+
+

सबै जिम्मा सरकारले लिन सक्दैन, आर्थिक सुरक्षणको लागि बीमा गर्नैपर्छ : सिलवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १५:५०

२२ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताएका छन् । ‘सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छ’ अध्यक्ष सिलवाले भने ।

नेपाल बीमा प्राधिकरणले वीरगञ्ज महानगरपालिकामा आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्राधिकरण दृढताका साथ अगाडि बढिरहेको बताए । ‘बीमा कम्पनीको पूँजी वृद्धिको निर्णयबाट बीमा कम्पनीहरू सबल भएका छन् । बीमा गरेपछि दाबी दिनैपर्छ । बीमा दाबी भुक्तानीको अवस्था हेरेर अब बीमा कम्पनीको मूल्यांकन हुन्छ’ उनले भने ।

उनले मधेश प्रदेशमा अझै पनि बीमाको पहुँच न्यून रहेको बताए । ‘करोडौंका सडक, पुल, भवन बनेका छन्, तर तिनको बीमा भएको छैन । अब तिनको समेत बीमा गरेर जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्‍यो’ उनले भने । बीमाको पहुँच बढाउन स्थानीय सरकार अग्रसर हुनुपर्ने उनले बताए ।

‘बीमा कम्पनीहरूले सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुपर्छ । बीमा दाबीका लागि सिफारिश गर्दा वडा कार्यालयहरूले पनि बीमा दाबी गर्ने व्यक्तिका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिश गर्नुपर्‍यो,’ उनले भने, ‘स्थानीय सरकारले विपन्न वर्गको बीमा गरिदिनुपर्छ । सबै नागरिकको दुर्घटना बीमा गर्ने हो भने यसबाट जनप्रतिनिधिहरूको लोकप्रियता अझ बढ्छ ।’

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरूले बीमा गर्ने तर दाबी दिने बेलामा विभिन्न बहाना बनाएर हैरान पार्ने गरेका गुनासाहरू आउने गरेको बताए । उनले दाबी भुक्तानी स्थानीयस्तरबाट छिटोछरितो रूपमा हुने ठोस नीतिगत व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे । प्रमुख सिंहले स्वास्थ्य बीमामा धेरै समस्या देखिएकाले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरण मातहत राखेर प्रभावकारी बनाउन र वैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानीयस्तरबाट नै बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे।

उनले महानगरपालिकाबाट सञ्चालित विकास निर्माणका आयोजना र कृषिलाई बीमाको दायरामा ल्याउन आगामी बजेट मार्फत अघि बढ्ने प्रतिवद्धता गरे ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन र बीमा गर्नका लागि गाउँ गाउँमा जान बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?