लेनिनको एउटा प्रसिद्ध उक्ति छ- ‘कहिलेकाहीं दशकौंसम्म केही हुँदैन, तर कहिलेकाहीं केही हप्तामै दशकौंको भइसक्छ ।’
पश्चिमा समाज लगभग समथरमा दौडिरहेको हुन्छ, उकालो-ओरालो थाहै हुँदैन । एकैचोटि त्यहाँ अग्रगामी फड्को (ग्रेट लिप फर्वार्ड) हुन्छ । फ्रान्सेली क्रान्ति होस् वा बेलायती गौरवशाली क्रान्ति वा रूसको बोल्सेभिक क्रान्ति, दशकौंसम्म देखिने गरी केही नभएरै ठूल्ठूला घटना भए ।
हाम्रो समाज भने वृत्ताकारमा यात्रारत छ, जति दौडिए पनि त्यहीं आइपुगिन्छ, जति गरे पनि केही नभए जस्तो । नत्र त ७० को दशकलाई शताब्दीमा नभएको दशक भन्न मिल्थ्यो ।
सय वर्षमा एकपटक आउने भनिने महाभूकम्प १९९० पछि यही दशकमा आयो । बीसौं शताब्दीको सुरुवातको फ्लूपछि सय वर्षको अन्तरालमा कोभिड महाव्याधि आयो । यस्ता युगान्तकारी घटनाले युरोपमा ऐतिहासिक क्रान्तिको लहर ल्यायो, जस्तो- फ्रान्सेली राज्य क्रान्ति । त्यसपछि युरोप-अमेरिकाको फ्लूले संसारभरको अर्थ-राजनीतिलाई नयाँ दृष्टिले हेर्ने चिन्तन ल्याएको थियो ।
हामीकहाँ त्यस्ता दुवै घटना एक दशकभित्रै भए । र पनि, सब कुरा सामान्य चलिरहे जस्तो लागिरहृयो । हाम्रो समाज व्यायाम गर्नेहरूले भन्ने ‘स्पट रनिङ’मा जस्तो एकै ठाउँमा कुदिरहेको छ । पसिना निस्किरहेको छ, तर अगाडि-पछाडि कतै गइरहेको छैन । हाम्रो ७० को दशक यस्तै रहृयो ।
कुनै-कुनै समय छोटो हुन्छ । बेलायतका मार्क्सवादी इतिहासविद् एरिक हाेब्सवामले भनेका छन्- ‘कुनै शताब्दी सय वर्षभन्दा लामो हुन्छ, कुनै शताब्दी सय वर्षभन्दा छोटो ।’ बीसौं शताब्दी बोल्सेभिक क्रान्तिबाट सुरु भएर सोभियत संघको पतनपछि सकियो । बीसौं शताब्दी अलि छिटो सकिएर एक्काइसौं शताब्दी सुरु भयो ।
७० को दशकतिर फर्कँदा २०६९ होइन, २०६७/६८ तिर जानुपर्छ । त्यो बेला पहिलो संविधानसभाबाट नयाँ संविधान बन्ने स्थिति थियो । प्रदेशहरूको नाम र सिमांकनबाहेक संघीयताका धेरैजसो सवालमा सहमति थियो । दुई वटा समिति बनेर त्यसको निष्कर्ष आइसकेको थियो । अलिकति मिहिनेत गरेको भए हुन नसक्ने कुरा त्यहाँ केही थिएन ।
तर, संविधानसभाबाट संविधान बन्न नदिने विचार यथास्थितिवादीमा बलियोसँग आयो, जुन तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट अभिव्यक्त भयो । धुलिखेलको कार्यक्रममा उनले भने, ‘विभाजनकारी संविधान आयो भने मेरो हातबाट जारी हुनेछैन ।’
त्यो कुरा उनले यसरी भनेका थिए, मानौं उनी राजषिर् अधिकार प्राप्त हुन् । नभन्दै, इतिहास बनाउनै लागेका प्रधानमन्त्रीलाई उनले राजीनामा गर्ने स्थितिमा पुर्याए । त्योसँगै संविधानसभा विरोधीहरू आन्दोलित भएर ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्न थाले । पहिचान विरुद्ध सुदूरपश्चिमबाट खस-आर्यको नाउँमा आन्दोलन सुरु भयो । यसलाई अंग्रेजीमा ‘एस्ट्रोटर्फ मुभमेन्ट’ भनिन्छ, जसमा कृत्रिम घाँसको मैदानमा तृणमूलबाट आन्दोलन छुट्छ ।
जायज आन्दोलनलाई बदनाम गर्न त्यसमा दुई-चार थरी मान्छे मिसाएर उत्तेजक नारा लगाउने काम भयो । त्यो संविधानसभाको मृत्युको घण्टी बजाउने कर्म चाहिं तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीबाट सुसम्पन्न भयो । उनले संविधानसभाले आफ्नो म्याद बढाउन पाउने कुरालाई असंवैधानिक घोषणा गरिदिए अनि अन्तरिम संविधानले कल्पनै नगरेको कार्यकारी प्रमुख बन्न अग्रसर भए ।
