+
+

नागरिकका समस्या ज्यूँकात्यूँ छन्, के के मुद्दा लिएर पो माइतीघर जाने ?

सञ्जीव उप्रेती सञ्जीव उप्रेती
२०७९ चैत ४ गते १९:४५

तीन महिनाअघि प्रचण्डजी प्रधानमन्त्री भएर आउनुभयो । उहाँले सेवाग्राहीको मर्कालाई मैले बुझ्छु भन्नुभयो । अस्पताल होस् या राहदानी लिंदा, सेवाग्राहीलाई सहज बनाउँछु भन्नुभएको थियो । तीन महिना बितिसकेको छ, नयाँ राष्ट्रपति आउनुभएको छ । सरकारमा रहेकाहरू एउटा गठबन्धनबाट अर्को गठबन्धनमा जान तयार भए ।

तर समस्या जहाँको त्यहीं छ । मैले आफैं पनि यो समस्या भोगेको छु । पासपोर्ट बनाउन जाँदा एउटा फारम भर्नुपर्ने रहेछ । जनताले जहाँबाट भए पनि कम्प्युटरमा बसेर फारम भर्न सक्नुपर्ने हो । यति कठिन छ कि, भर्न नै सकिंदैन । कुनै पनि हालतमा भर्न मिल्दैन ।

के गर्ने भनेर परराष्ट्र मन्त्रालय पुग्दा चिनेको मान्छे भेटिए । उनले मलाई चिन्दा रहेछन्, तपाईंको म समाधान गरिदिन्छु भने, समाधान पनि भयो । राष्ट्रिय परिचयपत्र लिन जाँदा त्यही समस्या छ । यातायात व्यवस्था कार्यालयमा लाइसेन्स नवीकरण गर्न जाँदा हजारौं मानिस लाइनमा बसेको देखिन्छ ।

यो नेपालको लोकतन्त्रकै समस्या हो । प्रधानमन्त्रीले भन्दिनुभयो, भयो । भन्नेले जे भनिदिए पनि हुन्छ । एक महिनामा समाधान गर्नु भने पनि भएन । भनाइका भरमा चल्ने भए त अहिले लोकतन्त्र नै लोकतन्त्र हुनेथियो । यो देशमा बारम्बार आएको लोकतन्त्र सीमित व्यक्तिका लागि मात्रै छ ।

म त पढेलेखेको, मिडियामा पनि यसो लेखिरहने गर्छु । कहीं हिंड्दा पनि चिन्ने भए । मेरो समस्या सहजै समाधान भयो । मलाई लाग्छ, काठमाडौंका धेरै मध्यमवर्गीय व्यक्तिहरूको समस्या समाधान भइरहेको छ । उहाँहरूलाई पनि यो देशमा लोकतन्त्र चलिरहेको छ भन्ने भ्रम हुन्छ । तर आम मानिसका लागि कति गाह्रो होला ?

स्थिति केही न केही सुधार भएको भन्ने देखियो । तर जिल्ला जिल्लामा कति गाह्रो भएको होला ? उनीहरूका लागि त लोकतन्त्र छैन भन्ने देखियो । चिकित्सा क्षेत्रभित्रको शब्दावलीमा लक्षण र रोगभित्र भिन्नता हुन्छ । हाच्छिउँ आयो, टाउको दुख्यो, लक्षण भयो, तर रोग अर्कै रहेछ । खोतल्दै जाँदा हृदयघात हुन लागेको हुनसक्छ ।

राहदानीमा घण्टौं लाइन लागेको छ । राष्ट्रिय परिचयपत्रका लागि त्यस्तै छ । लाइन पनि सर्दैन, काम पनि हुँदैन, यो सबै लक्षण हो । रोग अर्कै हो । हाम्रो देशमा लोकतान्त्रिक संस्कृति पनि छैन । हाम्रा संस्थाहरूले पनि काम गरिरहेका छैनन् भन्ने देखिंदैछ ।

आम सर्वसाधारण जनता, जसको प्रतिनिधित्व गरेर माओवादी युद्ध भएको थियो । नेतृत्व पनि प्रचण्ड स्वयंले गर्नुभएको हो । त्यसको आभास उहाँलाई रहेछ, त्यसैले उहाँले आउनेबित्तिकै समाधानको कुरा गर्नुभयो । चेतना त रहेछ, तर कुरैमा मात्रै सीमित भयो ।

जोसुकै प्रधानमन्त्री हुँदा पनि यस्तै खाले समस्या देखिइरहेका छन् । यो मुलुकमा आम मानिसका लागि बडो गाह्रो छ । हरेक कुरा सुनाउन माइतीघरमण्डलमै आन्दोलन गरेर आउनुपर्ने भयो । के के विषयमा आन्दोलन गर्ने ?

