+
+
क्रिकेट कप्तानसँग वार्ता :

‘मोन्टी सर आएपछि सब कुरा परिवर्तन भयो’

अहिले हाम्रो पूरै परिस्थिति फेरिएको छ । क्रिजमा ब्याट्सम्यान रहुन्जेल हामीलाई जित्न सक्छौं भन्ने मात्र लागिरहन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ८:३२

६ चैत, काठमाडौं । गएको एक महिना नेपाल क्रिकेटका लागि एक अभूतपूर्व समय रह्यो । कठिन परिवेश पार गरी नेपालले अर्को चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम राखेको छ भने विश्वकप छनोटमा पुगेको छ ।

२ फागुनदेखि २ चैतको बीचमा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले खेलेका १२ मध्ये ११ खेल जित्यो । अघिल्लो साता बिहीबार शृंखलाको अन्तिम खेल यो सफलताको क्लाइमेक्स जस्तै रह्यो । यूएईमाथि डकवर्थ लेविस नियमअनुसार ९ रनको जितसँगै नेपाल लिग टूमा तेस्रो भयो ।

नेपाल टिमको पछिल्लो सफलतामा अग्रभागबाट नेतृत्व गरिरहेका रोहितकुमार पौडेल दंग छन् । कात्तिक २५ गतेयता राष्ट्रिय टिमको नेतृत्व गरिरहेका रोहितका लागि सुरुवात सहज थिएन । तर, टिमको पछिल्लो सफलताले उनले आफ्नो नेतृत्व क्षमतालाई पनि विकास गर्दै लगेका छन् ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत २५ माघ, २०७४ मा नामिवियासँगको खेलबाट सिनियर टिममा डेब्यू गरेका रोहित नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ४४ खेलमा १ शतक र ८ अर्धशतकसहित १३०२ रन बनाएका छन् ।

लिग टूमा नेपालको यात्रा, भारतीय प्रशिक्षक मोन्टी देशाईको आगमनपछि फेरिएको नेपाल टिम र पछिल्लो लगातार जितबारे राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलसँग अनलाइनखबरकर्मी कुशल तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

एक महिनाअघिसम्म नेपाल एकदिवशीय मान्यता जोगाउन सकिएला कि नसकिएला भन्ने अवस्थामा थियो । आज एकदिवशीय जोगायो मात्र होइन, १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुग्यौं । नेपाली टिममा के भयो यस्तो ?

मोन्टी (देसाई) सर आउनुभन्दा अगाडिसम्म हामी सबैलाई एकदिवसीय मान्यता कसरी बचाउने होला भन्ने थियो । सर आएपछि सबै कुरा उहाँले ह्याण्डिल गर्नुभयो । खेलाडीलाई स्वतन्त्र छाडिदिनुभयो, कुनै दबावमा राख्नुभएन । कसैले नराम्रो शट खेलेर आउट हुन्छ भने पनि गाली गर्नुभएन । बरु त्यो शट यसरी खेलेको भए अझ राम्रो हुन्थ्यो भनेर प्रेरित गरिरहनु भयो । मेरो विचारमा मोन्टी सरको जुन शैली छ, त्यसले सबैजनालाई विश्वास भरेको हो ।

अनि नामिविया र स्कटल्याण्डसँग हामीले जसरी खेल्यौं, त्यसले आत्मविश्वास आयो । हामीले पहिलो खेलमै नामिवियाविरुद्ध २८६ रनको लक्ष्य पूरा गर्यौं । कुशल दाइले शतक बनाउनुभयो । दोस्रो खेलमा स्कटल्याण्डसँग ७७ रन बनाउँदा ५ विकेट गुमिसकेको थियो । तर हामीले खेल जित्यौं । त्यसपछि हामीलाई जस्तोसुकै लक्ष्य पनि पूरा गर्न सक्छौं भन्ने विश्वास हुन थाल्यो ।

खेलाडीहरु तिनै हुन्, प्रशिक्षकका रुपमा मोन्टी देसाई आएको पनि धेरै दिन भएको छैन । साता–१० दिनमा उहाँले त्यस्तो के गर्नुभयो, एउटा ब्याट्सम्यान नचले अर्कोले हान्छ, एउटा बलरले विकेट नलिए अर्कोले लिन्छ ?

