
२९ चैत, काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) क्याम्पसमा भोलि हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले स्ववियु निर्वाचन चौथो पटक स्थगित गरेको हो ।
चैत ३० गते हुने भनिएको निर्वाचन बीएससी सीएसआईटी दोस्रो सेमेष्टरको अन्तिम परीक्षा हुनुका साथै प्राविधिक तयारी नपुगेको भन्दै स्थगित गरेको छ ।
क्याम्पस प्रमुख लोकबहादुर बरालले सूचना जारी गर्दै स्ववियु चुनाव २०८० साल वैशाख ३ गते हुने जनाएका छन् ।
त्रिविको निर्णय अनुसार गत चैत ५ गतेको निर्वाचन स्थगित भएपछि निर्वाचन अनिश्चित भएको थियो ।
त्यसपछि अनेरास्ववियुले निर्वाचन गराउनुपर्ने माग राख्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । पाटन उच्च अदालतले सर्वपक्षीय रुपमा निर्वाचन गर्न/गराउन आदेश दिए पनि क्याम्पसले चैत १८ गते निर्वाचन मिति तय गरेर तयारी नपुगेको भन्दै चैत २४ गते त्यसपछि चैत ३० निर्वाचन गर्ने भनेपनि फेरि चुनाव स्थगित गरेको छ ।
तर, विद्यार्थी संगठनहरुले भने अखिल (क्रान्तिकारी) ले हार्ने वातावरण बनेपछि क्याम्पसले पटक पटक निर्वाचन सार्दै आएको आरोप लगाएका छन् । स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका एलएस धामी भन्छन् ‘अखिल (क्रान्तिकारी) ले हार्ने भएपछि क्याम्पस प्रमुखले पटक पटक निर्वाचन सार्दै आउनुभएको छ । यो अत्यन्तै निन्दनीय कार्य हो ।’
अनेरास्ववियु तर्फबाट अध्यक्ष पदका उम्मेदवार कमलराज जोशी पटक पटक निर्वाचन गरेर विद्यार्थी माथि अन्याय गरेको बताउँछन् । उनी भन्छन् ‘यो चौथो पटक हो । पटक पटक निर्वाचन स्थगित गरेर विद्यार्थीलाई अन्याय गरिरहेका छन् । संस्थालाई धरासायी बनाइरहेका छन् ।’
यसबीचमा तीन पटक निर्वाचन अधिकृत पनि परिवर्तन भइसकेका छन् ।
प्रतिक्रिया 4