+
+

२ घण्टामै सकिन्छ राष्ट्रिय परिचयपत्रमा विवरण इन्ट्री

पछिल्लो समय राष्ट्रिय परिचयपत्रको फर्म भर्न र बायोमेट्रिक दिन समय लाग्दैन, भीड हँदा समेत बढीमा २ घण्टामा काम टुंगिन्छ । तर त्यही कार्ड पाउन वर्षदिन कुर्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १८:२०
राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको फाइल तस्वीर ।

५ चैत, काठमाडौं । ललितपुर भैसेपाटीकी सिर्जना क्षेत्री आफ्नो हजुरआमाको राष्ट्रिय परिचयपत्र बनाउन मंगलबार दिउँसो नारायणहिटी दरबार परिसरस्थित कार्यालय पुगेकी थिइन् ।

हजुरआमाको पुरानो नागरिकताको अक्षर मेटिएको भेटिएपछि राष्ट्रिय परिचयपत्र कार्यालयका कर्मचारीले प्रतिलिपी नागरिकता बनाएर आउनू भनेर फर्काइदिए । प्रतिलिपी नागरिकता बनाएपछि केहीबेरमै उनको हजुरआमाको राष्ट्रिय परिचयपत्रको नम्बर प्राप्त भयो ।

‘पहिले नागरिकतामा अक्षर मेटिएको छ भने काम भएन । अहिले परिचयपत्रको नम्बरमात्रै प्रिन्ट गरेर दिएको छ’, उनले भनिन्, ‘कार्ड बन्न एक वर्षजति लाग्छ रे । पछि यहीबाट खबर हुन्छ भनेका छन् ।’ उनका अनुसार, १० दिनअघि आउँदाभन्दा पनि भिड घटेको थियो ।

गत पुसको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाह सुधार्न निर्देशन दिएको डेढ महिना पुग्नै लागेको छ । गत मंगलबार नारायणहिटी राजदरबारको पश्चिम गेटबाहिर सेवाग्राहीको त्यति भिड थिएन । गेटबाट भित्र नछिर्दै सुरक्षाकर्मीहरुले सोधपुछ गरिरहेका थिए । उनीहरुले हातमा राष्ट्रिय परिचयपत्रको फर्म देख्नासाथ सोधपुछ गर्छन् र कागजको चिटमा नाम लेखेर त्यसलाई फर्ममा जोडेर स्टिच लगाइदिन्छन् ।

नारायणहिटी दरबार परिसरभित्र सेवाग्राहीलाई बस्नका लागि टहरोमुनि कुर्सीको व्यवस्था गरिएको छ । सुरक्षाकर्मीहरुले नम्बर बोलाउँछन् र सेवाग्राहीहरु भित्र लाग्छन् । ३ वटा छुट्टाछुट्टै कोठामा रहेका १० वटा स्टेसनमा सेवाग्राहीलाई फोटो खिचाउने, हातका १० वटै औंलाको छाप लिने र आँखाको रेटिनाको रेकर्ड लिने काम हुन्छ । सबै काम सकेर बाहिरिन सेवाग्राहीलाई कम्तीमा पनि २ घण्टाजति लाग्छ ।

नारायणहिटी परिसरमा राष्ट्रिय परिचयपत्र बनाउने १० वटा स्टेसन छन् । ‘अघिल्लो महिनासम्म भिडभाड र अस्तव्यस्त थियो होला, अहिले हामीले राष्ट्रिय परिचयपत्रको अभिलेख लिने कामलाई निकै व्यवस्थित बनाएका छौं’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेल भन्छन्, ‘अहिले विवरण दर्तामा कुनैपनि समस्या छैन । त्यही दिन नम्बर सहितको परिचयपत्र पाएपछि सबै काम चल्छ । कार्ड नै पाउन भने केही समय कुर्नुपर्छ ।’

विभागले अहिले काठमाडौंमा मात्रै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न २७ वटा स्टेसन स्थापना गरेको छ । नारायणहिटी परिसरबाहेक काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा १७ वटा स्टेसनबाट परिचयपत्र नम्बर मात्र वितरणको काम भइरहेको छ । राष्ट्रिय सभागृहबाट पनि परिचयपत्रका लागि विववरण इन्ट्री भइरहेको छ ।

विभागका निर्देशक पौडेल जतिसुकै भीडभाड भएको ठाउँमा पनि आवश्यक कागजात पूरा भएमा एक घण्टाभित्र काम सकिने दावी गर्छन् । तर परिचयपत्र नम्बर वितरण गरिएका ठाउँमा पुग्दा सेवाग्राहीहरुले दुई घण्टामा विवरण इन्ट्री गरेको बताए । एउटा सेवाग्राहीलाई फोटो खिच्न, हातका सबै औलाको औंठाछाप दिन, आँखाको रेटिनाको अभिलेख राख्न र कागजात रुजु गर्न बढीमा १५ मिनेटसम्म लाग्छ ।

