+
+

सरकारमा कांग्रेसको नेतृत्व कसले गर्ला ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ चैत ५ गते २१:०७

५ चैत, काठमाडौं । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेस आइतबारबाट औपचारिक रुपमा सत्ता पक्ष बनेको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सरकारमा जाने निर्णय गरेको हो ।

लगत्तै संसदमा सत्तापक्षीय बेञ्चमा बसेको कांग्रेसमा सरकारमा पार्टीको नेतृत्व गर्ने रस्साकस्सी सुरु भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायतको दाबी छ ।

कांग्रेस नेताहरुका अनुसार सरकारमा कांग्रेसको नेतृत्वका लागि खड्का नै प्रमुख र स्वभाविक दाबेदार हुन् ।

पार्टीको उपसभापति, लामो समयदेखि सरकारमा नगएको र १० पुसमा नेकपा एमालेतिर गएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर सम्वाद गरेर कांग्रेसतिर ल्याउन निरन्तर लागेका कारण उनी स्वभाविक दाबेदार हुन् । ‘विगतमा पटकपटक मन्त्री बन्नुभएका उहाँ (खड्का) उपप्रधानमन्त्री बन्नुभएको छैन । २०६४ पछि त मन्त्री पनि हुनुभएको छैन’, केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘यो गठबन्धन बनाउन पनि निरन्तर लाग्नुभएको नेता हो ।’

तर उपसभापति खड्काले सार्वजनिक रुपमा मुख खोलेका छैनन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा पनि उनी ‘अहिले केही बोल्दिन’ भन्दै पन्छिए । बरु १५ फागुनमा त उनले ट्वीट गर्दै आफ्नो नाम जोडेर सरकारमा जाने दाबी गरेको भनेर प्रचार नगर्न अनुरोध नै गरेका थिए ।

निकटवर्तीहरुका अनुसार सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वका लागि अरु नेताहरुसँग प्रतिस्पर्धामा राखेपछि उनले असन्तुष्टि स्वरुप यस्तो ट्वीट गरेका हुन् ।

तर उनी सरकारमा पार्टीको नेतृत्व गर्न इच्छुक छन् । ‘पूर्णबहादुरजी सरकारमा जाने सोचमा हुनुहुन्छ । सबैतिरबाट दबाव बढाइदिउन् भन्ने चाहना राखेर मेरो चाहना छैन भन्नुभएको होला’, एक नेता भन्छन्, ‘उपप्रधानसहित गृह वा अर्थ मन्त्रालय पाए जानुहुन्छ । मूख्य कुरा पार्टीबाट नेतृत्व हो ।’

पार्टीको नेतृत्व गरेर सरकारमा जान इच्छुक अर्का नेता हुन्, पूर्व उपसभापति विमलेन्द्र निधि । उनले आफ्नो आकांक्षालाई सभापति देउवालाई सुनाइसकेका छन्, तर देउवाले बचन दिएका छैनन् । निधि मधेशमा पार्टीको सिनियर नेता भएको र १४औं महाधिवेशनमा सभापतिको दोस्रो चरणको चुनावमा साथ दिएकाले उनलाई सरकारको नेतृत्व दिनुपर्ने निकतवर्तीको तर्क छ ।

तर संस्थापन समूहले उनको नेतृत्व स्वीकार गर्ने सम्भावना कम छ । साथै देउवाले पनि समानुपातिकतर्फ सांसद बन्ने ३ पुरुषमा पारेका कारण फेरि सरकारको नेतृत्व दिने सम्भावना कम रहेको एक पदाधिकारी बताउँछन् । सरकारमा पार्टीको नेतृत्व गर्ने अवस्था नभए सरकारमा सहभागी हुन निधिलाई नैतिक संकट हुनेछ । ‘अरुले सरकारको नेतृत्व गरेर जाने हो भने विमल दाइ सरकारमा जानुहुन्न’, निधि निकट एक नेता भन्छन्, ‘उपसभापति र उपप्रधानमन्त्री भइसकेको व्यक्ति अर्काको नेतृत्वमा जान मिल्दैन ।’

उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसको नेतृत्व गर्ने दौडमा रहेका अर्का नेता हुन् प्रकाशमान सिंह । उपप्रधानमन्त्री भइसकेका उनी मन्त्री मात्रै भएर सरकारमा जाने मनस्थितिमा छैनन् । उनी भन्छन्, ‘संविधान जारी गर्दा उपप्रधानमन्त्री भइसकेको हुँ । कसको नेतृत्वमा पठाउने पार्टीले डिसिजन गर्ने कुरा हो ।’

स्रोतका अनुसार देउवाले उपसभापति पूर्णबहादुर खड्काबाहेक अरुलाई रोजेमा सिंहको सम्भावना प्रवल छ । १४औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उनले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए । त्यो बेला उनीसँग सम्वाद देउवाभन्दा पनि उनकी पत्नी आरजुले गरेकी थिइन् । स्रोतका अनुसार त्यही गुन तिर्न आरजुको जोडबलमा देउवाले काठमाडौं महानगरपालिकाको मेयरमा सिंह पत्नी सिर्जनालाई टिकट दिएका थिए । तर सिर्जनाले चुनाव हारेकाले अब प्रकाशमानलाई प्रचण्ड सरकारमा पार्टीको नेतृत्व गराएर पठाउने सम्भावना रहेको एक नेताले सुनाए ।

देउवा गुटमा एक अर्कालाई स्वीकार गर्नुको साटो सिंहलाई सरकारमा पठाउँदा सबैले आफू अनुकुल मान्न सक्ने नेताहरु बताउँछन् ।

संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई पनि सरकारमा कांग्रेसको नेतृत्वको दाबेदारका रुपमा हेरिएको छ । अहिलेसम्म सत्ताको जिम्मेवारीमा नगएका कोइरालालाई निकटवर्तीहरुले सरकारको नेतृत्व गरेर जान सल्लाह दिएका थिए । सुरुमा उनले रुचि पनि देखाएका थिए । तर न आफ्नै समूहका नेताहरुसँग मुख खोलेका छन्, न सभापतिसँग भेटेर प्रष्ट मत राखेका छन् ।

उनी निकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल पनि सरकारमा जानु भन्दा संगठनलाई चलायमान बनाउने डा. शेखरको प्राथमिकता भएको बताउँछन् । चुनावी गठबन्धनले कांग्रेसमा निराशा छाएको भन्दै उनले भने, कार्यकर्ताहरुलाई पुनर्जागृत गराउन संगठनमा उहाँको आवश्यकता छ । उहाँ संगठनतिर लाग्नुहुन्छ, सरकारमा जाने प्राथमिकता होइन ।’

महामन्त्री गगन थापालाई दावेदारका रुपमा हेरिएको थियो । तर उनले सार्वजनिक रुपमै सरकारमा नजाने घोषणा गरेका छन् । आफूले प्रधानमन्त्री बन्न चाहना राखेर संसदीय दलको चुनाव लडेपनि त्यसअनुकुल परिणाम नआएको भन्दै उनले भन्ने गरेका छन्, ‘म न अहिले मन्त्री बन्न मिल्छ, न बन्दैछु ।’

चार नेताबाहेक प्रवक्ता डा. प्रकाशरण महत, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुले पनि सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहेका छन् । उपप्रधानमन्त्रीसहित अर्थमा दाबी गरेका डा. महत यसका लागि आफू सबल र सक्षम व्यक्ति भएको दाबी गर्छन् । अन्य नेताले नेतृत्व गरे मन्त्री हुने गरी जाने/नजाने भन्ने प्रश्नमा उनले भने, ‘कसले नेतृत्व गरेर जाने हेरेर हुन्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?