त्यस्तो विरोधाभास अन्तर्गत अदालतका प्रमुख न्यायाधीश कार्यपालिकाको पनि प्रमुख बने । त्यो विभक्तिबिन्दु अर्थात् इतिहासको ‘इन्ˆलेक्सन प्वाइन्ट’ बन्यो । इतिहासमा त्यसअगाडि २०६२/६३ देखि २०६९ सम्म ६-७ वर्ष उत्साह, उमंग र आशाको समय थियो, त्यो समाप्त भयो र पछाडि फर्किने वा यथास्थितिमा अल्झिने दशकको आरम्भ भयो ।
रामवरण यादव र खिलराज रेग्मी
‘आखिर इतिहास भनेको के हो र, शक्तिशाली व्यक्तिको कथा न हो !’ भन्ने एउटा परिभाषा छ । त्यसमा जनता र जनभावनाको कुरा आउँदैन । राजा शक्तिशाली हुँदा तिनका गाथा, धर्मप्रधान हुँदा धर्मको गाथा लेखियो । बनाउने, भत्काउने व्यक्तिहरूको दृष्टिकोणबाट यो दशकलाई हेर्ने हो भने सबैभन्दा बढी त रामवरण यादवलाई नै देखिन्छ ।
उनले एकपटक ‘विभाजनकारी संविधान मेरो हातबाट जारी हुनेछैन’ भने । अर्कोपटक नेपाली मानसलाई मधेशी र गैरमधेशीमा विभाजित गर्ने लेखोटलाई ढोगेर जारी गर्न उनी बाध्य भए । उनको त्यो दम्भ र अहंकारको स्रोत जे थियो, त्यसैले उनलाई दोस्रो ठाउँमा ल्याइदियो । यसरी उनी यो दशकका प्रमुख पात्रका रूपमा देखा पर्छन् ।
दोस्रो पात्रका रूपमा प्रधानन्यायाधीश र त्यसपछि निर्वाचन गराउने उद्देश्यका साथ गठित सरकारका प्रमुख खिलराज रेग्मी देखिन आउँछन् ।
सुशील कोइराला
त्यो दशकको तेस्रो पात्रका रूपमा सुशील कोइरालालाई लिनुपर्ने हुन्छ, बडो दयनीय पात्र । इतिहासको एउटा कालखण्डमा कहिलेकाहीं संयोगहरू जोडिन पुग्छन् ।
कुनै प्रयोग वा नियमित प्रक्रियाबाट नभई गिरिजाप्रसाद कोइरालाको अवसानपछि अपुतालीमा नेपाली कांग्रेस पार्टीका सभापति बन्न पुगे सुशील । दोस्रो संविधानसभामा कांग्रेस ठूलो दल भएपछि प्रधानमन्त्री बन्न पुगे । पार्टीमा अनुभव भए पनि सत्ता संचालनमा वडाअध्यक्षको पनि अनुभव थिएन । यसरी कोइराला डिजुरे अर्थात् देखाउनका लागि प्रधानमन्त्री बने ।
त्यतिबेला वास्तविक प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली थिए । प्रधानमन्त्री भन्नलाई सुशील कोइराला थिए, तर राज्यको सबै संयन्त्रले बालकोट दरबारमा रिपोर्टिङ गर्थे । दुई शक्तिकेन्द्रको अभ्यासमा डि जुरे पात्रका रूपमा सुशील कोइराला देखिन्छन् । त्यो कुनै न कुनै रूपमा राजतन्त्रमा पनि थियो, कुनै न कुनै रूपमा अहिलेसम्म पनि चल्दैछ ।
लोकमानसिं कार्की
यो दशकलाई हुँडलेको चौथो पात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिं कार्की हुन् । राजाको कृपाले राजदरबार सेवामा आएका उनी २०४६/४७ को परिवर्तनपछि एकदम प्रभावशाली प्रशासक भएका थिए ।
नेपालको संविधानले गरेको परिकल्पना भनेको सामान्यतया विधायिकाको सर्वोच्चता हुन्छ । कार्यपालिकालाई अथ्र्याउने अधिकार न्यायपालिकाको हुन्छ । मिडिया, नागरिक समाज, संवैधानिक निकायहरू एक किसिमको संस्थासँगै संरचना पनि हुन् । संविधानले नै परिकल्पना गरेको हुनाले संस्था हुन काम संरचनाको गर्छन् ।
नेपालको स्थायी सत्ताले विधायिका, न्यायपालिका र कार्यपालिका बेकामे छन्, यिनीहरूलाई ठाउँमा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग चाहिन्छ भनेर परिकल्पना गरेको संस्थाको प्रमुख बन्न पुगे कार्की । उनमा महत्वाकांक्षा बढ्यो । अदालतको हाकिम प्रधानमन्त्री बन्न मिल्छ भने अरू पनि मिल्नसक्ने भयो । संविधान अनुसारै हुनुपर्छ भन्ने भएन ।
