+
+
यात्रा संस्मरण :

यात्रा च्छोरोल्पाको, चिन्ता विकासको

अर्जुन अपवाद अर्जुन अपवाद
२०८० वैशाख २ गते १४:१०
च्छोरोल्पा जाने बाटोमा भिरालो जमान पर्खाल लगाएर बनाइएको बारी ।

यात्रा सुरूवात गर्ने दिन प्रजातन्त्र दिवस परेको थियो। प्रजातन्त्र सुरू हुँदादेखिकै विकासे बहस अझै जारी छ। प्रजातन्त्र विकास भएर लोकतन्त्र भइसक्यो। हाम्रो गाउँठाउँमा भने अझै विकासकै कुराकानी हुन्छन्। नयाँ संविधान जारी भएपछि विकासे बहस अलिक कम भएजस्तो देखिएको छ। च्छोरोल्पातिर पनि तीन दशकदेखि विकास भइरहेको छ, हेलिकप्टरबाट सामग्री ओसारेर।

प्रजातन्त्र दिवसको दिन काठमाडौं थिएँ। चरिकोट आउँदा बिहानको ११ बजेको थियो। खाना खाएर बजार निस्कँदा साढे १२ बज्यो। यो वर्ष फागुनको पहिलो हप्तासम्म पानी परेको थिएन। तर मौसम भने पानी परेपछिको जस्तै सफा थियो। यस्तो बेलामा च्छोरोल्पा जाँदा गज्जबै होला भन्ने लाग्यो।

भर्खरै पुगेर आएका साथीहरूसँग खर्च र अन्य विषयमा बुझ्न फोन गरें। पुष्कर महत, जीवन लामा र देवराम बुढाथोकीसँग गफिंदा उनीहरूले १०-१२ हजार रुपैयाँ खर्च हुन सक्ने जानकारी दिए। देवरामले अहिले अफ सिजन भएकोले जान उपयुक्त नहुने सुझाए। खल्तीमा ५ सय जति थियो होला, १० हजार जति खर्च जोहो गरेँ।

कोठाबाट केही लुगा र सामग्री लिनका लागि आउँदा पदम पाठकसँग भेट भो। उनले जगत गुरुसँग भेटाउने कुरा गरे। मैले उनलाई च्छोरोल्पा जान लागेको बताएँ। उनले मलाई गाली गरे, ‘नहुने कुरा नगर।’

कोठामा पुगेर पानीको बोत्तल र एक जोर लुगा लिएर बस चढें। बस झ्याकुतिर जाने रहेछ। सिंगटीमा झरेपछि मैले त्यहाँका साथीहरूसँग सम्पर्क गरें।

बोलेरोहरू सामान लिएर गाउँतिर जाँदै थिए। एउटा बोलेरो खारेसम्म जाने थियो। मैले त्यसमा जाँदा लामावगर पुगिन्न भन्ने सोचें। बोलेरो अगाडि गइसकेपछि लाग्यो, त्यसमा जाँदा पनि धेरै पर त पुगिन्थ्यो।

म हिंड्दै अगाडि बढिरहेँ। सिंगटी बजारबाट अगाडि सामुदायिक वनमा आगो लागिरहेको थियो। मैले त्यसको फोटो खिचें। अझ अगाडि बढ्दा बस्नेत एकेडेमीको बस आयो। त्यो भोर्लेतिर लाग्यो। म भने भोर्लेमा बन्दै गरेको जलविद्युत आयोजना हेर्दै अगाडि लागें।

माथिल्लो तामाकोसी जलविद्युत परियोजनाका लागि नदीको किनारैकिनार भिर काटेर बाटो बनाइएको थियो। त्यसकै छेउमा बिग्रिएको डोजर थियो। त्यो डोजर आगजनी गरिएको भन्ने मैले कतै सुनेको थिएँ। मैले त्यसको पनि फोटो खिचें।