यसअघि पुबुदु सर र मनोज सर हुँदा पनि उहाँहरुले हाम्रो टिममा क्षमताको कमी नरहेको बताउनुहुन्थ्यो । हामीले जुनसुकै समयमा जस्तोसुकै नतिजा निकाल्न सक्छौं भन्ने विश्वास त्यतिबेला पनि थियो । तर त्यतिबेला नतिजा आइरहेको थिएन ।

नामिविया भ्रमणअघि दिल्लीमा अभ्यास गरेका थियौं । त्यो बेला हाम्रो बीचमा नामिवियामा कम्तिमा ३ खेल जित्नसक्छौं भनेर कुराकानी भएको थियो । तर, हामीले त्यहाँ ३ खेल हार्यौं । त्यसपछि एकदिवसीय मान्यता कसरी बचाउने भनेर चिन्ता सुरु भयो । किनकी एकदिवशीय मान्यता गुमाएको भए हामीले धेरै नै कम खेल पाउँथ्यौं, खेलाडीलाई एक्स्पोजरमा समस्या हुन्थ्यो । क्यानका लागि आर्थिक सहयोग घट्ने थियो । जसले घरेलु गतिविधिमै असर गर्नसक्थ्यो । क्रिकेटमा भविष्य देख्न थालेको नयाँ पुस्तालाई पनि यसले निराश बनाउन सक्थ्यो । मलाई पनि यस्तै डर थियो ।

मोन्टी सर आएपछि सबै कुरा परिवर्तन भयो । कुनै पनि दिनमा एकजनाले खेल जिताउन सक्छन् । हामीले खेलेको १२ खेल हेर्नुभयो भने फरक–फरक म्याच विनरहरु छन् । मोन्टी सरले हामीलाई मैदानभित्र भन्दा मैदान बाहिरको वातावरण राम्रोसँग व्यवस्थापन गर्नुभयो । सायद राम्रो नतिजाको कारण यही हो ।

मोन्टी देशाई प्रशिक्षक भएर आएपछि सुरुमा टिममा के कुराकानी भएको थियो, भन्न मिल्छ ?

मैले मोन्टी सरलाई सन् २०१७ देखि नै चिन्छु, जतिबेला म यू–१९ टिमबाट खेलिरहेको थिएँ । उहाँले बीच–बीचमा सम्पर्क गरिरहनुहुन्थ्यो । मेरो प्रदर्शनलाई राम्रो बनाउन समय–समयमा टिप्स दिइरहनुहुन्थ्यो । पछिल्लो पटक नेपालको प्रशिक्षक भएर आउनुभन्दा एक महिना अगाडिदेखि नेपाल क्रिकेटको पछिल्लो अवस्थाबारे अपटेड लिइरहनुभएको थियो । मेरो विचारमा त्यो धेरै महत्वपूर्ण थियो । उहाँले पर्याप्त गृहकार्य गरेर आउनुभएको थियो । पहिलो दिनदेखि नै योजनाअनुसार व्यवस्थित तरिकाले काम गर्न थाल्नुभयो ।

उहाँ आएको समय त अनुकूल थिएन पनि, स्कटल्याण्ड शीर्ष र नामिविया तेस्रो स्थानमा थियो । हामी अन्तिमबाट दोस्रो अर्थात् छैटौं स्थानमा थियौं । उनीहरु लगातार जितिरहेका थिए, हामी लगातार हारिरहेका थियौं । चुनौती त ठूलो थियो, होइन ?