नेपालको स्थायी सत्ताको साथ त छँदै थियो, केही समय भारत बसेर हिन्दुत्वको पनि समर्थन लिएर आएका उनलाई हल्लाउन यति कठिन भयो कि निलम्बित रहेको बेला अवकाश पाए । यसरी उनी यो दशकको अर्को बलियो पात्रका रूपमा देखा पर्छन्, भलै अवकाश पछि देशमा मुख देखाउन सक्ने अवस्था नरहेको किन होस् ।
गोरखा भुइँचालो
१२ वैशाख २०७२ को गोरखा भुइँचालोले नेपालको सत्ता र संरचनाको तुरुन्तातुरुन्तै रेस्पोन्स गर्नसक्ने क्षमता साह्रै कमजोर रहेछ भन्ने देखायो । त्यो कमजोरीको असर- पहिले विदेशीको सहयोग ओइरिन सुरु भयो । नेपालको सम्पूर्ण सत्ता नै तन्द्रामा गएजस्तो भएको बेला नेपाली समाजको एकअर्कालाई सहयोग गर्ने भावना चाहिं प्रबल देखियो ।
प्रधानमन्त्री सुशील कोइरालाले त्यो आकस्मिक घटनाको जानकारी नै आफ्नो संरचनाको रिपोर्टिङबाट नभई भारतीय प्रधानमन्त्रीको ट्वीटबाट थाहा पाएका थिए । त्यस्तो बेला सबभन्दा पहिले अगाडि आउनुपर्ने (फर्स्ट रेस्पोन्डर) गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व लगभग बेकामे देखियो । फलतः सेनाको अग्रसरता त्यतिबेला देखियो । त्यसले नेपालमा सेनाको महत्वलाई स्वीकार गर्नुपर्ने रहेछ भन्ने भयो ।
१६ बुँदे षड्यन्त्र
गोरखा भुइँचालोका परकम्प चलिरहेकै बेला १६ बुँदे षड्यन्त्र भयो, जुन यो दशकको ठूलो घटना हो । त्यसले २०६७/६८ देखि नै भइरहेको देशलाई पछाडि फर्काउने षड्यन्त्रलाई सफल पार्यो ।
संघीयतालाई त्यसले मुल्तबीमा राख्यो । आयोग गठन गर्ने, त्यसले सिमांकन र नामांकन गर्ने भनेर स्वीकार गर्यो ।
अन्तरिम संविधानमा भएको अग्रगामी प्रावधानलाई पछाडि फर्काउने किसिमले अथ्र्याउने गरी व्याख्या गर्ने सहमति र काम भयो । त्यसलगत्तै मधेश विद्रोह भयो ।
मधेश विद्रोह
मधेश विद्रोहले तीनवटा मान्यता स्थापित गर्यो । एउटा- मधेशी नेपालका चिर अल्पसंख्यक हुन्, तिनले जति मिहिनेत गरे पनि तिनको सहवरण सम्भव छैन । व्यक्तिको सहवरण होला, समुदायको सम्भव छैन भन्ने मान्यता स्थापित गर्यो ।
दोस्रो- काठमाडौंले नहेरेपछि नयाँ दिल्लीतिर हेर्न मनलाग्दो रहेछ, तर दिल्लीले मधेशलाई उपयोग मात्र गर्छ भन्ने स्थापित गर्यो । तेस्रो- यो पुस्तौंदेखिको संघर्ष हो भन्ने मान्यता पनि स्थापित गर्यो ।
आइरिसहरू शताब्दीऔं लडे, प्यालेस्टाइनहरू दशकौंदेखि लडिरहेका छन् । तमिलहरू लड्दै सकिने अवस्थामा पुगे । बंगलादेश, दक्षिण र उत्तर सुडान, दक्षिण र उत्तरकोरियाको जस्तो चमत्कार बाहृय हस्तक्षेपले मात्रै सम्भव हुन्छ, आफ्नै संघर्ष जहिल्यै लामो हुन्छ, तापनि सफलताको ग्यारेन्टी हुँदैन । त्यसैले लामो संघर्षको तयारी गर्नुपर्छ भन्ने एककिसिमको मान्यता मधेशमा स्थापित भयो ।
अर्को, हाम्रो संघर्ष सत्तासँग छ, समुदायप्रतिको संघर्षको रूपमा लैजाँदा फाइदा गर्दैन भन्ने भयो । मधेश विद्रोहले नेपाली राजनीतिमा यस्ता केही आधारभूत मान्यता स्थापित गर्यो ।
खड्गप्रसाद शर्मा ओली
विवादित संविधानको कुरा आइहाल्यो । खड्गप्रसाद शर्मा ओली यसको एकल नायकका रूपमा देखिन्छन् । त्यसपछिको घटनामा उनी सत्तामा रहे पनि, सत्ता बाहिर रहे पनि कहिले नायकको रूपमा त कहिले प्रतिनायकको रूपमा केन्द्रीय पात्रका रूपमा देखा पर्छन् ।
पुष्पकमल दाहाल
