+
+

महानगरले डोजर चलाउन खोज्दा गैरीगाउँ सुकुम्वासी बस्तीमा दिनभर तनाव

अमृत चिमरिया अमृत चिमरिया
२०७९ चैत २४ गते २१:०८

२४ चैत, काठमाडौं । शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाको गैरीगाउँ क्षेत्र तनावग्रस्त बन्यो । काठमाडौं महानगरपालिकाले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर आउँदै गरेको थाहा पाएका स्थानीय बासिन्दा सडकमा टायर र काँडेतार राखेर बसे । तीनकुनेबाट गैरीगाउँतर्फको बागमती करिडोरमा टायर र काँडेतार राखेका सुकुम्वासी बस्तीका बासिन्दाले पछि टायर बालेर प्रदर्शन गरे ।

महानगरपालिकाको डोजर पुग्नुअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बस्ती छेउछाउमा देखेपछि सशंकित बनेका बस्तीका बासिन्दाले प्रहरी उपस्थिति बढ्दै गएपछि टायर बालेर प्रदर्शन गरेका हुन् । ‘सुकुम्वासीलाई मार्न पाइँदैन’, ‘बालेन हाम्रो भोट फिर्ता ले’, ‘मेयर राजीनामा दे’ जस्ता नारा लगाएका सुकुम्वासी बस्तीका अगुवालाई प्रहरीले सम्झाएपछि नारा लगाउन छाडेका थिए । तर साँझसम्म उनीहरूले सडक छाडेनन् ।

महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित मीनभवनस्थित यातायात कार्यालय परिसरमा तयारी अवस्थामा बसेको थियो । उनीहरू बस्तीमा डोजर चलाउने उपयुक्त मौकाको पर्खाइमा थिए ।

सुकुम्वासीका बस्तीका बासिन्दा महानगरपालिकाको टोली डोजर लिएर आए प्रतिकार गर्ने तयारीमा थिए । ‘२९ वर्ष भएछ हामी यहाँ बसेको, बाउआमाको किरिया पनि यहीं गरेको हो । अब यत्रो समय बसेको मान्छेलाई अहिले गइहाल् भनेर कसरी जानु’ २०५० सालमा सिन्धुलीबाट गैरीगाउँमा आएर बसेका रेशमसिं तामाङ भन्छन् । उनले सुरुमै बस्न नदिएको भए अर्कै व्यवस्था हुने भन्दै अहिले लखेट्न नमिल्ने बताए ।

‘मेरो छोरो जन्मेको २२ वर्ष भयो, मैले यहीं आएर पाएको हुँ । हाम्रो बुढाबुढीले अहिले चटपटे, कहिले बाटोमा सामानहरू बेच्दै छोरालाई हुर्काएर सानो घर बनाएका छौं, अब यो पनि भत्काउँछु भन्छ अनि हामी मरे सरह भएन ?’ काभ्रेबाट आएर बसेकी आशा घिमिरेले सुनाइन् । घिमिरेले अगाडि भनिन्, ‘बरु मारिदिए हुन्छ नि, अब कसरी यो ठाउँ छोड्ने न टेक्ने ठाउँ छ, न समाउने छ ।’

बस्तीको आन्दोलनको अगुवामध्येका एक शिव शर्मा विकले आक्रोशित हुँदै सुनाए, ‘त्यो बालेनलाई हामीले राम्रो काम गरोस् भनेर पो भोट दिएको, त्यसले हाम्रो घर भत्काए त्यसको बाँकी रहन्छ ?’

सुकुम्वासी बस्तीका बासिन्दाले महानगरले दुःख दिन नछोडे फेरि काठमाडौंमा ठूलो आन्दोलन हुने बताए । ‘कहिले थापाथलीमा, कहिले यहाँ, बालेनलाई हामीदेखि मात्रै रिस उठ्दो रहेछ, धेरै जिस्क्याए काठमाडौंमा आगो बल्छ, हेर्दै जानुस्’, एक स्थानीयले आक्रोश पोखे । उनीहरूले प्रहरी अगाडि बढे थापाथलीबाट समेत सुकुम्वासी बस्तीका बासिन्दा बोलाउने तयारी गरेको सुनाए ।

महानगरले लगेन डोजर

काठमाडौं महानगरपालिकाका मेयर बालेनले कुनै पनि हालतमा बस्ती हटाउन नगर प्रहरीलाई निर्देशन दिए पनि नगर प्रहरी गैरीगाउँमा गएन । महानगरका एक प्रहरी अधिकारीका अनुसार डोजर सहित महानगर प्रहरी बल तयार भए पनि गैरीगाउँ गएन ।

