+
+

न्याय माग्न आएका मिटरब्याज पीडितलाई खुलामञ्चको ढोका बन्द

अमृत चिमरिया अमृत चिमरिया
२०७९ चैत १३ गते २१:२३

१३ चैत, काठमाडौं । मधेश प्रदेशबाट १२ दिनसम्म पैदल हिँडेर राजधानी आइपुगेका मिटब्याज पीडितहरुको चाहना छ, काठमाडौंको खुल्लामञ्चबाट सबैले सुन्ने गरी पीडा अभिव्यक्त गर्ने । तर, सोमबार जनताको मञ्च भनेर चिनिएको खुलामञ्चमा पस्न लाग्दा उनीहरुमाथि काठमाडौं महानगरपालिका नै जाइलाग्यो ।

सिंहदरबारलाई आफ्ना दुःख बेदना सुनाएर न्याय पाउने आशामा आएका उनीहरुलाई बागदरबारले रोक्यो । वीर अस्पताल अगाडिबाट खुलामञ्च प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाको नगर प्रहरी खुलामञ्चको गेटमा चाबी लगाएर धक्कामुक्कीमा उत्रियो ।

मिटरब्याज पीडितले मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका थिए । खुलामञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाइ नभएको मिटरब्याज पीडितहरुले बताएका छन् ।

खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको ४ घण्टाभन्दा बढी सडकमै बसेर प्रदर्शन गरे । सानो गर्जो टार्न साहुसँग लिएको ऋणका कारण घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानको गुनासो छ ।

१५ वैशाख २०७८ देखि खुलामञ्च खाली छ । महानगरपालिकाले अहिले खुल्लामञ्चको फलामे बारमा रङ लगाएर मैदानमा सम्याएको छ । नगर प्रहरीसँगको सेटिङमा कहिलेकाहीँ खुलामञ्चभित्र सवारी पार्किङ हुने गरे पनि सर्वसाधारणलाई प्रवेश दिइएको छैन । ‘चौर फोहोर हुन्छ’ भनेर बन्द राखिएको खुलामञ्चमचा भूमिगत पार्किङ बनाउन अहिले नगर विकास कोषले डीपीआर तयार गर्दैछ ।

खुला रुपमा सर्वसधारणको समय विचरण गर्ने ठाउँका रुपमा रहेको खुलामञ्च २०७२ को मंसिरपछि महानगरको अतिक्रमणको शिकार बनेको थियो । पुरानो बसपार्कमा टावर बनाउन अनुमति पाएको ठेकेदार कम्पनीले चार वर्षसम्म खुलामञ्चको एक तिहाइ भाग ओगटेर बसपार्क चलायो । सटर बनाएर भाडामा लगाउने प्रयास ग¥यो ।

यो बीचमा महानगरले खुलममञ्चभित्रै वीर अस्पताल र दरबार हाइस्कुलको भवन बनाउने ठेकदार कम्पनीलाई गोदाम र क्रसर चलाउन पनि दियो । खुला  टुँडिखेल माग गर्दै ‘अुकपाइ टुँडिखेल’ आन्दोलनपछि खुलामञ्च खाली गरिएको थियो । जनताले सार्वजनिक उपयोग गर्दै आएको खुला मञ्चका गेटहरुमा त्यसपछि महानगरको ताल्चा झुन्डिएका छन् ।

महानगर स्रोतका अनुसार आगामी १५ र १६ गते देशभरका न्यायिक समितिको राष्ट्रिय सम्मेलनका लागि ६०० वटा गाडी पार्किङ गर्ने योजनासहित खुला मञ्चमा महानगरले प्रवेश नदिएको हो । उनीहरुले समयमै आन्दोलनबारे जानकारी पनि नदिएको र राष्ट्रिय सम्मेलनका लागि पाहुनाहरुको सवारी पार्किङ गर्ने ठाउँ पनि बिथोलिने भएपछि रोक्नु परेको स्रोतले बतायो ।

‘मिटरब्याज पीडितहरु आन्दोलनका लागि महिनौं खुला मञ्च कब्जा गरेर बस्ने जानकारी छ’, महानगरका एक प्रहरी अधिकारीले  भने, ‘बिप्लब माओवादीसहित विभिन्न दलले यो आन्दोलनको नेतृत्व गरेकाले मिटरब्याज पीडित घुसेपछि अरु पनि यसमा घुस्न सक्ने देखेपछि रोकिएको हो ।’

कार्यक्रमका नाममा अब खुलामञ्च खुला नराख्ने महानगरको नीति छ । यसमा महानगरलाई अतिक्रमण हुनसक्ने र हटाउन सकस हुने डर छ ।

राजाले खाली राखेको मञ्चमा जनतालाई निषेध

खुलामञ्च बन्द हुँदा काठमाडौं महानगरमा नागरिक आन्दोलन, शान्तिपूर्ण प्रदर्शन, अधिकारको आन्दोलन लगायत गर्ने स्थानको अभाव छ । खुलामञ्च २०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको थियो । अहिले पनि माइतीघर मण्डला, प्रदर्शनीमार्गजस्ता क्षेत्र साँघुरा भएकाले ठूला कार्यक्रमका लागि खुलामञ्च काठमाडौंमा निर्विकल्प छ ।