आफूलाई पुनःआविष्कार गर्न खोजेका पुष्पकमल दाहाल अर्का पात्रका रूपमा देखिन्छन् । माओवादीलाई नेकपा (एमाले) मा समाहित गरेर एउटा आवरण अध्यक्ष (लेटरहेड चेयरपर्सन) को जिम्मेवारी पाउँदा उनलाई आफू साँच्चैको अध्यक्ष भएँ भन्ने लाग्यो । उनमा अब यो देशमा मेरो पनि केही महत्व हुन्छ भन्ने भाव उत्पन्न भयो । कायाकल्पबाट स्थायी सत्ताको हिस्सा भएको भान भयो । त्यो कायान्तरणबाट दाहाल पनि यो दशकका एक पात्रका रूपमा देखा पर्छन् ।
कोभिड महाव्याधि
भुइँचालोले हाम्रो सत्ताको अकर्मण्यता उजागर गर्यो । कोभिडले त्योभन्दा पनि नराम्रोसँग सत्ताको बेइमान चरित्र उजागर गर्यो । संकटलाई सम्पन्न हुने अवसरको रूपमा प्रयोग गरेको देखायो । भुइँचालोमा सत्ताको अकर्मण्यता देखिएको थियो, कोभिडमा कुकर्म नै छताछुल्ल भयो ।
त्यसपछि स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन र त्यसको दोस्रो चरण आदि भए । यी घटना र पात्रहरूले नेपालको समग्र समाज, संस्कृति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति आदिमा ल्याएको परिवर्तन अध्ययनका विषय हुन् ।
दशक ७० को नेपाली समाज, संस्कृति र अर्थ-व्यवस्थाको कुरा गर्दा त्यससँग जोडिएर आउने वातावरण, जलवायु, विदेशिने श्रमिकका पीडा, कृषि उपज र औद्योगीकरण लगायतको दारुण अवस्था जोडिन्छन् । यससँगै हामी कस्ता पात्रहरूलाई नायक, तारणहार बनाएर, आशा गरेर बसेका छौं भन्ने चर्चा जोडिन आउँछ ।
समाज
नेपालको आधुनिक इतिहास हेर्दा काठमाडौं एउटा ठूलो चुम्बकजस्तो देखिन्छ । हरेक राजनीतिक परिवर्तनपछि देशभरका मान्छे यो चुम्बकतिर तानिन्छन् । २००७ सालको आन्दोलनपछि काठमाडौंमा ठूलो आकर्षण भयो । राजा महेन्द्रको २०१७ सालको कदमपछि नयाँ खालको सम्भ्रान्तको लागि काठमाडौं आकर्षणको केन्द्र बन्यो ।
जनमत संग्रहपछि पनि मध्यम वर्गको आकर्षण यही काठमाडौंमा भयो । २०४६ को आन्दोलनपछि मध्यम वर्ग मात्र नभई स्वेच्छा वा बाध्यताले विदेशिएकाहरूले पनि काठमाडौंतिर अवसरको आशाले हेर्न थाले । जनसंख्याको चाप भने माओवादी विद्रोहसँगै चर्कियो । २०६२/६३ को आन्दोलनपछि त असाध्यै धेरै नयाँ अनुहार काठमाडौंमा थुप्रिन आइपुगे ।
त्यसको असर गाउँघरतिर बुढाबुढी वा बच्चाबच्ची मात्र रहने अवस्था देखियो । जरासँग उछिट्टएिको बिरुवाहरू जस्तै एउटा ‘न्यूक्लियर फ्रयामिली’ डेरामा बस्न थाले, जसको सामाजिक मूल्य-मान्यता फरक बन्छ । सामाजिक सम्बन्ध कमजोर हुन्छ । बढी आत्मकेन्द्रित, आवेगपूर्ण हुने तिनीहरूमा आपसी सहयोगको भावना कमजोर बन्दै जान्छ । यस्तो सामाजिक परिवर्तन २०६२/६३ यता बढी देखिन थालेको हो ।
२०५० पछि ग्रामीण क्षेत्रबाट धेरै युवा अरबको गर्मी, मलेशियाको आद्रता र केही मात्रामा अन्य देशमा पनि पुग्न थाले । यसले सामाजिक परिवर्तनमा थप बल दियो । उनीहरूले विप्रेषण पठाउन थालेसँगै सामाजिक मूल्यमान्यता पनि विप्रेषित हुन थाल्यो ।
मलेशिया र अरबको संकुचित र अनुदार मूल्य-मान्यताको प्रभाव पनि बढ्ने नै भयो । स्वार्थीपन बढ्दा परेको बेला सहयोग गर्न निकट आफन्त नै हुनुपर्ने आफन्तीपन हावी भयो । डोरबहादुर विष्टले भनेझैं सहयोगको घेरा सीमित हुन थाल्यो । चाकरी र आफ्नो मान्छेको घेरा बन्दा नचिनेको मान्छेलाई मानवीय रूपमा स्वतः सहयोग गरौं भन्ने भाव कमजोर हुँदै गएको यो दशकमा देखिन्छ ।
