+
+

पोखराबाट क्षेत्रीय उडान : तामझामका साथ उद्‍घाटन, दुई दिनमै बन्द

बुद्ध एयर भन्छ : यात्रु भएनन्, सरकार र निजी क्षेत्रसँग कार्यक्रमै छैनन्

अमृत सुवेदी अमृत सुवेदी
२०७९ चैत ३ गते २१:२२
पोखराका मेयर धनराज आचार्यलाई जहाजमा स्वागत गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी ।

३ चैत, पोखरा । पोखराले लामो समयदेखि देखेको सपना हो, पोखरा–भद्रपुर उडान थाल्ने र दार्जिलिङ, सिक्किमका साथै भुटान र बंगलादेशका पर्यटनकलाई त्यही बाटो भएर पोखरा ल्याउने । पोखरा–भद्रपुर उडानले २५ फागुनमा सार्थकता पायो । त्यसको भोलिपल्ट पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा पोखराका व्यवसायीहरुको टोली भद्रपुर घुमेर फर्कियो ।

तर उडान सुरु भएको सुखी मनाइसक्दा नसक्दै बन्द भएको छ । सडक यात्रामा करिब २० घन्टा लाग्ने भद्रपुरमा ७० मिनेटमै पुग्ने गरी रात्रिकालीन उडान समेत गर्ने बुद्ध एयरको घोषणा ४ पनि टिकेन । ९ हजार ६८५ भाडादर तोकेको बुद्धले यात्रु नै नपाएको भन्दै उडान बन्द गरेको हो ।

देशका प्रमुख सहरलाई हवाइ सञ्जालमार्फत पोखरासँग जोड्ने र पर्यटकीय तथा आर्थिक विकासमा ठूलो उपलब्धि हात पार्ने भन्दै थालिएका धेरैजसो उडान यसरी नै असफल भएका छन् । मुख्यमन्त्रीदेखि मेयरसम्मले जहाज चढेर तामझामले थालिएका अधिकांश उडान केही समयमै बन्द भएका छन् ।

पोखराबाट काठमाडौं, चितवन, भैरहवा, नेपालगञ्ज, मुस्ताङमा भने नियमित उडान भइरहेको छ ।

यसबाहेक पोखराबाट मनाङ, विराटनगर, सिमरा, जनकपुर र धनगढी उडान यसैगरी तामझामका साथ थालिएको थियो । तर कतिपय ठाउँमा उद्घाटनकै दिन बाहेक जहाज गएन भने कतिपय ठाउँमा केही उडानमै रोकिए । हचुवाको भरमा उडान थालनी गर्ने, तर पर्यटन भित्राउने कार्यक्रम नबनाउने गर्दा पोखराको हवाइ सञ्जाल विस्तारै मजाक बनेको व्यवसायी गणेशबहादुर थापा बताउँछन् ।

पोखरा-मनाङको हवाई यात्राका क्रममा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्दै स्थानीय ।

पोखरा–मनाङ नियमित उडान गर्ने भन्दै पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ जनाको टोली समिट एयरमा पोखरादेखि मनाङ पुगे । पक्की धावनमार्ग बनेसँगै बन्द हुम्डे विमानस्थलमा मनाङमा २७ भदौ २०७६ मा जहाज पुग्दा मनाङवासीले खुसीयाली मनाए । तर त्यसयता नियमित उडान त परेको कुरा, यात्रु बोकेर एउटा पनि जहाज मनाङ विमानस्थल पुगेको छैन ।

यस्तै २० माघ २०७६ मा बुद्ध एयरले पोखरा–विराटनगर नियमित उडान सुरु गरेको थियो । भारतीय नाका हुँदै विराटनगरबाट पोखरामा आउने पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरिएको थियो । तर पोखराले उल्टो घाटा बेहोरेको बताउँछन्, पोखरा पर्यटन परिषद्‍का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई ।

१७ भदौ २०७८ मा बुद्ध एयरले पोखरा–सिमरा उडान थाल्यो । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अगुवाइमा भएको पहिलो उडानमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित १८ जना यात्रु सिमरा पुगेर फर्किए ।

