
१५ चैत, काठमाडौं । लिओनल मेसीको ह्याट्रिक मद्दतमा अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा बुधबार बिहान कुराकाओलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा मेसीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । उनले अर्जेन्टिनाका लागि सय गोलसमेत पूरा गरे । इरानका अली दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्ने मेसी तेस्रो खेलाडी बने ।
मेसीले २०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने राष्ट्रिय टिममा आफ्नो सय गोल पूरा गरे । उनले ३३औं र ३७औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । अर्जेन्टिनाका लागि मेसीले १७४ खेलमा १०२ गोल गरेका छन् ।
पहिलो हाफमै २३औं मिनेटमा निको गोन्जालेज र ३५औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गरेका थिए ।
दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थप्यो । एन्जल डि मरियाले ७८औं र गोन्जालो मोनिटेलले ८७औं मिनेटमा गोल गरे ।
गत डिसेम्बरमा कतारमा विश्वकप जितेपछि अर्जेन्टिनाले लगातार दुई मैत्रीपूर्ण खेल जितेको हो । यसअघि अर्जेन्टिनाले पनामालाई पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4