+
+

टिकटकको मातृ कम्पनीले कसरी कमायो कीर्तिमानी नाफा ?

एजेन्सी एजेन्सी
२०७९ चैत ३० गते १३:४९

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनीको रुपमा रहेको बाइटडान्सले गतवर्ष कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । कम्पनीले मुनाफामा पहिलोपटक टेन्सेन्ट होल्डिंग्स तथा अलिबाबा ग्रुप होल्डिंग्स लिमिटेड जस्ता अन्य चिनियाँ दिग्गज कम्पनीलाई पछि पारेको छ ।

सन् २०२२ मा बाइटडान्सले अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी मुनाफा वृद्धि गर्दै २५ अर्ब डलर कुल नाफा कमाएको २ जना लगानीकर्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरको छ । यो भनेको ब्याज, कर, ह्रासकट्टीलगायतका रकम कटाउनु अगाडिको मुनाफा अर्थात् Ebitda हो ।

त्यस्तै गतवर्ष टेन्सेन्टले कूल नाफा २३ अर्ब ९० करोड डलर तथा अलिबाबाले २२ अर्ब ७० करोड कुल मुनाफा गरेका ब्लुम्बर्गले जनाएको छ ।

सन् २०२० मा बाइटडान्सको कूल आम्दानीमा ३० प्रतिशतले वृद्धि भएर ८० अर्ब पुगेको थियो । टिकटक र त्यसको चिनियाँ संस्करण डोइनले प्रयोगकर्ताका साथै विज्ञापनदातालाई समेत आकर्षित गरेसँगै बाइटडान्सको आम्दानी र नाफा कीर्तिमानी ढंगले उकालो लागेको हो ।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०२२ मा गरेको दोहोरो अंकको आर्थिक वृद्धि मेटा तथा अमेजनलगायतका विश्वका अधिकांश ठूला प्रविधि कम्पनीहरुको भन्दा धेरै छ ।

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन गरिरहेको प्रयास तथा अन्य पश्चिमा मुलुुकहरुमा समेत अनेक खालका बन्देजहरु खेप्न बाध्य भैरहेको बेला समेत बाइटडान्सले आम्दानीमा वृद्धि हुनुले यो कम्पनीको व्यवसाय ससक्त तथा लचक रहेको देखाएको छ ।

त्यस्तै तीव्र रुपमा विस्तार भैरहेको टिकटकमा चुलिँदो क्षतिका बाबजुत बाइटडान्सले गत वर्ष कीर्तिमानी मुनाफा कमाउन सफल भएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

प्रयोगकर्ताका डाटाहरुमाथि चिनियाँ पकड तथा असुरक्षाका विषयमा अमेरिकी सरकारको चासो र चिन्ताका बाबजुत पनि टिकटकले अमेरिकामा मात्रै १५ करोड प्रयोगकर्ता पूराउन सफल भएको छ ।

रिपोर्ट अनुसार बाइटडान्सको आम्दानीको सबैभन्दा ठूलो स्रोतचाहिं टिकटकको चिनिया संस्करण मानिएको डोयिन नै रहेको छ ।

विश्वको सर्वाधिक मूल्यवान निजी कम्पनीको रुपमा रहेको बाइटडान्सको तीव्र गतिको आर्थिक वृद्धिले हालैका विश्वव्यापी घटनाबाट तर्सिएका लगानीकर्ताहरुमा आत्मविश्वासमा वृद्धि गरेको बताइएको छ ।

निजी लगानी बजारमा बाइटडान्स कम्पनीको हालको बजार मूल्य २ खर्ब २० अर्ब डलर आँकलन गरिएको छ । जबकि टिकटकले भने गत सेप्टेम्बर महिनामा आफ्नो मातृ कम्पनीको मूल्य तीन खर्ब डलर रहेको बताएको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?