पक्कै पनि त्यो शृंखला हाम्रा लागि महत्वपूर्ण रह्यो । हामीले शीर्ष टिमसँग खेलेर जित्नुमात्र होइन, क्लिीन स्वीप नै गर्यौं । हामीले ठूलो लक्ष्यहरु सहजै पूरा गर्यौं । त्यसले आत्मविश्वास बढाउन सहयोग गर्यो । त्यही विश्वास लिएर हामी यूएई गयौं ।

त्यसअघिसम्म यूएईविरुद्ध हाम्रो प्रदर्शन राम्रो थिएन । यो पटक पनि हामीले पहिलो खेल यूएईसँगै हार्यौं । तर मैले आफ्नो करिअरमा हारेको टिमको वातावरण त्यति राम्रो यसअघि कहिल्यै देखेको थिइनँ । त्यो खेल हारेपछि पनि हामीमा बाँकी सबै खेल जित्नसक्ने विश्वास थियो । सरले पनि त्यही भन्नुभयो, ‘अब अर्को खेलका लागि केन्द्रित हुनुपर्छ ।’ उहाँले बाँकी खेल हामीले जित्छौं भन्नुभएको थियो । टिमका सबै जनाको अनुहारमा पनि कुनै पीडा देखेको थिइनँ ।

जित्यौं पनि, तर अन्तिम खेल साँच्चै फाइनल जस्तै भयो । २ चैतमा अन्तिम खेलमा यूएईको सामना गर्नुअघि तपाईंको दिमागमा के चलिरहेको थियो ?

मोन्टी सरले सुरुदेखि नै एक समयमा एक खेल, एक समयमा एक बलको रणनीति बनाउनुभएको थियो । अन्तिम खेललाई पनि त्यसरी नै लिएका थियौं । मैले पनि शान्त रहेर आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्छ भन्ने सोचेको थिएँ । तर आफूले सोचेर मात्र नहुने रहेछ, बाहिरको वातावरणले पनि असर पार्ने रहेछ । म खाना खान वा कतै बाहिर गइरहेको छु भने सबैले भोलिको खेल जित्नुपर्छ भनिरहेका थिए । त्यसले पनि भोलिको खेल त धेरै नै महत्वपूर्ण रहेछ कि क्या हो जस्तो गरी अनावश्यक दबाव आउने रहेछ ।

तपाईंहरु मैदानमा नपुग्दै मैदान दर्शकले भरिसकेको थियो । त्यतिबेला झन् दबाव महसुस भयो होला है ?

बसमा हुँदादेखि नै आफूलाई एकत्रित गर्ने प्रयास गरिरहेको थिएँ । मैदान पुग्दा दर्शकले भरिसकेको थियो । म आफूलाई केन्द्रित गर्ने र दायाँबायाँ नहेरी अघि बढ्ने कोसिस गरेँ । मैदानमा प्रवेश गर्दा पनि जिम्मेबारीमा केन्द्रित भइरहेको थिएँ ।

दायाँबायाँ हेर्दिनँ, खेलमा मात्र केन्द्रित हुन्छु भन्न कठिन हुनेरहेछ, यति ठूलो क्राउडमा ?

एकदमै गाह्रो हुन्छ, तर खेलाडी भएपछि दिमागलाई नियन्त्रण गर्नु धेरै महत्वपूर्ण हुन्छ । मोन्टी सरले पनि बारम्बार त्यही भनिरहनुहुन्छ । सबै परिस्थितिमा कसरी शान्त रहने भन्ने कुरा ब्याटिङ गर्दा झनै महत्वपूर्ण हुन्छ । बाहिरको हल्लालाई वास्ता नगरी वान बल ब्याटलमा खेल्नुपर्छ । एउटा बलमा मात्र केन्द्रित हुन सकिएन भने जे पनि हुनसक्छ । नियन्त्रण गर्न कठिन हुन्छ, तर गर्नुपर्छ ।

त्यो दिन तपाईंले टस जित्नुभएको भए के रोज्नुहुन्थ्यो ?

हाम्रो योजना चेज गर्नेमै थियो । किनभने मौसमको अवस्था पनि थियो, कतिबेला पानी पर्छ थाहा थिएन । त्यसैले पहिला फिल्डिङ गर्ने नै थियौं ।

तर यूएईले शानदार ब्याटिङ गर्यो है ?

मोहम्मद वासिम, भृत्य अरविन्द र आसिफले धेरै राम्रो खेले । टी–टेन, आबुधावी क्रिकेट लिगजस्ता प्रतियोगिता नियमित खेल्दा उनीहरुको स्तर बढेको छ ।

यूएईले ३१० रन बनाउँछ भन्ने लागेको थियो ?