अस्पतालमा सेवा प्राप्त भएन भनेर आन्दोलन गर्ने कि ? मिटरब्याजीको समस्या उस्तै छ । पासपोर्ट रिन्यू गर्न उस्तै समस्या छ । राष्ट्रिय परिचयपत्र पाउन हम्मे–हम्मे छ । यी सबै कुरामा आन्दोलन गर्ने ? कि कति कुरामा आन्दोलन गर्ने ?

उहाँका हुनेखाने वर्गको अर्कै कुरा छ । कि त पैसा खुवाएर यी सेवा लिनुप¥यो । नभए उसले चिनेको मानिस कोही न कोही, कतै न कतै हुँदोरहेछ । गृह मन्त्रालयमा काका हुनसक्छ । काकाको भतिजा अर्कोतिर हुनसक्छ । भतिजाको साला परराष्ट्र मन्त्रालयमा हुनसक्छ । चिनेको साथीको साथी हुनसक्छ । उनीहरूका लागि लोकतन्त्रले काम गरिरहेको छ । सेवा पाइरहेका छन् । उनीहरूले लक्षण मात्रै देखिरहेका छन् । ‘गाह्रो हुने रहेछ, समाधान हुँदै जाला’ भन्छन् ।

रोगतिर जान नखोज्न, रोगलाई बुझ्न नखोज्ने परिपाटी भयो । मानिसको शरीर त स्वस्थ देखिन्छ । तर भित्र उसलाई रोग लागिसकेको छ । हाम्रो व्यवस्था त्यस्तै भइसक्यो कि जस्तो लागिरहेको छ । सेवाग्राही विभिन्न ठाउँमा गएर उपचार पाउँदैन, दिनहुँ कुद्दा पनि उसले सेवा पाउँदैन । यसले लक्षण ठिक छैन भन्ने देखाइरहेको हुन्छ ।

हाम्रो समाज राजनीतिक संस्कृति र हाम्रो राजनीतिक संस्थाहरू ठूलै रोगले ग्रस्त छन् जस्तो लाग्छ । यस्तै स्थिति चल्दै आएको छ । राजतन्त्रको बेलामा हामी बाँचिरहेका थियौं । त्यहाँ त्यस्तै हाईरार्की भएको समाज थियो । त्यतिबेला पनि त्यहाँ हुनेखानेहरूलाई सजिलो थियो । उनीहरू राजतन्त्र उखेलियोस् भन्ने चाहँदैनथे । किनभने उनीहरूको समस्या समाधान भइरहेको थियो ।

जनआन्दोलन भयो, व्यवस्था परिवर्तन भयो । दुनियाँभरको संविधान बन्यो । चुनाव पनि भयो । यति हुँदाहुँदै पनि सामन्तवादी संस्कृति कायमै छ । जसको हातमा पैसा छ, उसले सजिलै सेवा पाउने भयो । उसका लागि लोकतन्त्र भएको जस्तो देखिने भयो, आम मानिसका लागि लोकतन्त्र नहुने भयो । त्यही खालको संस्कृतिको नवीकरण हुँदै आएको छ । यो किन चिर्न नसकेको होला ?

राजनीतिक इच्छाशक्तिको अभाव होला । प्रचण्डले भने पनि केही भएन । अर्कोतर्फ हाम्रोमा गफाडी संस्कृति भयो । लोकतन्त्र भन्ने शब्द आफैंमा जादुमय हो । बोल्नेवित्तिकै समाधान भइहाल्छ भन्ने मानसिकता भयो ।

एउटा मानिस अस्पतालमा बसेको छ, उसलाई असाध्यै गाह्रो भएको छ । परिचयपत्रमा त्यस्तै छ । यस्तो त लोकतन्त्र भएन । उसले सेवा पाउनु पनि लोकतन्त्र हो । अस्पतालमा, राहदानी बनाउने ठाउँमा, परिचयपत्र बनाउने ठाउँमा नागरिकलाई ध्यान दिइन्छ भने त्यो लोकतन्त्र हो । उसले सेवा पाउँदैन भने त्यो अलोकतन्त्र हो । यस्तो त लोकतान्त्रिक व्यवस्था भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?