पोखरा-सिमरा यात्राका क्रममा खिचिएको सामूहिक तस्वीर ।

तर पोखरा–सिमरा उडानले निरन्तरता पाएन । फागुन २०७८ मा पोखरा–जनकपुर र पोखरा धनगढी उडान सुरु भयो । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको टोली पहिलो उडानमा गए, फर्किए । कृष्णचन्द्र नेपाली पोखरेल सरकारले पोखरा–जनकपुर उडान नियमित भएको भन्दै प्रमुख उपलब्धिका रुपमा किताबमै प्रकाशित गर्‍यो । तर बुद्ध एयरले यात्रु नै नपाएको भन्दै उडान रोक्यो ।

पोखराबाट जनकपुर जानेक्रममा गण्डकीका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।

धुमधामले उडान थाल्ने, केही दिनमा वाहवाही बटुल्ने, तर नियमित उडान भर्न न सरकारी निकायले गरेको देखियो न निजी क्षेत्रले । अध्ययनबिना धेरैजसो उडान थाल्ने बुद्ध एयर र सरकारमाथि नै प्रश्न तेर्सिएको पर्यटन व्यवसायी भट्टराईले बताए ।

‘गृहकार्य र समन्वयविना उडान थाल्ने तर लगत्तै बन्द भइहाल्ने हुँदा यसले निराशामात्र थपेको छ,’ भट्टराईले भने, ‘सरकार, व्यवसायी र हवाइ कम्पनी पनि जोडिएर उडान थाल्ने र छोड्ने गर्दा पोखराको हवाइ विस्तार नै बद्नाम हुन थाल्यो ।’ व्यवसायीले पनि प्रवर्धनात्मक कार्यक्रमहरु ल्याउन नसकेको उनले सुनाए ।

हवाइ कम्पनीले आथिर्क रुपमा सम्भाव्य भए नभएको नहेर्ने र सरकार पनि चर्चामा मात्र लाग्ने गर्दा यस्तो भएको व्यवसायी गणेबहादुर थापा बताउँछन् । ‘पोखराको पर्यटन उद्योगलाई नै नकरात्मक असर गर्ने गरी आज उडान भर्ने र १/२ दिनमै बन्द गर्ने काम भइरहेको छ’, उनले भने, ‘नयाँ क्षेत्रमा उडान गर्दै गर्दा व्यापारिक योजनाहरु केके छन् ? यात्रुको सम्भाव्यता के छ हेर्नुपर्‍यो । एउटा एयरलाइन्सले उडान बन्द गर्दै गर्दा नयाँ आउनेलाई पनि असर गर्छ ।’

पोखरा-मनाङ हवाई यात्राका क्रममा खिचिएको सामूहिक तस्वीर ।

बुद्ध एयर, पोखराका स्टेसन म्यानेजर गौतम बराल भने यात्रु नहुँदा खाली खाली जहाज उडाउन नसकिने बताउँछन् । अध्ययन नै नगरी किन उडान थालिए त भन्ने प्रश्नमा उनीसँग कुनै जवाफ छैन । बरु, यात्रु नभएकाले मार्केटिङ कम भयो कि भनेर तत्काललाई बन्द गरिएको र फेरि सुरु गर्न छलफल भइरहेको बताउँछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतम उडान नियमित बनाउन सबैले भूमिका खेल्नुपर्ने बताउँछन् । ‘एयलाइन्सले सम्भावना हेर्छ, र उडान थाल्छ । सरकारले प्रवद्र्धनका कार्यक्रम गर्र्ने हो, तर आर्थिक विश्लेषण गर्नबाट चुकेका छौं’, उनले भने, ‘जुन जुन निकाय एभिएसनमा संलग्न छौं, सबैले ध्यान दिनुपर्ने हो ।’

विनातयारी र अध्ययनविना किन उडान थालियो त भन्ने प्रश्नमा गौतमले प्रदेश, स्थानीय, केन्द्र सरकार र निजी क्षेत्र बसेर तयारी नथालिएकाले बन्द भएको बताउँछन् । उनले अघि भने, ‘प्रमोसनकै प्रोब्लम हो । आजकै मितिमा हेर्ने हो भने काँकडभित्ताबाट १२ देखि १५ वटा गाडी पोखरा आइरहेका छन् तर त्यसको ५ प्रतिशतलाई पनि ल्याउन सक्दा त एउटा जहाज चल्थ्यो ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?