थिएन । वासिमलाई चाँडै आउट गर्न सकियो भने योगफल कम हुनसक्छ भन्ने थियो । उनले सुरुदेखि नै राम्रो खेले । अरविन्दले इनिङ्सलाई राम्रोसँग नियन्त्रण गरे । आसिफले त शानदार फिनिस गरे । तीनजना खेलाडीले धेरै राम्रो खेले ।

यूएईले अन्तिम ६ ओभरमा १०२ रन बनायो । त्यो झनै सोचेभन्दा फरक थियो । अन्तिमतिर हामीले योजनाहरु राम्ररी लागू गर्न सकेनौं । बलिङमा अझै राम्रो गर्न सकिन्थ्यो । तर आसिफले त्यो दिन जसरी खेले, त्यतिबेला जस्तोसुकै बलर भएको भए पनि कठिन हुने थियो ।

हामी पहिलोपल्ट ३०० रनभन्दा माथिको लक्ष्य पूरा गर्नुपर्ने थियो, कस्तो थियो ड्रेसिङ रुमको माहोल ?

मोन्टी सरले पनि अनफिल्डभन्दा बढी अफफिल्ड धेरै मिहिनेत गर्नु भएको छ । मुख्य कुरा भनेको टिममा अहिले मानसिक रुपमा सबैजना धेरै बलियो भएका छौं ।

इनिङ्स सकिएपछि हामी सबैजना सँगै थियौं र सबैले यो लक्ष्य पूरा गर्न सकिन्छ भनिरहेका थियौं । सबै खेलाडीमा सकारात्मक सञ्चार भइरहेको थियो, आत्मविश्वास थियो ।

विश्वास एकठाउँमा भयो । तर हामीले सुरुदेखि नै लगातार विकेट गुमाउन थाल्यौं । तपाईंले पनि लामो पारी खेल्न सक्नुभएन । एउटा समयमा दबावमा आयौं, होइन ?

म के महसुस गर्छु भने पछिल्लो १२ खेलभन्दा अगाडि यो परिस्थिति बनेको भए डगआउट पूरै निराश देखिन्थ्यो, अब सकिन्न भन्ने लाग्थ्यो । अहिले हाम्रो पूरै परिस्थिति फेरिएको छ । क्रिजमा ब्याट्सम्यान रहुन्जेल हामीलाई जित्न सक्छौं भन्ने मात्र लागिरहन्छ । आउट भएर आएपछि म पनि डगआउटमा बसें । तर मलाई पनि के विश्वास थियो भने जोन्टी (भीम सार्की) र आरिफ दाइले लक्ष्य पूरा गर्छन् । यस्तो विश्वास हामी सबैमा थियो ।

३११ रनको लक्ष्य पूरा गर्नु भनेको सजिलो जिम्मेवारी चाहिँ होइन । कुनै खेलाडीले निकै ठूलो पारी नखेले पनि हाम्रा चार खेलाडीले अर्धशतक बनाए । यस्तो प्रदर्शनले खुसी लाग्छ ।

बीचमा एक समयमा मौसमले झण्डै धोका दिइसकेको थियो है ?

त्यो समय धेरै गाह्रो थियो । यूएईले खेल ढिला गरिरहेको थियो । उनीहरु डीएल प्रणालीमा अगाडि बढिरहेका थिए । हामी चाहिँ भगवान हुनुहुन्छ, उहाँले हेर्नुहुन्छ भन्ने सोचिरहेका थियौं । भाग्यबस, हामी अगाडि भएको बेलामा प्रकाश कम हुन लाग्यो र हामीले जित्यौं ।

४२औं ओभरमा गुल्सन झाले जसरी ब्याटिङ गरे । टिमका युवा खेलाडीबाट दबावको समयमा त्यति जिम्मेवार प्रदर्शन हुँदा डगआउटको वातावरण कस्तो थियो ?

