+
+

एलजीबीटीआईक्यु छोराछोरीलाई कसरी प्रेरणादायी अभिभावकत्व दिने ?

मनिषा थापा मनिषा थापा
२०७९ चैत ५ गते १९:००

‘छोरा र छोरी, बराबरी’ भन्ने धारणा अहिले अरु आयामिक बन्दैछ । यो लैंगिक भाषाले अब समग्र ‘सन्तान’लाई समेट्न थालेको छ । र, सन्तानको यो परिभाषाले लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआईक्यु) पनि उत्तिकै हार्दिकतापूर्वक स्वीकार्न थालेका छन् । खासगरी उन्नत समाजमा ।

यद्यपि पछौटे एवं रुढीवादी समाजले भने यसलाई अझैपनि विभेदको दृष्टिले हेर्ने गर्छन् । त्यसैले त पुरुष वा महिलाभन्दा फरक प्रवृत्तिका छोराछोरीलाई हेय र अपमान गर्छन् । यस्तो पृष्ठभूमिमा कतिपय अभिभावकलाई आफ्ना त्यस्ता बालबच्चा हुर्काउन सकस भइरहेको हुन्छ, जो लैंगिक हिसाबले अलग छन् ।

त्यसैले त यस्ता बालबच्चाले आमाबुवाको विवशतालाई बुझेर आफैंलाई लुकाउनुपर्ने, दबाउनुपर्ने बाध्यता हुन्छ । ‘म को हुँ, के चाहन्छु’ उनीहरु खुल्न सक्दैनन् । पारिवारिक जमघटमा, साथीसंगीमा, विद्यालयमा उनीहरु एक्लो हुन्छन् । यसले उनीहरुलाई मानसिक रुपमा चिन्तित र दुःखी बनाउँछ । अन्ततः उनीहरु डिप्रेसनमा जान सक्छन् ।

‘जो जस्तो छ, उसलाई त्यही रुपमा बुझ्न र स्वीकार्नुपर्छ,’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘यो कसैको रुचिले हुने होइन, प्रकृतिको रोजाइले हो । प्रकृतिलाई हामीले जहिले पनि सहज रुपमा स्वीकार्नुपर्छ ।’

कसरी परिवर्तन हुन्छन् ?

बालबच्चाहरु हुर्कंदै जाँदा उनीहरुको रुचि, स्वभाव, आनीबानी फरक हुँदै जान्छ । जन्मिंदा छोराको रुपमा आएपनि कसैमा छोरीको प्रवृत्ति हाबी हुन सक्छ । शारीरिक हिसाबले छोरीको प्रवृत्ति भने छोराको जस्तो हुन सक्छ । यसमा लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) जो–कोही हुन सक्छन् ।

पुरातन समाज एवं परिवारमा हुर्किएका बालबच्चाले आफ्नो कुरा स्पष्ट रुपमा भन्न सक्दैनन् । आमाबुवा रिसाउलान्, साथीभाइले घृणा गर्लान् भन्ने भय पलाउन थाल्छ । त्यसैले उनीहरु आफैंभित्र गुम्सिएर बस्न बाध्य हुन्छन् । यस्ता स्वभाव भएका छोराछोरीले जबसम्म विद्रोह गरेर आफ्नो पहिचान खुलाउन सक्दैनन्, तबसम्म उनीहरु सकेसम्म अरुबाट अलग भएर एकान्तमै रमाउने गर्छन् ।

यस्तो स्थितिमा के गर्ने ?

‘यस्तो स्थितिमा कतिपय अभिभावकले चिन्ता गर्छन् र आफ्नो छोराछोरीको बदलिंदो स्वभावलाई स्वीकार्न चाहँदैनन्,’ मनोविद् कुँवर भन्छिन्, ‘तर उनीहरु प्राकृतिक रुपमा जस्तो छन् त्यही अनुसार हुर्कन दिनुपर्छ । आमाबुवाले त्यसमा हस्तक्षेप गर्नै हुँदैन ।