यसपछि सामाजिकतामा सोपानतन्त्रको कमजोरी देखियो । म ठूलो र ऊ सानो, म बैंकको हाकिम, फलानो बैंकको ड्राइभर भन्ने सुरु भयो । एउटै टोलमा रहे पनि दाजु-भाइ बन्न छोड्ने प्रवृत्ति बढ्यो । सम्बन्धहरू औपचारिकतामा बदलिए ।
अर्काे, नाफामुखी शिक्षा र स्वास्थ्य फैलिंदा काठमाडौंको मध्यम वर्गीय युवामा बाहिर पढे अवसर बढ्छ भन्ने मान्यता फैलियो । त्यससँगै सञ्चार क्रान्तिले हात-हातमा सस्तो चिनियाँ फोन र इन्टरनेटको प्याकेज पुग्दा असामाजिक सञ्जाल पनि व्यापक बन्यो । एउटै कोठामा बस्ने दुई जना पनि टुक्रिने क्रम सुरु भयो । यसरी यो दशकमा मान्छे छुट्टिने क्रमले गति लियो । यसलाई फेरि जोड्नेतिर फर्काउन कठिन हुने देखिन्छ ।
संस्कृति
सामान्य मूल्य-मान्यता भन्छ- आय बढेसँगै मान्छे उदार हुँदै जान्छ । हाम्रोमा ठीक उल्टो देखियो । सामाजिक पाठ्यपुस्तकले पढाएको भन्दा ठीक उल्टो, आय बढेपछि अनुदार हुने प्रवृत्ति देखियो । आयले उदारता र विनयशीलता बढाउनुको साटो दम्भ र अहंकार बढाउँदै लग्यो । यो सांस्कृतिक विचलनको सबभन्दा ठूलो उदाहरण २१औं शताब्दीमा पनि काठमाडौंमा दलितले डेरा पाउन थर फेरेर झूटो बोल्नुपर्ने अवस्था हो ।
हालसालै नाटक ‘विमोक्ष’ हेरें । त्यसमा रुकुम घटनालाई प्रस्तुत गरिएको रहेछ । दलितले प्रेम गर्न पनि चिना र जातपात हेर्नुपर्ने, नभए त्यसको मूल्य चाहिं प्राणले चुकाउनुपर्ने सभ्यता बाहिर रंगीन देखिए पनि भित्र कुहिएको छ ।
यो कस्तो सांस्कृतिक विचलन हो, जसमा बलात्कारजस्तो जघन्य अपराधलाई पनि समाजले स्वीकार गरिरहेको छ । कस्तो व्यक्तिलाई हामी हिरो मानिरहेका छौं, जसमा नाबालिग बलात्कारको आरोप प्रमाणित हुँदा पनि समाजका नामी-गिरामीहरू तिनको प्रतिरक्षामा उभिन्छन् । नाम लिन पनि डरलाग्ने स्थिति बनेको छ ।
राजनीति र अर्थतन्त्रमा आलोचना गर्दा एउटा प्रक्रिया हुन्छ । समाज र संस्कृतिमा आलोचना प्रक्रियाबाट आउँदैन, त्यो सोझै टोक्न आएको माहुरीको गोलो जस्तो हुन्छ । तर, अवस्था यस्तो भएको छ कि मजस्तो व्यक्तिलाई नाम लिन कठिन भएको छ । सांस्कृतिक पक्षमा पनि यस्तो विचलन देखिएको छ ।
अन्धराष्ट्रवादसँगै अति धार्मिकता बढिरहेको छ । अति धार्मिकताले मेरो धर्म बाहेक बाँकी सबै धर्म नराम्रा हुन् भन्नेमा जोड दिन्छ । भारतमा देखिएको त्यो अति धार्मिकताको असर नेपालमा आएको छ । त्यो धार्मिक हिन्दुत्वको असर के भएको छ भने जातीय ऐक्यबद्धता बलियो भएर आएको छ । त्यसले आफ्नो जातकालाई जुनसुकै शर्तमा पनि प्रतिरक्षा र अरूको दैत्यकरण गर्ने डरलाग्दो सांस्कृतिक विचलन देखिन्छ ।
यो अँध्यारोतिरको यात्रा हो । फर्किने वा सच्चिने समय अझै छ, तर डर लाग्दो के छ भने सच्चिने कामको नेतृत्व राजनीतिक, सामाजिक, प्राज्ञिक र मिडिया क्षेत्रबाट हुनुपर्ने हो, तर त्यहाँ पनि आत्मअवलोकन र आत्मपरीक्षणको अभाव देखिएको छ ।
असाध्यै धेरै अल्पसंख्यक रहेको समाजमा सुन्ने संस्कृति महत्वपूर्ण हुनुपर्ने हो । तर, हालीमुहाली बाहुनवादको भएको हुनाले व्यसासनबाट प्रवचन दिने सांस्कृतिक नेतृत्वको बानीजस्तो भइसकेको छ । कम सुन्ने र बढी बोल्ने कोकोहोलोको अवस्था छ ।
यसको एउटा चरित्र के हुन्छ भने, एउटाले ठूलो स्वरले बोलेपछि अरू सबैले त्योभन्दा ठूलो स्वरमा बोल्नुपर्छ । अर्कोले म त्योभन्दा ठूलो स्वरले बोल्नु पर्यो भन्दा कोकोहोलो बढ्दै जान्छ । र, कसैको कुरा कसैले नसुन्ने स्थिति उत्पन्न हुँदै जान्छ ।
