाउँपालिकाको हरैया बहुमुखी, ओमसतियाको पक्लिहवा कृषि क्याम्पस, शुद्धोधनको यज्ञोदय दुधनाथ, सैनामैनाको शहीद नारायण पोखरेल र सियारीको छपिया जनता कलेज रहेका छन् ।
चुनाव हुनेमध्ये धेरैको चासो लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै ७ हजार १ सय ११ जना मतदाता भएको बुटवल बहुमुखी क्याम्पसमा केन्द्रित छ ।
यो क्याम्पसमा १४ वर्षयता स्ववियू चुनाव हुन सकेको छैन । २०७३ मा हुने चुनाव हुने भनिए पनि अन्तिममा आएर स्थगित भएको थियो ।
२०४५ सालदेखि नै एमाले निकट अनेरास्ववियुले जित्दै आएको यो क्याम्पसमा यसपटक पनि अनेरास्ववियु आफ्नो पुरानो विरासत जोगाउने दाउमा छ । यहाँ नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, स्वतन्त्र विद्यार्थी समूह, विप्लव नेतृत्वको अखिल क्रान्तिकारी, नेकपा बहुमत निकट विद्यार्थी संगठनहरु प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं र एमाले निकट अनेरास्ववियूले तालमेल गरेर प्रतिस्पर्धामा छन् ।
यसपटक नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्वमा शेरबहादुर देउवा र शेखर कोइराला पक्षले अलग-अलग सभापति चयन गरेकाले उक्त संगठनको आन्तरिक गुटबन्दीको फाइदा अन्य संगठनले लिने विश्लेषण गरिएको छ ।
तालमेल
चुनाव हुने क्याम्पसहरुमध्ये अधिकांशमा एमाले निकट अखिल र नेपाली कांग्रेस निकट नेविसंघबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
विद्यार्थी संगठनहरु कतै गठबन्धन गरेर त कतै एकल प्रतिस्पर्धा गरेका छन् । पक्लिहवा कृषि क्याम्पसमा अनेरास्ववियू र नेविसंघले तालमेल गरेका छन् ।
शहीद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियूविरुद्ध नेविसंघ, माओवादी निकट अखिल, विप्लव निकट अखिल र नेकपा एकीकृत समाजवादी निकट अखिलले तालमेल गरेका छन् ।
देवदह आदर्शमा नेविसंघ र नेकपा एकीकृत समाजवादी निकट अखिलले तालमेल गरेका छन् भने अनेरास्ववियु र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका छन् ।
हरैया बहुमुखीमा नेविसंघ विरुद्ध एमाले अखिल, जनमत र लोसपा निकट विद्यार्थी संगठनले तालमेल गरेका छन् ।
यज्ञोदय दुधनाथमा नेविसंघले नागरिक उन्मुक्ति पार्टी निकट विद्यार्थी संगठनसंग तालमेल गरेको छ भने एमाले अखिल अखिल क्रान्तिकारी र राप्रपा निकट विद्यार्थी संगठनसँग मिलेर प्रतिस्पर्धामा छ ।
प्रतिक्रिया 4