+
+

८ औं महिनामा बल्ल १ खर्बको निर्यात, आयात १० खर्ब नाघ्यो

अच्युत पुरी अच्युत पुरी
२०७९ चैत ८ गते १६:५२

८ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवातबाटै खस्किएको वैदेशिक व्यापार ८औं महिनामा आइपुग्दा पनि उही प्रवृत्ति देखिएको छ । वस्तु आयात र निर्यात दुवै खुम्चिएको यो वर्ष कुल वैदेशिक व्यापार, व्यापार घाटा र भन्सार राजस्वमा समेत ठूलो गिरावट आएको छ । यसरी समग्रमा वैदेशिक व्यापारका सूचक ऋणात्मक देखिएका छन् ।

भन्सार विभागका अनुसार चालु आवको ८ औं महिना (साउन–फागुन) पुरा हुँदा नेपालले साढे १० खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यस अवधिमा निर्यातको आंकडा समेत १ खर्ब नाघेको छ । यस वर्ष आयात १९.१३, निर्यात २९.०७ ले कमी आएको छ । आयातमा आएको गिरावटले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.८६ प्रतिशतले कम भएको छ । समग्र वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

फागुनमा आयात उकालो

सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिबन्ध १ पुसदेखि लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघबाट हटाइएको थियो । सरकारले आयात प्रतिबन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिबन्ध हटाएको थियो । यी प्रतिबन्धका कारण कमी आएको आयात फागुनमा भने केही विस्तार भएको देखिएको छ । मंसिर महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा पुसमा १ खर्ब २९ अर्ब रुपैयाँको मात्र भएको थियो । माघमा १ खर्ब २६ अर्ब रुपैयाँको मात्र वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । फागुनमा भने आयात बढेर १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।

विभागको तथ्यांक अनुसार नेपालले फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आव २०७८/७९ को तुलनामा भने १९.१३ प्रतिशत कम हो । सो आवमा आयात १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको भएको थियो ।

कुन महिनामा कति रुपैयाँको वस्तु आयात ?

  • मंसिर : १ खर्ब ३१ अर्ब
  • पुस : १ खर्ब २९ अब
  • पुस : १ खर्ब २९ अर्ब
  • माघ : १ खर्ब २६ अर्ब
  • फागुन : १ खर्ब ३९ अर्ब

निर्यातले बल्ल १ खर्बको आंकडा नाघ्यो

अघिल्लो आवमा निर्यातले कीर्तिमान बनाएको थियो । तर, चालु आवमा भने निर्यात खस्किएको छ । यस वर्ष फागुन मसान्तसम्म १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यो गत आवको यसै अवधिको तुलनामा २९.०७ प्रतिशत कम हो । गत आवको यसै अवधिमा निर्यात १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको भएको थियो ।

व्यापार घाटामा पनि गिरावट

वैदेशिक व्यापारमा निर्यात बढेर हुने व्यापार घाटा कम हुनु सकारात्मक मानिन्छ । तर, नेपालमा भने निर्यात उच्च दरले घटेको अवस्थामा पनि व्यापार घाटा कम भएको छ । यसो हुनुमा आयातमा संकुचन आउनु हो ।

यस वर्ष फागुनसम्म १७.८६ प्रतिशतले व्यापार घाटा कम भएको छ । यस वर्ष ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ थियो ।

वैदेशिक व्यापारको आकारमा उच्च गिरावट

भन्सार विभागका अनुसार कुल वैदेशिक वैदेशिक व्यापारको आकारमा यस वर्ष ठूलो गिरावट आएको छ । यसो हुनुमा आयात र निर्यात दुबैमा आएको संकुचन हो ।

तथ्यांक अनुसार फागुनसम्म ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा २०.१४ प्रतिशतको गिरावट हो । गत आवको फागुनसम्म १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यस वर्ष वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.०१ प्रतिशत र आयातको हिस्सा ९०.९९ प्रतिशत रहेको छ ।

पेट्रोलियम पदार्थ आयातमा विदेशियो २ खर्ब २७ अर्ब

यस वर्ष फागुनसम्म पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालले २ खर्ब २७ अर्ब रुपैयाँ विदेश पठाउनु परेको छ ।

नेपालबाट यस्तो वस्तुको निर्यात शून्य हुँदा यसमा शतप्रतिशत व्यापार घाटा हुन्छ । यस वर्ष ८६ अर्ब ९२ करोड रुपैयाँको आइरन तथा स्टीलको आयात भएको छ । यस्तो वस्तुको निर्यात ६ अर्ब २२ करोड रुपैयाँ बराबरको भएको छ । इलेक्ट्रिकल मेसिनरी तथा उपकरणको आयात ६५ अर्ब ४६ करोड रुपैयाँको भएको छ । यस अवधिमा २२ अर्ब १८ करोड रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ ।

१८५ मुलुकसँग व्यापार, भारतसँग सबैभन्दा धेरै

नेपालले यस वर्ष १५८ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भारतसँग रहेको छ । भारतबाट नेपालले ६ खर्ब ५६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । ७४ अर्ब २१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यसबाट भारतसँग मात्र नेपालको व्यापार घाटा ५ खर्ब ८२ अर्ब रुपैयाँको देखिन्छ ।

चीनबाट नेपालले १ खर्ब ४५ अर्बको वस्तु आयात गरेको छ । ५१ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । अमेरिकाबाट १२ अर्ब ६७ करोड रुपैयाँको वस्तु आयात गरेको नेपालले १२ अर्ब १३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?