+
+

पाम र सोयाबिन तेलका कारण निर्यातमा भारी गिरावट

भारतले नेपालबाट किन्नै छाड्यो पाम र सोयाबिन तेल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते २०:३५

८ चैत, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को ७औं महिना (साउन–फागुन)मा नेपालको निर्यात व्यापारमा नयाँ कीर्तिमान बनेको थियो ।

कुल १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको वस्तु निर्यात हुँदा नेपालको निर्यात व्यापार उच्च विन्दुमा पुगेको थियो । किनकि आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको मात्रै थियो ।

चालु आर्थिक वर्ष २०७९/८० मा आउँदा भने निर्यात व्यापार फेरि पुरानै अवस्थामा देखिएको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४३ अर्ब रुपैयाँ कम हो । जुन प्रतिशतमा हिसाब गर्दा करिब २९ प्रतिशत हो ।

भन्सार विभागका अनुसार यस वर्ष निर्यात खस्किनुमा पाम र सोयाबिन तेलको भूमिका छ । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म ४१ अर्ब ३३ करोडको पाम आयाल निर्यात भएकोमा यस वर्ष १५ अर्ब १८ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म ४१ अर्ब ४० करोडको निर्यात भएको सोयाबिन तेल यस वर्ष ८ अर्ब ३७ करोड रुपैयाँमा खुम्चिएको छ । व्यवसायीहरु भारतको भन्सार नीतिका कारण पाम तेल र सोयाबिन तेलको निर्यात घटेको बताउँछन् ।

पाम र सोयाबिन तेल नेपालको आफ्नो उत्पादन होइन र नेपालले उपभोग पनि धेरै गर्दैन । तर तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गर्दा नेपालको निर्यात व्यापारमा यसको हिस्सा ज्यादा देखिएको थियो । इण्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायत मुलुकबाट नेपालमा कच्चा तथा रिफाइनरीका रुपमा भित्रने पाम तेल र सोयबिन तेल नेपालमा प्रशोधन गरी भारतमा निर्यात हुने गर्छ ।

व्यवसायीहरुका अनुसार यस वर्ष नेपालबाट यस्तो तेल भारत जाने क्रम कम भएको छ । यसो हुनुमा भारतले कच्चा पाम तेलको आयातमा लाग्ने कर कटौती गर्नु हो । अहिले भारतीय व्यापारीले नेपालबाट नभई उत्पादक देशबाट सोझै आयात गर्दा उनीहरुलाई सस्तो पर्छ । यही कारण पाम तेल र सोयाबिन तेल नेपालबाट भारतमा हुने निर्यात घटेको हो ।

विराटनगरका व्यवसायी अविनाश बोहराका अनुसार भारतले २० लाख टन सन्फ्लावर तेल भन्सार छुट ल्याउन दिनु र उसको मुलुकमा आयात हुने पाम र सोयबिनमा कर घटाउने नीतिका कारण नेपाल अप्ठ्यारोमा परेको हो ।

‘भारतमा उत्पादन हुने यस्ता वस्तुको तुलनामा नेपालबाट निर्यात हुने तेलले प्रतिस्पर्धा गर्न नसक्दा निर्यात प्रभावित भयो’, बोहरा भन्छन्, ‘अब विस्तारै सुधार होला भन्ने आशामा छौं ।’ अन्तर्राष्ट्रिय मूल्यमा भएको उतारचढावका कारण नेपाली उद्योगहरु ३० प्रतिशत मूल्य अभिवृद्धि गर्न समेत नसक्ने अवस्थामा रहेको उनले बताए ।

पाम तेल र सोयाबिन तेल छाड्दा अन्य वस्तुमा निर्यात ब्यापारमा उतारचढाव देखिंदैन । अन्य वस्तुमा भने निर्यात सुधारोन्मुख छ । यस वर्ष कार्पेटको निर्यात ७ अर्ब ३८ करोडको पुगिसकेको छ । यसको निर्यात गत आर्थिक वर्षको फागुनमा ५ अर्ब ८९ करोड रुपैयाँको थियो । यस वर्ष अलैचीको निर्यात केही बढेको छ । गत आर्थिक वर्षको ७ महिनामा (साउनदेखि फागुनसम्म) ३ अर्ब २५ करोडको निर्यात भएको अलैची यस वर्ष ५ अर्ब ८६ करोड पुगिसकेको छ ।

विभागका महानिर्देशक चक्रबहादुर बुढा निर्यात व्यापारलाई बजारको माग र आपूर्तिसँग जोडेर हेर्नुपर्ने बताउँछन् । उनले बजारमा माग बढी भएको वर्ष धेरै निर्यात भएको र माग घट्दा निर्यात पनि घटेको औपचारिक जवाफ दिए । ‘वैदेशिक व्यापार ठ्याक्कै अनुमान गर्न नसकिने विषय हो’, उनले भने, ‘यस वर्ष डिमाण्ड कम हुँदा यी वस्तुको निर्यात कम हुन गयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?