यस्तो अवस्थामा आमसञ्चारले आफ्नो प्रभावकारिता गुमाउँदै जान्छ । यो परिस्थितिलाई पनि सांस्कृतिक विचलनको रूपमा हेर्नुपर्छ । यसको असरलाई जनसांख्यिकीमा हेर्न सकिन्छ । हाम्रो सबभन्दा ऊर्जावान तन्नेरीहरू खास गरेर पुरुषहरू देश बाहिर छन् । महिला गाउँघरमा छन् । पहिलो र दोस्रो विश्वयुद्धताका नेपाली पहाडमा यस्तै अवस्था भएको थियो ।
पश्चिम पहाडका जनजातिहरूको सशक्तीकरणको इतिहास पहिलो विश्वयुद्धबाट सुरु हुन्छ । दोस्रो विश्वयुद्धताका पूर्वी पहाडमा त्यही अवस्था दोहोरियो । पुरुषहरू युद्ध लड्न गएर गाउँ रित्तिएपछि महिला सशक्तीकरण भए । अहिले मधेशमा यस्तो देखिंदैछ । युवकहरू अरबमा छन्, महिला सशक्तीकरण देखिंदैछ गाउँमा । यो थोरबहुत सकारात्मक प्रभाव नै हो ।
नकारात्मक प्रभाव के छ भने महिलाको काँधमा पहिलादेखि नै धेरै ठूलो बोझ छँदै थियो । तिनले परम्परालाई बोक्नु छ, संस्कृतिलाई निरन्तरता दिनुछ, घरमा सासू-ससुरा वा आमाबुवा, केटाकेटीको बोझ बोक्नु छ । त्यसमाथि अब राजनीतिको बोझ थपिएको छ । अर्थतन्त्रलाई निरन्तरता दिने बोझ थपिएको छ । हलो वा ट्रयाक्टर जोत्न जानुपर्ने बोझ पनि थपिएको छ ।
सशक्तीकरणसँगै त्यो बोझ आएको भए थामिन्थ्यो । सशक्तीकरणको गति साह्रै कमजोर छ, बोझ मात्र थपिएको थपिएकै छ । संस्कृतिमा त्यसको असर अति धार्मिकता र मानसिक समस्या बढ्न जाला ।
अर्थतन्त्र
यो दशकले अर्थतन्त्रमा केही क्षेत्रमा गति दियो, केहीमा नयाँ कुरा ल्यायो । नेपालको कृषि निर्भरता ५० को दशकदेखि नै कमजोर हुन थालेको थियो । त्यो कमजोर बनाउनेमध्ये एउटा कारण जब पैसाको प्रवाह ग्रामीण क्षेत्रमा विभिन्न कारणले अलि बढ्यो, त्योभन्दा अगाडि गार्मेन्ट र कार्पेटको कमाइ हुन थालेको थियो । वैदेशिक सहयोगले सडक, सिंचाइका योजना गाउँ पुग्न थालेका थिए ।
वस्तु विनिमयको अर्थतन्त्र रकम विनिमयमा पुगिसकेको थियो । त्यसले जग्गाको भाउ आकाशिएपछि खेतीभन्दा जग्गामा त्यत्तिकै लगानी गरेर राख्दा फाइदा हुने रहेछ भनेर कृषिमा लाग्नेको रुचि घट्न थालेको थियो । ५० को दशकबाट त्यो क्रम बढ्न थाल्यो ।
समाचारहरूमा किबीको खेती बढ्यो, ड्रयागन फ्रुटको खेती बढ्यो, माछा पालेर मोटर किन्यो भन्ने कुरा राम्रो देखिन्छ । तर हामी तरकारी र फलफूल मात्रै होइन, सामान्य अन्नपात पनि आयात नगरी खान नपाउने अवस्थामा पुगेका छौं । जबकि, नेपालको जमिनको उत्पादकत्व हेर्दा अहिले पनि ३ करोड जनसंख्यालाई मधेशको चार जिल्लामा राम्रोसँग खेती गर्दा पुग्ने देखिन्छ । त्यसका लागि सिंचाइ, मलखाद, बीउबिजन, चकलाबन्दी लगायत कुरामा ध्यान जानुपर्छ ।
अहिले पनि मुख्य पेशा कृषि रहेको जनसंख्या ५० प्रतिशतभन्दा बढी देखाइरहिएको छ । तर त्यो भनेको कहिलेकाहींको काम मात्रै हो । अब त्यसमै निर्भर रहेर जीविका चल्न सक्ने अवस्था रहेन ।
५० को दशकमा नयाँ उद्योग सम्भव छ भनेर लगानी आउन थालेको थियो । २०६२/६३ पछि कपडा, धागो, खाद्यान्न, अल्कोहल, फलामे डण्डी, सिमेन्ट आदिमा लगानी बढ्यो । यसले के देखायो भने जति गरे पनि अन्ततः आयातमा नै भर हुनुपर्ने भएपछि व्यापारमा जति लाभ उद्योगमा छैन । जग्गा किनेर छोड्दा जति लाभ हुन्छ, त्यति लाभ कारखाना खडा गरेर नहुने भयो । अनि कारखाना खडा गर्ने झन्झटका पछाडि को लागोस् ?