‘अभिभावकले आफ्ना बालबच्चाको रुचि र स्वभाव बुझेर उनीहरुलाई सोही रुपमा सहज वातावरण बनाइदिनुपर्छ । सुरुमा त बालबच्चा आफैंमा द्विविधाग्रस्त हुन्छन् । उनीहरुलाई आफू को हुँ भनेर ठिम्याउन कठिन भइरहेको हुन्छ । त्यसैले बुवाआमा नै अग्रसर भएर उनीहरुको रुचिलाई पहिल्याउनुपर्छ,’ मनोविद् कुँवर भन्छिन् ।

सहानुभूति होइन साथ जरुरी

अभिभावकले उनीहरुको स्वभाव र रुचिमाथि हस्तक्षेप गर्न थालेमा थप दुःखी हुन्छन् । आफ्नो साथीसंगी, छिमेक, सहपाठी आदिले समेत साथ छाड्न थाल्छन् । यसरी उनीहरु एक्लिंदै जान्छन् ।

‘यस्तो स्थितिमा आमाबुवाले नै त्यस्ता सन्तानलाई दर्बिलो साथ दिनुपर्छ,’ मनोविद् कुँवर भन्छिन्, ‘जसले गर्दा उनीहरु निर्धक्क खुल्न र घुलमिल हुन सकोस् ।’

उनीहरुलाई साथ दिने, सहयोग गर्ने, समर्थन गर्ने, उत्साह दिने गर्नुपर्छ । उनीहरु के गर्न चाहन्छन्, के बन्न चाहन्छन् ? मनोभावना बुझेर सोहीअनुरुप आमाबुवाले रचनात्मक सहयोग गर्नुपर्छ । मनोविद् कुँवर भन्छिन्, ‘रुढीवादी दृष्टिले मात्र उनीहरुलाई अलग देखिएको हो । सृष्टिले त सबै समान हुन् । सबैलाई उत्तिकै प्रेमपूर्वक बुझ्नु र स्वीकार्नुपर्छ ।’

बालबच्चालाई भनौं ‘मनमा लागेको कुरा खुलस्त भन’

सरिता केसी, अध्यक्ष, मितिनी नेपाल

आफ्नो बालबच्चालाई सबैभन्दा बढी बुझ्ने भनेको आमाबुवा र परिवारले नै हो । यदि आफ्नो बालबच्चा अरुभन्दा अलग छन् भने उनीहरुलाई त्यही किसिमको व्यक्तित्व निर्माण गर्न सहयोग गर्नुपर्छ ।

बालबच्चाले आफूलाई खुलाउन सक्दैनन् । उनीहरुले आफ्नो स्वभाव लुकाउन सक्छन् । म आफैंले पनि म को हुँ भनेर २५ वर्षको उमेरमा मात्र भन्न सकें । त्यसैले उनीहरुमाथि आमाबुवाले आफ्नो धारणा लाद्नुअघि उनीहरु के हुन्, कस्तो रुचि राख्छन् भनी अवलोकन गर्नु जरुरी छ । बाबुआमाले हुर्काउँदा सानैबाट महिला भएपछि पुरुषसँग विवाह गर्नुपर्छ वा पुरुष भएमा महिलासँग विवाह गर्नुपर्छ भनेर सिकाउनुको साटो तिमी के बन्न चाहन्छौं, तिम्रो चाहना के छ, मनमा लागेको कुरा खुलस्त भन भनेर सिकाउनुपर्छ ।

यसले उनीहरुलाई मानसिक रुपले स्वस्थ र बलियो बनाउँछ । अनि उनीहरु जीवनमा लड्न र केही गर्न सक्षम हुन्छन् ।

विद्यालय, साथीभाइ, छिमेक, नातागोतामा पनि उनीहरुलाई सहज वातावरण बनाइदिनुपर्छ । लुक्न होइन, खुल्न प्रेरित गर्नुपर्छ । यदि उनीहरुलाई जबरजस्ती बदल्न खोजियो भने त्यसले निकै नराम्रो नतिजा दिन सक्छ । त्यसैले प्रकृतिको देनलाई स्वीकार गरेर सबैलाई समान आँखाले हेर्नुपर्छ ।

लेखकको बारेमा
मनिषा थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?