+
+

कहिले हट्लान् उपत्यकाका असुरक्षित पेट्रोल पम्प ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत २४ गते १८:५०

२४ चैत, काठमाडौं । गत १० फागुनमा काठमाडौं महानगरपालिका प्रशासन विभागको एक पत्र नेपाल आयल निगममा पुग्यो । पत्रमा महानगरले बालाजुमा रहेको एउटा पम्पबारे तीन वटा जिज्ञासा राखेको थियो । निगमका अधिकारीहरुकाअनुसार पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा के हो ? भनेर गम्भीर चासो राखिएको थियो ।महानगरको जिज्ञासा झण्डै ५ वर्षदेखि घरको सटर कोठाबाट सञ्चालित पम्पलाई लिएर थियो ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि महानगरले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

घरको सटरमा फयुलिङ स्टेशन, सडकमा ट्यांकी र सडकमै लाइन लागेर इन्धन भर्नुपर्ने अवस्था र असुरक्षाबारे महानगरले प्रश्न उठाएसंगै आयल निगमले काठमाडौंको मापदण्ड विपरितका डेढ दर्जन पेट्रोल पम्प विस्थापन मुद्दामा चासो दिएको छ ।

यो विषयमा महानगर निगमलाई घचघच्याउन उभिएको छ । मापदण्ड बाहिरका पम्पहरुको अवस्थाबारे महानगरले सोधेको प्रश्नमा निगमको जवाफ छ– पर्यप्त मात्रामा सुरक्षाका उपाय अवलम्बन नगरेमन पम्पहरु असुरक्षित छन् ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै नि यथास्थानमै सञ्चालनमा छन् । त्यसमध्ये कोतःधुकु एक हो ।

त्योबेला कालीमाटीको कनक, बालाजुको कोत धुःकु, कलंकीको न्यू बाबा, श्यामा र त्रिशूल, थापाथलीको जयन्ती र मायाराम भोलाराम, कोटेश्वरको भ्याली रिकेश र कामाख्या, बौद्धको जुबी र बराल तथा महाराजगञ्जको सीता पेट्रोल पम्प तुरुन्त हटाउनु पर्ने भनिएको थियो ।

त्यस्तै, जाउलाखेलको साझा, एचपी र गायत्री, चापागाउँको बज्रबाराही, बालकुमारीको बालकुमारी पेट्रोल पम्प तथा टिका भैरवको टिका भैरव डिजेल स्टोर हटाइहाल्नु पर्ने सूचीमा थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निर्देशन भएको ४ वर्ष बित्नै लाग्दा जम्मा २ वटा पम्प ती स्थानबाट सरेका छन् ।

आयल निगमका अनुसार सुनधारास्थित नेपाली सेनाको मुख्यालय प्रवेशद्वार नजिकको पम्प साँखुको बज्रयोगिनीमा सरेको छ भने कलंकीको न्यू बाबा आयल स्टोर थानकोटको वाँणभञ्याङ पुगेको छ ।

पुरानो विनियमावली अनुसार धेरै वर्ष पहिले स्थापना भएका पम्पहरु शहरीकरण बढ्दै जाँदा हटाउनु पर्ने अवस्था आएको निगमको भनाइ छ । २०७५ मा संशोधित विनियमावलीअनुसार उपत्यकाका ती पप्महरु मापदण्डभन्दा बाहिर रहेका निगमका निर्देशक विनितमणि उपाध्याय बताउँछन् ।

‘कुनै बेला मापदण्डभित्रै रहेर खुलेका यी पम्पहरु अहिलेको मापदण्डमा पर्दैनन्,’ उनी भन्छन्, ‘तिनीहरुलाई स्थानान्तर अनुमति दिएर पनि हटाउन नसकेकाले महानगरले राखेको चासोमा निगम सचेत छ र ति पम्प हटाउने निर्णयमासाथ दिने धारणा बनाएको छ ।’

निगमका अर्का एक अधिकारी ती पम्प राजनीतिक संरक्षणमा चलिरहेको बताउँछन् । ‘निगमले माया गरेर राखेको होइन, तिनलाई नहटाउन जहिल्यै निगममा दबाब आउँछ,’ उनी भन्छन्, ‘महानगरमा स्वतन्त्र मेयर भएको बेला लिने निर्णयमा निगमले सघाउँछ नै ।’

पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार नगरपालिकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा २ रोपनी ६ आना (७ सय ५० वर्ग मिटर) जग्गा चाहिन्छ । त्यस्तै, दुई पेट्रोलपम्प बीचको दूरी ३०० मिटरभन्दा बढी हुनुपर्छ । सडक र पम्पबीचको दूरी२० मिटर हुनुपर्ने व्यवस्था छ ।

विनियमावलीअनुसार उपत्यकामा सञ्चालित पम्पहरुले १ दशमलव २० मिटर अग्लो पर्खाल लगाएर त्यसमाथि ०.९० अग्लो चेनलिंक फेन्सिङ गर्नुपर्छ । बिक्री स्थलका सबै उपकरणमा अर्थिङ गर्नुपर्छ ।पेट्रोल स्टोरेज र आगलागी नियन्त्रण लागि राख्नुपर्ने पूर्वाधार, सुरक्षा पर्खाल लगायत मापदण्ड पुरा गर्नुपर्छ ।अहिले यो मापदण्डभित्र कुनै पम्प छैनन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीआयल निगमले समन्वय नगर्दा मापदण्ड विपरितका पेट्रोल पम्पहरु नहटेको बताउँछन् । ‘निगमले कुन–कुन मापदण्ड बाहिरको हो, कुन ठाउँमा स्थानीय तहले सहयोग गर्नुपर्छ, हामीलाई भनिदिनु पर्‍यो’, उनले भने, ‘उहाँहरुले समन्वय नगर्दा नै यो काम थाती रहेको हो ।’

मापदण्ड विपरीतका जोखिमपूर्ण पेट्रोलपम्पहरु हटाउन महानगरले सबै सहयोग गर्ने अधिकारीले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?