
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९१८ मा मार्सेल डुशाम्पले ‘तुम म’ नामक चित्र बनाएर परम्परागत कलालाई चुनौती दिए।
- उनीले ‘रेडिमेड’ रचनाका माध्यमबाट सामान्य वस्तुहरूलाई कला बनाएर नयाँ धारणा स्थापना गरे।
- डुशाम्पको विचारले रङ र कल्पनालाई यथार्थभन्दा माथि राख्ने सन्देश प्रवाह गर्यो।
सन् १९१८ मा मार्सेल डुशाम्पले करिब चार वर्षको अन्तरपछि ब्रश उठाए । त्यसपछि उनले एउटा त्यस्तो चित्र बनाए, जसले कलाकारहरूले रङ बुझ्ने र प्रयोग गर्ने तरिकालाई नै बदलिदियो । सो चित्र बनाएपछि फेरि उनले ब्रश थन्क्याए । र, बाँकी जीवनभर कुनै पनि चित्र बनाएनन् ।
डुशाम्प एक प्रसिद्ध फ्रेन्च कलाकार हुन् । उनलाई २०औँ शताब्दीको आधुनिक कलामा क्रान्ति ल्याउने कलाकारहरूमध्ये एक मानिन्छ ।उनी चित्रकलासँगै मूर्तिकलामा पनि निकै चर्चित थिए । उनले ‘रेडिमेड’ नामक कलाको नयाँ धारा सुरुवात गरेका थिए । यसमा साइकलको पाङ्ग्रा, युरिनल (शौचालयको भाग), स्ट्यान्ड जस्ता दैनिक प्रयोगका सामानहरूलाई नै कला मानेर प्रदर्शन गरिन्छ ।
डुशाम्प परम्परागत कलालाई चुनौती दिने कलाकार थिए । उनले तत्कालीन समयमा ‘कला भनेको सुन्दर मात्र हुनुपर्छ’ भन्ने सशक्त धारणा तोडेका थिए । उनैले बनाएको उक्त चित्र निकै असामान्य आकारमा थियो । त्यसको नाप तीन मिटरभन्दा लामो तर उचाइ चाहिँ झण्डै आधा मिटर जति थियो ।
उनले अमेरिकाकी कलाप्रेमी क्याथरिन ड्रेयरको पुस्तकालयको किताबको शेल्फमाथि झुन्ड्याउन सो चित्र बनाएका थिए । अनि त्यस चित्रको नाम तूँ म (Tu m) दिएका थिए।
यस फ्रेन्च शब्दको नाम ‘तिमीले मलाई दिक्क बनायौ’ भन्ने हुन्छ ।
उक्त चित्र हेर्दा सुरुमा चित्रजस्तो नलाग्न सक्छ । चित्रको सतहमा टोपी राख्ने स्ट्यान्ड, स्क्रू, साइकलको पाङ्ग्राजस्ता केही सामानहरूको छायाँ देखिन्छ । यी सामानहरू डुशाम्पले पहिले नै बनाएका ‘रेडिमेड’ मूर्तिहरूको झिल्को थियो ।
तर ती छायाँहरूकै बीचमा उनले पिन, बोल्ट, बोतल सफा गर्ने ब्रश जस्ता सामान्य घरेलु वस्तुहरू पनि चित्रमा राखेका छन् ।
यल विश्वविद्यालयका अनुसार डुशाम्पले यस चित्रमा छायाँ, प्रतिलिपि वा वास्तविक वस्तुमार्फत एउटा कलाले यथार्थ देखाउन सक्छ भन्ने कुरा देखाएका छन् । त्यसैगरी चित्रको माथिबाट केही रङिन टायलहरू क्रमश: माथिल्लो किनारातिर झर्दै गइरहेका छन् । जस्तो, कुनै रङ्गीन पुच्छ्रे तारा झरेको होस् ।