हामीले कुराकानी गरेका थियौं । वासिम पार्टटाइम बलर हो भने गुल्सन सेट भइसकेको थियो । उसले मिडियम पेसरलाई भन्दा स्पिनरलाई राम्रो ब्याटिङ गर्छ । यस्तो ओभर पाएको समयमा रन लिने र डीएलभन्दा माथिको स्कोर बनाउने योजना नै थियो । किनकी हामीले २० ओभरपछि नै डीएलमा हिसाब गर्न थालेका थियौं । जब पानी पर्न थाल्यो, यही सन्देश भित्र दिन थालेका थियौं । त्यतिको दबावपूर्ण परिस्थितिमा गुल्सनले हामीले अपेक्षा गरेभन्दा धेरै राम्रो खेल्यो । बाहिरबाट हेर्दा धेरै नै रमाइलो भइरहेको थियो । किनकी त्यो ओभरपछि हामीलाई जुनसुकै परिस्थितिमा खेल जित्छौं भन्ने भयो ।

जब अम्पायरले खेल रोके, त्यतिबेला दिमागमा के चलिरहेको थियो ?

सुरुमा त मलाई के भएको हो भन्ने नै थाहा भएन । अम्पायरले बेल झारेको हेर्न छुटाएछु । केटाहरु सबै दौडेर मैदानमा पुग्न थाले, मैले चाहिँ रोकिरहेको थिएँ त्यतिबेला । पछि बुझेँ, अम्पायरले बेल झारिसकेका रहेछन् । त्यसपछि यू–१९ खेल्दाको याद आयो । हामी यूएईसँगै डीएलमा १ रनले हार्दा विश्वकपमा छनोट हुन सकेका थिएनौं । त्यही क्षणको याद आइरहेको थियो । यसपाली चाहिँ हामी अगाडि थियौं । भगवान हुनुहुन्छ भन्ने विश्वास भयो ।

धेरै उतारचढाव भोगेपछि एक महिनामा आएको यो परिवर्तन तुलना गर्दा कस्तो अनुभव हुन्छ ?

विगतमा धेरै उतारचढाव आए । यहि कुराको विश्लेषण गर्न हामी ड्रेसिङ रुममा राति ८ बजेसम्म त्यहिँ बस्यौं । सबै कुरा गरीरहेका थियौं, सोमपाल दाइले सबै विगतका कथाहरु भनिरहनु भएको थियो । हामीले यस्तो यात्रा गर्यौं भन्दै सुनाउनु भयो, त्यो कथा एकदमै भावुक थियो । एक–दुई जना खेलाडीले त आँसु थाम्न सक्नु भएन । दाइहरुले कथा सुनाउनुहुन्छ । हामी २०–२५ रुपैयाँ दैनिक भत्ता पाउँथ्यौं, त्यो अवस्थाबाट यहाँसम्म आइपुगेको भन्नुहुन्छ । त्यो कहानी निकै प्रेरणादायी लाग्छ । शक्ति दाइ, पारस दाइ, ज्ञानेन्द्र दाइ, शरद दाइ, वसन्त दाइहरुले जति पनि योगदान गर्नु भएको छ, त्यसैको फलस्वरुप आज हामी एकदिवसीय मान्यता पाइरहेका छौं जस्तो लाग्छ मलाई ।

व्यक्तिगत रुपमा कुरा गर्दा २०१५ मा तपाईं दर्शकदिर्घामा हुनुहुन्थ्यो, आज यो सफलताको नेतृत्व गर्नुभयो । आफ्नो क्रिकेट करियरलाई कसरी हेर्नुहुन्छ ?

मैले नेपाली टिमको कप्तानी गर्छु भनेर सोचेको पनि थिइनँ । नेपाल टिमबाट खेल्ने सपना चाहिँ थियो । मलाई एकदमै भाग्यशाली महसुस हुन्छ । अहिलेको टिम एकदमै क्षमतावान छ । म कप्तानको रुपमा निकै भाग्यशाली ठान्छु ।

नेपालले धेरै पटक जितेको छ, धेरै पटक हारेको छ । तर यो पटक तपाईंको कप्तानीमा लगातार जितेको छ । च्याम्पियन टिममा हुनुपर्ने क्षमता नेपाली टिममा आयो ?