नेपाल संसारको अचम्मको देश हो । सामान्यतया वि-औद्योगीकरण त्यसबेला हुन्छ, जतिबेला औद्योगीकरण उत्कर्षमा पुग्छ । तर नेपालको अर्थतन्त्रमा औद्योगीकरणले पाइला चलाउन नपाउँदै वि-औद्योगीकरण सुरु भएको देखिन्छ । त्यसले रोजगार सिर्जना निकै कम भयो ।
पर्यटन एउटा आशालाग्दो क्षेत्रका रूपमा देखिएको थियो, तर त्यसका सीमितताहरू पनि सँगसँगै देखिए । कोभिड र भुइँचालो त शताब्दी घटना भइहाल्यो, त्यसअघि माओवादी युद्धमा बम विस्फोट भएको घटनाले असर गर्यो । त्यसले अर्थतन्त्रलाई थेग्न सकेन ।
अर्थतन्त्रलाई सबै अवस्थामा सामान्यतया विप्रेषणले मात्र थेग्ने देखियो, जसबाट अनुत्पादक उपभोक्ताको जमात तयार भएको छ । अर्थतन्त्रमा कुनै योगदान नहुने यो जमातको कुनै आय छैन, तर रेस्टुरेन्टमा खान्छ । सामान किन्नको लागि मल धाउँछ, सिनेमा हेर्न मल्टिप्लेक्स पस्छ ।
उत्पादनसँग नजोडिएको उपभोक्ता स्वतः गैरजिम्मेवार हुन्छ । न गुणस्तरमा प्रश्न उठाउँछ न त उपलब्धताको नियमिततामा । तरकारीमा विषादी कति छ, वास्ता गर्दैन । मुद्रास्फीतिको दरको तुलनामा बेपत्ता बढेर जाने मूल्य वृद्धि किन भनेर सोध्दैन । केवल खर्च गरिरहन्छ, किनभने, ऊ गैरजिम्मेवार उपभोक्ता हो ।
यो जमातले छायाँ अर्थतन्त्रलाई मलजल गर्छ । छायाँ अर्थतन्त्रमा कमाएको पैसा यहाँको भविष्यसँग विश्वास नभएर देश बाहिर पठाइन्छ । अथवा विभिन्न अवैधानिक क्रियाकलापमा प्रयोग भएको छ । पहिले ‘भ्रष्टाचार अपवाद हो, सदाचार नियम हो’ भनिन्थ्यो । अहिले ठ्याक्कै उल्टो- ‘सदाचार अपवाद, भ्रष्टाचार नियम’ बन्न पुगेको छ ।
यो किसिमको परिस्थिति सिर्जना गर्नुमा गैरजिम्मेवार उपभोक्ता जमात पनि जिम्मेवार छ । ऊ दुई दिनपछि जाँदा एक हजार तिर्दा हुने ठाउँमा आजै दुई हजार बढी तिरेर काम लिन तयार हुन्छ । किनभने, भोलि साथीहरूसँग रक्सी खान बारमा जानु छ । यो पथभ्रष्ट संस्कृतिले अर्थतन्त्रसँगै सारा सामाजिक संरचनालाई नै भ्रष्ट तुल्याइरहेको छ ।
यो गैरजिम्मेवार संस्कृति यस्तो बादल हो, जसमा चाँदीको घेरा कतै देखिंदैन । चाँदीको घेरा नभएको बादलले चट्याङ ल्याउँछ भन्छन् । हामी चट्याङ पर्खेर बसेको हो ?
साहित्य र कला
यो दशकमा प्रकाशनको क्षेत्रमा व्यापक गतिविधि भए । नेपालीमा उपन्यास लेखिराखिएका छन् । संस्मरण लेखनको मूल फुटेको छ । कला क्षेत्रमा पनि त्यस्तै छ । मिथिला क्षेत्रको जीवनशैली र संस्कार जोडिएको पूजा, विवाह, व्रतबन्ध, सजावट, कोहवर, अरिपन आदि कला व्यापारिक आर्टमा रूपान्तरित हुँदैछ । यसले कलाकारहरूको जीवनमा निश्चय पनि सकारात्मक परिवर्तन ल्याएको छ । यस्तो गतिविधि बढ्दै जाँदा यसमा प्रयोगहरू हुन थालेका छन् ।
मैथिल चित्रकला र आधुनिक कला फरक-फरक विधाजस्तो रहिआएकोमा अब दुवैको फ्युजनबाट नयाँ किसिमको चित्रकला आउन थालेको छ । फाइदाको रूपमा यसमा आकर्षण र गुणस्तर मापन गरेर बुझ्ने/उपभोग गर्ने व्यक्तिहरूको जमात पनि बढ्ला । यसको आफ्नोपन जोगाउन भने कठिन हुनेछ ।
पौभा कलाकारिता र यसको व्यापारमा त कोभिड कालमा समेत कमि आएको थिएन । काठमाडौंमा आधुनिक कलाका ग्यालरीहरू पनि खुल्दैछन् । फोटोग्राफी पनि कलाको रूपमा आएको छ । यसभन्दा पहिले पत्रकारितामा फोटो जर्नालिज्म स्थापित भएको थियो । अहिले फोटोग्राफीलाई कलात्मक रूपमा मात्र पनि प्रयोग गर्न थालिएको छ । भिडियोग्राफी र फिल्ममा देखिन थालेको ‘कला दृष्टिकोण’ले यो दशकलाई रोमाञ्चक बनाएको छ ।