झट्ट हेर्दा ती टायलहरू पेन्ट किन्ने बेला देखाउने कलर स्याम्पल जस्तै देखिन्छ । तर सन् १९१८ मा यस्तो कलर स्याम्पल निकै नौलो कुरा थियो ।
कल्पनामा भएको रङ
एक हिसाबले हेर्दा डुशाम्पको चित्रमा देखिएका ती रङ्गीन टायलहरू कुनै कार्ड खेलजस्ता लाग्छन् । ती टायलहरू कुनै यथार्थ वस्तु होइनन्, यससँगै तिनका रङ कुनै सामानमा प्रयोग गरिएका रङ होइनन् । यी त सोचिएको, कल्पना गरिएको रङका टुक्रा हुन् । जुन देखिन्छन्, तर कुनै वस्तुमा प्रयोग गरिएका छैनन् ।
तर चित्रमा टोपी राख्ने स्ट्यान्ड, साइकलको पाङ्ग्रा र स्क्रूको छायाँ अझ वास्तविक देखिन्छ । यसरी डुशाम्पले कल्पनाले रङले यथार्थलाई जितिरहेको देखाएका छन् ।
डुशाम्पको अन्तिम चित्रपछि धेरै आधुनिक तथा समकालीन कलाकारहरूले त्यही शैलीमा चित्र बनाउँदै गए । त्यसले डुशाम्पले सुरु गरेको सोचलाई अगाडि बढायो । रङ केवल भौतिक वस्तुमा देखिने कुरा होइन, यो त विचारमै पनि हुन सक्छ। खासमा यो डुशाम्पले दिन खोजेको सन्देश हो ।
तर सो समयमा रङलाई लिएर दुई फरक सोचहरूबीच प्रतिस्पर्धा सुरु भयो । एक पक्षले रङलाई कलाकारको आत्मा र सीपले बनाइने परम्परागत माध्यम माने भने अर्को पक्षले कारखानामा बनाइने, भावना नभएको कृत्रिम वस्तु ठाने ।
रङमा देखिएको यो फरक सोच सन् १९६३ मा अझ प्रस्ट देखियो । त्यससमयमा रङ सम्बन्धीका दुई फरक पुस्तकहरू प्रकाशित भए ।
एउटा थियो, जोसेफ एल्बर्सको ‘इन्टरसेक्सन अफ कलर’ । यस पुस्तकमा विभिन्न रङहरू कसरी एक-अर्कासँग मिल्छन् भन्ने विमर्श गरिएको छ । यो विचार/तरिका अझैं पनि ललितकलामा पढाइने गरिन्छ ।
र अर्को थियो, प्यान्टोनको रङको विशाल सूची । यसले रङको उत्पादन औद्योगिक रूपमा सक्षम रहेको देखायो ।
यद्यपि डुशाम्पको सो विचार इतिहासमा पनि जोड्न सकिन्छ । किनकि १७ औँ शताब्दीको एक पुरानो हाते किताबमा जलरङहरूको सङ्कलन गरिएको थियो । ए बोगर्ट नामक लेखकले तयार पारेको सो किताब लामो समय गुमनाम थियो । जसले गर्दा लेखकबारे धेरै जानकारी पनि उपलब्ध छैन ।
तर सन् २०१४ मा एक डच शोधकर्ताले फ्रान्सको कुनै पुस्तकालयमा फेला पारेर आफ्नो ब्लगमा पोस्ट गरेपछि मात्र उक्त किताब चर्चामा आएको थियो ।
यसरी डुशाम्पको चित्र हेर्दा र बोगर्टको उक्त किताब पल्टाउँदा यी दुईले एकअर्कासँग शताब्दीपार संवाद गरिरहेको लाग्ने कतिपयले बताउने गर्छन् । जसमा दुवैले आफ्नो कृतिमार्फत रङ हाम्रो जीवनको सबैभन्दा रहस्यमय र गहिरो अनुभव भएको बताएका छन् ।
प्रतिक्रिया 4