+
+

डिनर मिटिङमा गभर्नरले बैंकर्सलाई भने- निक्षेपकर्ता र ऋणीलाई विश्वासमा लिनुस्

बैंकर्ससँग राष्ट्र बैंकको साढे ४ घण्टा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते २१:१३

१३ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थामाथि घेराबन्दी बढ्दै गएपछि त्यसको सामना कसरी गर्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंकर्ससँग सोमबार करिब साढे ४ घण्टा छलफल गरेको छ ।

करिब साढे ३ बजे सुरु भएको छलफल पौने ८ बजसेसम्म चलेको थियो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको आयोजनामा होटल याक एण्ड यतिमा डिनरसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किंदै गएको र संगठित रुपमै कर्जा नतिर्ने आन्दोलन  सुरू भएको परिस्थितिमा त्यसको सामना कसरी गर्ने भनेर राष्ट्र बैंकले छलफल गरेको सहभागी एक बैंकरले बताए ।

‘राष्ट्र बैंकको छलफल तरलता, पूँजीको र कर्जा रिकभरी कस्तो छ भन्नेमा केन्द्रित थियो । राष्ट्र बैंकले अहिलेको परिस्थितिको समाना गर्नेगरी बैंकहरुलाई प्रोत्साहन र ढाडस दिन खोजेको थियो,’ ती बैंकरले भने, ‘नेपालको बैंकिङ अहिले पनि अन्य देशको तुलनामा सबल र बलियो छ । अहिलेको अवस्था सामना गर्न बैंकहरु सक्षम छन् भन्ने विश्वास बैंकहरुले निक्षेपकर्तालाई दिनुपर्छ भन्ने सन्देश राष्ट्र बैंकको थियो ।’

गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरु बलियो छन् र कुनै समस्या आए पनि निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सक्षम छन् भन्ने हिसाबले  बैंकहरु तयार रहनुपर्ने बताएका थिए ।  निष्कृय कर्जा केही बढ्ने अवस्था भएपनि बैंकहरु समस्याग्रस्त बन्ने अवस्था नरहेको भन्दै निर्धक्क भएर बैंकिङ गर्न गभर्नर अधिकारीले अनुरोध गरेका थिए ।  बैंकमाथि भएको संगठित आक्रमणको बारेमा नागरिकलाई बैंकहरुले नै  कुरा बुझाउनुपर्ने गभर्नरको सन्देश थियो ।

गभर्नर आफैंले सहजीकरण गरेको छलफलमा दुबै डेपुटी गभर्नर, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक, आर्थिक अनुन्धान विभागका कार्यकारी निर्देशकसहित चार जना विभागीय प्रमुख उपस्थित थिए ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको बैंकिङ क्षेत्र अहिले पनि स्वस्थ रहेको भन्दै बैंकहरुले नियामक निकायको निर्देशन पालन गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।  गभर्नर अधिकारीले  २१ बटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको कुरा पालैपालो सुनेका थिए ।

‘सुरुमा डेपुटी गभर्नरले केही कुरा राख्नुभयो । त्यसपछि गभर्नर आफैंले बैंकका सिइओलाई पालैपालो के कस्तो  समस्या छन्, नलुकाई भन्नुहोला भनेर एक एक बोल्न लगाउनुभयो,’ सहभागी एक बैंकरले भने,‘ बैंकिङ क्षेत्रमा केही दवाबको अवस्था आएपनि समान गर्नै नसक्ने अवस्था नरहेको सन्देश राष्ट्र बैंकको थियो । राष्ट्र बैंकले  वित्तीय क्षेत्रमा समस्या छैन भन्ने सन्देश दिन खोजेको छ ।’

बैंकरले केही समस्या र केही सुझाव सहित आफ्नो भनाइ राखेका थिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा रिकभरीमा चुनौती हुनसक्ने उल्लेख गर्दै सरकारले पूँजीगत खर्च भुक्तानी नगर्दा निर्माण क्षेत्रको कर्जामा समस्या भएको बताएका थिए ।

नगद प्रवाह कम हुँदा कर्जा रिकभरीमा जोखिम हुनसक्ने उनको भनाइ थियो । अन्तिममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्नो भनाइ राखेपछि बैंकहरुलाई गभर्नरले राष्ट्र बैंकको निर्देशन पालना गर्दै काम गर्न निर्देशन दिएका थिए ।

बैंकभन्दा माथि नियामक निकायको रुपमा राष्ट्र बैंक पनि रहेको भन्दै उनले राष्ट्र बैंकले पनि सबै परिस्थितिको अध्ययन गरिरहेको बताएका थिए ।

वित्तिय संस्थामाथिको विश्वसनियता नै प्रमुख कुरा भएको भन्दै निक्षेपकर्ता र ऋणीलाई कुनै समस्या हुन नदिने विश्वास बैंकरले दिलाउनुपर्नेमा गभर्नर अधिकारीले जोड दिएका थिए ।

कार्यक्रममा गभर्नरले कुनै नीतिगत परिवर्तनको वा राहतको संकेत गरेनन् । उनको समग्र मुड परिस्थीति बुझ्ने र बैंकहरूलाइ विश्वासमा लिने खालको मात्र देखिएको एक प्रमुख कार्यकारी अधिकृतले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?