काठमाडौं बाहिर ४५ वटा जिल्लाको वडा तहमा पुगेर विवरण संकलन गरिरहेको विभागले हाल १७ जिल्लामा यो अभियान चलेको जनाएको छ । तत्काल गाउँमा उपलब्ध व्यक्तिहरुले अभिलेख लिएपनि गाउँमा नरहेकाहरु भने विवरण संकलनमा छुटेका छन् । उनीहरुले देशभर जुनसुकै जिल्ला प्रशासन कार्यालयमा गएर परिचयपत्रका लागि विवरण भराउन सक्छन् ।

जिल्ला प्रशासन कार्यालयका प्राविधिक र कर्मचारीको टोलीले स्थानीय तहको वडामा पुगेर विवरण लिने र परिचयपत्र नम्बर दिने काम गरिरहेका छन् । अभिलेख संकलन गर्नकै लागि इन्टरनेट आवश्यक नभएकाले वडा कार्यालयबाट टाढाको बस्तीमा परिचयपत्रको विवरण संकलन भएको निर्देशक पौडेलले बताए ।

कार्ड पाउन वर्षदिन

राष्ट्रिय परिचयपत्रको कार्डका लागि विवरण संकलन भइरहेपनि कार्ड पाउन भने एक वर्षभन्दा बढी समय कुर्नुपर्छ । अहिलेसम्म एक करोड ११ लाख नागरिकको अभिलेख संकलन भइरहेकोमा ११ लाखको मात्रै परिचयपत्र छापिएको छ । परिचयपत्र छपाइमा भएको सुस्तताले नागरिकले समयमा राष्ट्रिय परिचयपत्र पाएका छैनन् ।

तर पछिल्लो महिना क्षमता बढाएर दोब्बरभन्दा बढी कार्ड छापिएको निर्देशक कृष्ण पौडेल बताउँछन् । उनका अनुसार पहिले दैनिक ६ हजार कार्ड छापिनेमा अहिले १५ हजारभन्दा बढी छपाइ हुन्छ । विभागले सिंहदरबारस्थित आफ्नै परिसरमा कार्ड छपाइ गर्छ । एक महिना अघिसम्म ८ लाख कार्ड छापिएकोमा पछिल्लो एक महिनामा ३ लाख थपिएको निर्देशक पौडेलले बताए । फागुन लागेपछि विभागले दुई सिफ्टमा कार्ड छाप्न थालेको छ ।

नागरिकको अभिलेख संकलनलाई प्राथमिकता दिएकाले कार्ड वितरणमा ढिलाइ भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक कृष्ण पौडेल स्वीकार्छन् । अहिलेसम्म कार्डको कुनै उपयोगिता नभएकाले नागरिकहरुले प्रश्न गरेका थिए । राहदानी लिनुअघि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएपछि तत्काल विदेश जानुपर्नेहरुले हतारमा परिचयपत्र बनाउने गरेका छन् ।

‘हामीले संकलन गरेको अभिलेख एकीकृत रुपमा राखेर अन्य सेवामा समेत त्यसलाई आवद्ध गरेपछि परिचयपत्रको उपयोगिता थाहा हुन्छ’, पौडेल भन्छन्, ‘अहिले कुनैपनि सेवामा त्यसलाई आवद्ध नगरिएकाले जनताले झञ्झट महसुस गर्नु स्वाभाविक हो ।’

१ साउन २०६७ मा सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरेको थियो । पछि असोज २०७५ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र र केन्द्रीय पञ्जीकरण विभागलाई एकीकृत गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग गठन गरेको थियो । त्यतिबेला राष्ट्रिय परिचयपत्र बनाउने कामले गति लिएको थिएन । पासपोर्ट बनाउदा परिचयपत्र नम्बरलाई अनिवार्य गरिएपछि मात्रै यसले तिब्रता पाएको हो ।

राष्ट्रिय परिचयपत्र वितरणमा ढिलाइ देखिएपछि प्रधानमन्त्री कार्यालयका सचिव सुमनराज अर्यालको संयोजकत्वमा एउटा टोलीले अध्ययन गरेको थियो । टोलीले अरु सेवालाई आवद्ध गरेर राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउनुपर्ने सुझाव दिएको थियो ।

त्यसपछि अहिले चिकित्सा शिक्षा आयोगको परीक्षा दिँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । विभागका निर्देशक पौडेल भन्छन्, ‘अब यो विवरणलाई स्वास्थ्य सेवादेखि पासपोर्ट, अध्यागमन लगायतका सबै निकायमा एकीकृत गर्ने हो भने नागरिकलाई सेवा दिन निकै सहज हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?