
१२ चैत, काठमाडौं । तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । यही मुद्दामा मुछिएका अन्यलाई विशेष अदालतले सफाइ दिएको थियो ।
अख्तियारका प्रवक्ता भोला दाहालले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी दिए ।
पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरुलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो । पराजुलीलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो ।
अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ विगो दावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया 4