‘यातायात कार्यालय मीनभवनमा हामी डोजर सहित तयारी अवस्थामा थियौं तर सुरक्षा निकायसँग समन्वय नहुँदा अगाडि बढ्न सकेनौं’ ती अधिकारीले भने, ‘आन्दोलन गर्नेहरू घरेलु हतियारसहित थिए हामी विना समन्वय अगाडि बढ्ने कुरा हुँदैन । त्यसकारण अगाडि बढ्न सकेनौं ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले गैरीगाउँको सुकुम्वासी बस्तीमा डोजर चलाउने विषयमा महानगरले समन्वय नगरेको बताए । उनले त्यस क्षेत्रमा भीड बढेपछि सुरक्षाका लागि मात्र प्रहरी पुगेको बताए ।

‘२ बजेतिर भिड हुन थालेपछि हाम्रो प्रहरी गएको हो । डोजर कसले चलाउने, विषय के हो भन्ने हामीलाई महानगरपालिका, (गृह) मन्त्रालय कतैबाट पनि जानकारी छैन’ कार्कीले अनलाइनखबरसँग भने ।

बस्तीमा गर्भवती, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा, सम्भावित घटना रोक्ने रणनीति तय नगरी प्रहरीले डोजर चलाउन सहयोग नगर्ने उनको भनाइ छ । ‘प्रहरीसँग समन्वय गर्न (गृह) मन्त्रालय छ, मन्त्रालयले केही भनेको छैन, यत्तिकै प्रहरी कसरी एक्सनमा जान्छ र ?’ एसएसपी कार्कीले भने ।

मेयर बालेन्द्र साह (बालेन) का सचिवालय सदस्यहरू प्रहरीको सुरक्षामा सुकुम्वासी बस्तीको आन्दोलनको रिपोर्टिङ गरिरहेका थिए । सुरुमा मेयर बालेनको सचिवालय सदस्य कुमार बेन आए भने त्यसपछि सचिवालयका अन्य सदस्यहरू ।

उनीहरूले घटनाबारे नगर प्रहरी र मेयरलाई जानकारी गराइरहेका थिए । शुक्रबार साँझ महानगरका प्रवक्ता नवीन मानन्धर पनि सुकुम्वासी बस्ती नजिकै आएका थिए । उनले सुकुम्वासी बस्तीमा पूर्व सूचनाको कारण ठूलो भीड भएको बताए । ‘भीड जम्मा भयो कुनै मानवीय क्षति भएन, ठूलो भीडका कारण अगाडि बढ्ने कुरा पनि भएन’, मानन्धरले भने ।

अन्तरिम आदेशको बेवास्ता

काठमाडौं महानगरपालिकाले चैत ११ गते शनिबार एक सूचना निकालेर नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन आग्रह गरेको थियो ।

नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन सूचनामा आग्रह गरिएको थियो ।

तर उच्च अदालत पाटनले नदी किनारका अनधिकृत संरचना हटाउने काठमाडौं महानगरको सूचना कार्यान्वयन नगर्न १७ चैतमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश धीरबहादुर चन्दको इजलासले काठमाडौं महानगरको सूचना तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिंदै २६ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

तर २६ चैतसम्म नपर्खी मेयर बालेन डोजर चलाउन लागिरहेका छन् । तर काठमाडौं महानरपालिकाका प्रवक्ता नवीन मानन्धरले अन्तरिम आदेश गैरीगाउँका सुकुम्वासी बस्तीको लागि नभई थापाथलीका लागि भएको बताए ।

बालेन समर्थकको प्रदर्शन

गैरीगाउँको सडक बन्द गरेपछि दुई वटा एम्बुलेन्स बागमती करिडोरमा ल्याइएको थियो । त्यो एम्बुलेन्स छेउमा ‘टुगेदर वि क्यान’ लेखेको टिसर्ट लगाएका केही युवा देखिए । उनीहरूले पहिले आफूलाई उद्धारकर्ता भएको बताएका थिए ।

सुकुम्वासी बस्तीका बासिन्दाको ठूलो भीड जम्मा भएर महानगरपालिकाको डोजर नआउने निश्चित भएपछि ती व्यक्तिहरू टिसर्ट फुकालेर सुकुम्वासी बस्तीका बासिन्दाविरुद्ध नारा जुलूसमा उत्रिए ।

उनीहरूले ‘सुकुम्वासी बस्ती खाली गर, बागमती सभ्यता जिन्दावाद, वायु प्रदूषण बन्द गर, सुकुम्वासीको नाममा राजनीति बन्द गर’ भन्दै नारा लगाए । उनीहरूले आफूहरू बागमती सभ्यता बचाउन आएको जिकिर गरे । नारा–जुलूस गरिरहेको समूहमा भेटिएका बागमती प्रदेश सभा सदस्य सुनिल केसीले सुकुम्वासीलाई देखाएर राजनीति गर्न नहुने भाषण गरे ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?