अब चाहिँ टिममा एकदमै आत्मविश्वास बढेको छ । मोन्टी सर आएलगत्तै अफ फिल्ड एक सेसन गराउनु भएको थियो । त्यहाँ उहाँले टिमका सबैलाई एक–एक गरी एउटा च्याम्पियन टिममा के हुनुपर्छ भनेर सोध्नु भएको थियो । कसैले जिम्मेवारी, कसैले सकारात्मक मनोवृत्ति, कसैले प्रेसरमा राम्रो गर्ने लगायत जवाफ दियौं । त्यसलाई उहाँले चार्टमा लेखेर राख्नुभयो र हामीले त्यही चार्ट हेरेर त्यो १२ खेल खेल्न जान्थ्यौं । सबैलाई त्यो कुरा याद हुन्थ्यो र हरेक खेललाई फाइनल जसरी खेल्न मैदानबाहिर नै जित्नुपर्छ भन्ने मानसिकता बनायौं ।

त्यसो भए प्रशिक्षकमा मोन्टी देशाई आएपछि भएको मुख्य परिवर्तन खेलाडीहरुको मानसिकता नै हो ?

एकदमै हो । किनकी कुनै पनि टिममा १०–१५ दिनमा परिवर्तन हुन्न र मोन्टी सरले पनि अनफिल्डभन्दा बढी अफफिल्ड धेरै मिहिनेत गर्नु भएको छ । मुख्य कुरा भनेको टिममा अहिले मानसिक रुपमा सबैजना धेरै बलियो भएका छौं । खेललाई सबैले बुझ्न थालेका छन्, सोही अनुसार सबैले धेरै काम गरेका छन् ।

एउटा कप्तानका रुपमा चाहिँ यहाँ सुधार गर्न पाए हुन्थ्यो भन्ने त होला नि ?

मुख्यतः डेभ ओभरमा अझै राम्रो गर्न सकिन्छ । ब्याटिङ अडर कति–कति बेला सुरुमै कोल्याप्स भइरहेको छ । त्यो कसरी हुन्छ टिकाउ बनाउने भन्ने छ । धेरै कुराहरु छ सुधार गर्नुपर्ने । किनकी अहिले नै हामी टेष्ट राष्ट्रहरु जस्तो समृद्ध भइसकेका छैनौं । धेरै कुरा सुधार्नु पर्नेछ र अवसर पनि त्यति नै छ ।

त्यसो भए अबका खेलहरु कस्ता हुनेछन् ?

जब हामीले नामिबिया र स्कटल्याण्डलाई जित्यौं, एकजना पत्रकारले मोन्टी सरलाई यो नतिजा ‘फ्लुक’ त होइन नि भनेर सोध्नुभएछ । त्यो कुराले उहाँलाई नराम्रो लाग्यो रे । हामीलाई आएर भन्नुभयो । पत्रकारले जे जस्तो भने पनि यो ‘फ्लुक’ होइन । हामी यसरी नै क्रिकेट खेल्न सक्छौं, हाम्रो ब्रान्ड यही हो भनेर देखाउनपर्छ भन्नुभयो । अस्ति १२औं खेल सकिएपछि सरले फेरि भन्नुभयो– हामीले एउटा स्तर बनाइसकेका छौं, अब हामीले त्यो स्तर जोगाउनुपर्छ । अब हामीले जति पनि खेल खेल्छौं, यही स्तरमा खेल्नुपर्छ भन्नुभयो ।

अबको चार वर्षमा नेपाली क्रिकेट कहाँ पुग्छ जस्तो लाग्छ ?

पछिल्लो खेलमा ल्याएको नतिजा कसरी कायम राख्ने भन्ने नै हुन्छ । अहिले वर्तमानमा रहेर आउने प्रतियोगिताहरु फोकस गरेर खेल्नुपर्छ । यस्तो गरेको अवस्थामा हामी सबैले चाहेको टेष्ट मान्यता पाउन पनि सहज होला । त्यसैले अहिलेको लक्ष्य भनेको जुन प्रतियोगिता आउँछ, त्यसमा जित्दै जाने नै लक्ष्य छ ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?