सबभन्दा बढी रोमाञ्चकता रंगमञ्चमा भइरहेको छ । नेपालको नाटक अहिले पनि अनुवादमा आधारित रहनु परेको छ । हुन पनि, नाटक सबै कलाको सम्मिलित स्वरूप हो । भावावेगबाट नृत्य आउँछ । नृत्य भनेको हर्ष र उन्मादको एकदमै उच्चतम भाव हो । नृत्यमा गीत-संगीत, अभिनय, कथाशिल्प, कविता सबै आउँछ । नाटकले यी सबैलाई समेटेको छ ।
दुई तीनवटा कुरामा सावधान रहनुपर्ने यो दशकका पाठहरू छन् । पहिलो, नयाँ हुँदैमा राम्रो र पुरानो हुँदैमा सडेगलेको हुँदैन । केही कुरा जति पुरानो हुँदै जान्छ, तिनको महत्व र मोल बढ्दै जान्छ ।
नयाँ शक्तिको विरोधाभास
नेपालको राजनीतिमा ‘नयाँ शक्ति’ भन्ने शब्दावली चलेर आयो ७० को दशकमा । त्यसको पहिलो प्रयोगकर्ता माओवादी नै थियो । उसले ५० को दशकबाटै ‘संसदीय दलहरू सडेर गए, हामी चीनमा माओको ‘ग्रेट लिप’जस्तै नेपालमा अग्रगामी फड्को मार्छौं’ भन्न थालेको हो । नेपालको राजनीतिसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा परिवर्तन गर्ने उसको उद्घोष थियो ।
त्यसरी नयाँपन बेच्दै उठेको माओवादी अहिले पुराना दलहरू भन्दा कमजोर बनेको छ । पहिलो कार्बनकपी सफा हुन्छ, दोस्रो पनि पढ्न सकिने हुन्छ । तर, माओवादी पुराना दलहरूको पाँचौं कार्बन कपी बनेको हामीले देख्यौं ।
माओवादीले ‘नयाँ शक्ति’लाई अगाडि बढाउन नसकेपछि बाबुराम भट्टराईले अग्रसरता लिए । तर, उनी न राम्रा संगठक हुन् न त प्रोत्साहन गर्ने र संयम भएका व्यक्तित्व । त्यसैले उनको नयाँ शक्तिको प्रस्तावना नै फासफुस भएर गयो ।
त्यसपछि ‘हामी विकल्प हौं’ भन्दै सेतो कमिजवाला चामत्कारिक जमातको रूपमा घण्टी पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) काठमाडौंबाट उदायो । माओवादी पाँचौं कार्बन हो भनेर थाहा पाउन हामीलाई ६ वर्ष लागेको थियो, छैटौं कार्बन कपी थाहा पाउन चाहिं ६ महिना पनि कुर्नु परेन ।
राजनीतिक दल भनेको संरचना र संगठन मात्र नभएर सम्पूर्ण रूपमा संस्था हो । एउटा संस्था एक समय माथि जान्छ र स्थिर रहन्छ । त्यसपछि तल झर्ने प्रक्रिया सुरु हुन्छ । तल खस्किने प्रक्रिया सुरु भएपछि नेतृत्व सावधान भएर फेरि माथितिर लैजानुपर्छ । एक ठाउँमा अडिन गाह्रो हुने वा नअडिने प्राकृतिक नियम हो ।
पुराना संस्थाहरूलाई पुनर्जीवित गर्ने किसिमको ऊर्जा र उत्साह कहाँ खोज्ने, हाम्रो आउँदो दशकको चुनौती हुनुपर्छ । जस्तो- नेपाली सेना २०० वर्ष पुरानो भयो, अब यसको काम छैन भनेर खारेज होइन, यसको आधुनिकीकरण र रूपान्तरण गर्ने हो ।
पुराना सबै भत्काएर नयाँ बनाउने होइन, सुधारको सम्भावना खोज्नुपर्छ । सबै भत्काएर नयाँ बनाउनलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य पनि धेरै पर्छ । राजनीतिक-आर्थिक संरचनाको रेट्रोफिट अर्थात् सबलीकरण, सांस्कृतिक संरचनाको पनि रूपान्तरण गर्ने कुरामा व्यापक छलफल हुन जरूरी छ ।
हो, नयाँ राजनीतिक दलहरू आउनु विल्कुलै राम्रो कुरा हो । नयाँ-नयाँ राजनीतिक ऊर्जा र उपयोग हुनुपर्छ । नयाँको उपयोगबाट पुरानाको रूपान्तरण हुन्छ । कि त पूरै नयाँ कार्यसूची ल्याउनुपर्यो । ‘पुरानो पेडा पसल, बुढोको पुरानो पेडा पसल, नयाँ पुरानो पेडा पसल, युवा बुढोको पुरानो पेडा पसल’ भयो भने के काम !
नयाँ वर्षसँगै नयाँ दशकको शुभकामना ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4