+
+

गण्डकीका राप्रपा मन्त्री भन्छन् : छोटो समयमै २/४ करोडको अफर आयो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १७:३३

१५ चैत, पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम तमुले मन्त्रालय सम्हालेको छोटो समयमै २/४ करोड कमाउने अफर आएको बताएका छन् ।

तमुले यो काम गरिदिनुस्, हामी तपाईंका लागि के गर्नुपर्छ गर्छौं भन्ने मानिसहरु आउने गरेको तर आफूले अस्वीकार गरेको बताए ।

मन्त्री पदमा पुगेपछि जनताका लागि इमान्दार भएर काम गर्नुपर्छ भन्ने र केही मानिसहरु मौकामा कमाउनुपर्छ है भन्ने दुई थरी मानिस भेटेको बताए । मन्त्रालयमा मानिसहरु अफर लिएर आउनेहरु आफूले भेटेको तमुको भनाइ थियो ।

‘पैसा नै ल यति भनेर नआए पनि आशय वा भाष्य चाहिँ कमाउनुपर्छ भनेर प्रलोभन आयो,’ तमुले भने, ‘इमान्दार भएर भन्छु, पैसा कमाउने सोचतिर लागेको भए, छोटो समयमै २/४ करोड कमाउने सिच्युएसन आएको थियो ।’

भ्रष्ट्राचारै गर्न नजान्नेलाई बानी परेका मानिसहरुले त्यस्तै खालमा योजनाहरु ल्याइदिने गरेको पोखराको एक टेलिभिजन अन्तर्वार्तामा तमुले बताएका छन् । यो काम गरिदिनुस्, हाम्रो तर्फबाट गर्नुपर्ने कुरा गर्छौं भनेर भन्ने मानिसहरु मन्त्रालय आउने तमुले अनुभव सुनाए । तर, आफू त्यो समूहबाट टाढै रहेको तमुले सुनाए ।

‘कुनै कामको विषयमा कसैको घरमा एक कप नि चिया खाएको भए, म त्यो घरमा नोकर बस्न तयार छु,’ तमुले भने ।

२ सदस्य रहेको राप्रपाबाट गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारमा तमु मन्त्री छन् । माओवादीले चैत ९ गते समर्थन फिर्ता लिएपछि अधिकारीले १ महिनाभित्र विश्वासको मत लिँदैछन् । तर, केन्द्रमा सत्ता परिवर्तन भएसँगै केन्द्रमा समर्थन फिर्ता लिए पनि प्रदेशमा सरकार नछोड्न केन्द्रीय नेतालाई आफूले कन्भिन्स गराएको तमुले बताए ।

मन्त्रालयमा आफूले केही काम सुरु गरेको र केही दिनभित्रै पूरा गर्न सकियो भनेर आफू लागेको तमुले बताए । तमुले तत्काल राजीनामा दिनुभन्दा पनि अझै काम गर्न चाहेको बताए ।

८० प्रतिशतभन्दा बढी बजेट केन्द्रकै भरमा बस्नुपर्ने बाध्यता प्रदेशलाई रहेको तमुले बताए । संघीयता खारेजीको पक्षमा रहे पनि आफ्नो पार्टीले प्रदेशबाट जनताको पक्षमा काम गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?