कुनै समय काठमाडौंको खुलामञ्च राजनीति गर्नेहरुका लागि ‘उर्बरभूमि’ नै थियो । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि कांग्रेसले आयोजना गरेको कार्यक्रममा बीपी कोइरालाले सम्बोधन गरेका थिए । त्यसपछि खुलामञ्चमा धेरै राजनीतिक कार्यक्रमहरु भए ।

०४६ सालको परिवर्तनपछि कांग्रेस र कम्युनिस्ट नेताहरुले पनि खुलामञ्चबाट नागरिक अधिकारका लागि आवाज उठएका थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनमा जनताको जित भएको घोषणा पनि यही खुलामञ्चबाट भएको थियो ।

बाह्रबुँदे सम्झौतापछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र मधेश आन्दोलनबाट उदाएका मधेश केन्द्रित दलहरुले पनि पटक–पटक यही खुलामञ्च रोजेका थिए । संविधान निर्माणका क्रममा सानो वा ठूलो हरेक विचार समूह वा दललाई आफ्नो आवाज सुनाउने मञ्च बनेको थियो । तर, अहिले खुलामञ्च कुनै दलका कार्यक्रमका लागि त खुला छैन नै, अब त राज्यसँग न्याय माग्ने जनताका कार्यक्रम पनि खुलामञ्चमा निषेध हुन थालेको छ ।

खुला टुँडिखेलका अभियन्ता आलोक तुलाधार  सार्वसाधारण नागरिकलाई समेत खुलममञ्चमा प्रवेश नदिएर महानगरले तानशाही प्रवृत्ति देखाएको आरोप लगाउँछन् । पञ्चायती शासनकालमा राजाले बोल्नेका लागि खुला छाडेको खुल्लामञ्चमा काठमाडौंका मेयर बालेन्द्र शाह(बालेन)ले प्रवेश समेत निषेध भन्दै रोष प्रकट गरे ।

‘लोकतन्त्रमा अरुलाई असर नपर्ने गरी सार्वजनिक ठाउँमा बसेर न्यायको लागि आवाज उठाउन पाउनुपर्छ, त्यो माथि पनि खुल्लामञ्च त्यहि प्रयोजनको लागि बनेको हो,’ उनी भन्छन् ।

तुलाधरले काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा सोमबार गरेको हर्कत असह्य भएको बताए । ‘खुल्लामञ्च अधिकार माग्ने थलो हो, जनताका अधिकार वञ्चित गर्ने कुरा सह्य नहुने भन्दै नागरिकको तर्फबाट थप आवाज उठाउने बताए,’ उनले भने ।

नागरिक अभियन्ता भास्कर गौतमले काठमाडौं महानगरले रबैया देखाएको बताउँछन् । ‘अन्यायमा परेकाहरुलाई खुल्लामञ्चमा महानगरको जुन हर्कत देखाएको छ, त्यसले थप अन्याय गरेको छ’, गौतम भन्छन् ‘यो सबै राजधानीको मेयरको दृष्टिकोणले समस्या सिर्जना भएको हो । खुल्लामञ्च काठमाडौंको मात्रै होइन, यहाँ राज्यलाई आफ्नो आवाज सुनाउने ठाउँ पनि हो । जनताले खुल्ला ठाउँमा बसेर धर्ना दिन्छु भन्न किन नपाउने ?’

राज्यले हरेक खुल्ला ठाउँलाई बन्धक बनाउन खोजिरहेको भन्दै उनले तर्साएर खुला ठाउँ बन्द गर्नु भत्सर्नायोग्य रहेको बताए । जनताको आवाजलाई निस्तेज गर्नु लोकतन्त्रका लागि घातक रहेको उनको भनाइ छ । ‘महानगरले लामो समयदेखि आफ्नो रबैया देखाइरहेको छ, आजको घटना त्यसकै निरन्तरता हो,’ गौतमले भने  ।

खुल्ला स्थानलाई जनताको पहुँचबाट टाढा राख्नु सहरी व्यवस्थापन र सामाजिक जीवनलाई घातक उनले रहेको बताए । ‘महानगरले अन्यायमा परेकाहरुलाई बल प्रयोग गर्नु गलत मानसिकताको पराकाष्ठा हो,’ उनले भने ।

काठमाडौं–८ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठ मिटरब्याज पीडितमाथि काठमाडौं महानगरपालिकाले गरेको धरपकड गलत भएको बताए ।  देशकै राजधानीमा रहेको महानगरले न्याय माग्न आएका पीडितहरुलाई सहयोग उनले बताए ।

‘स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकालाई मर्यादा क्रममा देशकै पहिलो नम्बरमा राखिन्छ, देशभरिका समस्या लिएर काठमाडौंमा आउनेहरुको पनि आवाज महानगरले सुन्नुपर्छ’, उनले भने, ‘सम्मान दिएर मानवीय व्यवहार गर्नुपर्छ, बल प्रयोग हुनु दुःखद् हो ।’ खुलामञ्च सबैको साझा सार्वजनिक स्थान भएकाले महानगरले रोक्न नमिल्ने उनको तर्क छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भने मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको, तर नमानेको बताएका छन् ।

मेयर बालेनले मिटरब्याज पीडितप्रति ऐक्यवद्धता रहेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह पनि गरेका छन् । ‘हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँ–गाउँमा सरकार पुगोस्’ बालेनले लेखेका छन् । खुल्लामञ्चमा न्यायिक समितिको सम्मेलनको पार्किङका लागि प्रवेश दिन नचाहेको विषय भने बालेनले उल्लेख गरेका छैनन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?