+
+

हामी धेरैभन्दा धेरै नेपाली फिल्मलाई चीनमा स्वागत गर्न चाहन्छौं : राजदूत सोङ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:११

काठमाडौं । चीनले नेपाली फिल्मलाई स्वागत आफू तयार रहेको जनाएको छ । काठमाडौंमा सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूत छन सोङले आफ्नो मुलुकले धेरैभन्दा धेरै नेपाली फिल्मलाई आयात गर्न तयार रहेको बताए ।

राजदूत सोङले भने, ‘चीन धेरैभन्दा धेरै नेपाली फिल्म आयात गर्न चाहन्छ । मलाई लाग्छ, फिल्ममा चीन र नेपालको साझेदारीले दुई मुलुकका जनताको सम्बन्ध थप निकट र प्रगाढ बन्नेछ ।’ चिनियाँ बक्सअफिसमा यसवर्ष उच्च कमाइ गरेको ‘द वान्डरिङ अर्थ २’को उदाहरण दिँदै चीनले नेपालबाट यस्तै ब्लकबस्टर फिल्मको अपेक्षा गरेको बताए ।

‘चीन आधुनिक समाजवादी मुलुकको रुपमा अघि बढेको छ । विश्वकै विशाल र आकर्षक फिल्म बजार समेत हो । विश्वकै ठूलो बक्सअफिस पनि । वान्डरिङ अर्थजस्ता फिल्मले राम्रो कमाइ गरेका छन् । हामी नेपाली फिल्मलाई स्वागत गर्न चाहन्छौं’ उनले भने ।

फिल्म नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र मित्रताको पुल बन्नसक्ने उनले बताए । निफ नेपालको रोड फिल्म फेस्टिभलको पहिलो र एक्लो सदस्य भएको समेत राजदूतको भनाई छ । निफको प्रतिस्पर्धामा रहेका फिल्मलाई उनले शुभकामना समेत दिए । छैटौं निफमा बेइजिङ फिल्म एकेडेमेकी प्राध्यापक ली रान जुरी प्रमुख छिन् । उद्घाटन समारोहमा प्राध्यापक लीले नेपाल र चीनबीचको सम्बन्धमा फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन् ।

चैत २ गतेदेखि सुरु भएको निफ ६ गतेसम्म क्यूएफएक्स सिनेमा र पर्यटन बोर्डमा चल्नेछ । कोरिन शर्मा निर्देशित ‘चरी’ प्रिमियरसँगै सुरु भएको निफमा शुक्रबार चिनियाँ फिल्म प्राध्यापक ली रानले चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’बारे मास्टरक्लास प्रस्तुत गर्दैछिन् । फेस्टिभलमा भाग लिन ५० भन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा आइपुगेका छन् । महोत्सवमा ३५ मुुलुकका ९५ भन्दा बढी फिल्म प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?