वर्षायाममा भोर्लेको झरना यस क्षेत्रकै आकर्षणको केन्द्र हो। यसको तस्वीर लिन आउनेहरूको ताँती लाग्छ। अहिले भने यो थोपा थोपा पानी चुहिने अवस्थामा थियो। यो ठाउँ पार गरेपछि म तामाकोसी पाँचौं आयोजनाको पावर हाउस रहने स्थानमा पुगें। त्यसको ठीक पारीपट्टी सुरिदोभानमा अर्को जलविद्युत आयोजना सञ्चालनमा रहेको थियो।

जामुने पुल पुग्नै लाग्दा एक्लो घर भेटियो। घरकी महिला चकलेटको बट्टामा रायोको गुन्द्रुक खाँद्दै थिइन्। एउटी छोरी केही पकाउँदै थिइन् भने अर्की पढ्दै थिइन्।

जामुने पुलको मुखैमा रहेका पसलहरू खुल्लै थिए। पुल कट्नै लाग्दा पल्लो भित्तामा केही मानिसहरू देखिए। सुँगुरलाई भाँडामा केही खान दिएर एक युवक गर्धन सुम्सुम्याउँदै थियो। उसको अर्को हातमा खुकुरी थियो। एकजना महिला भन्दै थिइन्, ‘त्यत्ति मोटो गर्धन यो खुकुरीले छिन्दैन है।’

त्यहाँ नजिकै रामेछापको फलाम प्रयोग गरेर बनाइएको पुरानो पुल थियो। । त्यसको फोटो खिचेर अगाडि जाने सोच्दै थिएँ। बोलेरो आयो। मैले हात दिएँ। बोलेरो जगतसम्म जान लागेको रहेछ। भित्रपट्टी ठाउँ थिएन। म बाहिरै बसेँ। बोलेरो आफ्नै गतिमा दौडियो। पुलको फोटो खिच्न भ्याइएन।

दाना झार्न मन्थलीमा बोलेरो रोकियो। मैले पनि दाना झार्न सहयोग गरें। भर्खरै झारेको दाना एक महिलाको रहेछ जसको अनुहारभरी पुरुषको जस्तै रौं थिए । उनले गाउँमै कुखुरापालन गरेकी रहिछन्। उनका बारेमा धेरैअघि समाचार आएको थियो।

गोगर बजारमा निस्कँदा रात परिसकेको थियो। एकछिन म स्थानीयहरूसँग गफिएँ। सिंगटीमा रहेको गौरीशंकर विद्यालयको बस मेरो नजिकमै थियो। यहाँबाट ९-१० जना विद्यार्थी त्यो विद्यालयमा पढ्न जाने रहेछन्। मसँग कुरा गर्ने बालिकाले आफू स्यालुमा रहेको विद्यालयमा पढ्ने बताइन्।

देउलाङ मन्दिर एक घण्टा टाढा रहेछ। बिहानै पुगेर फर्कने योजना बनाएँ ।

दोस्रो दिन ( फागुन २०७९)

देउलाङ मन्दिरका बारेमा चिरञ्जीवी मास्केले धेरैपटक लेखेका छन्। बिहानै म मन्दिरतिर उकालो लागें। बाटो सिमेन्ट ढलान गरेर बनाइएको रहेछ। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनले बाटो पछ्याएको थियो वा बाटो पछ्याउँदै प्रसारण लाइन गएको थियो यसै भन्ने अवस्था थिएन। दुवै सँगसँगै थिए। गाउँ धेरै नै भिरालो थियो।

३० डिग्रीभन्दा भिरालो जमिन बसोबासका लागि योग्य मानिन्न भन्ने सुनेको थिएँ। मेरो अनुमानमा यो ठाउँ ४५ डिग्रीभन्दा बढी नै भिरालो थियो। मान्छेहरू वर्षौंदेखि बस्दै आइरहेका छन्। भिरालो जमिनमा पर्खाल लगाएर खेतिपाती गर्दै आइरहेका छन्। यहाँ भर्खरै पनि बारी बनाउन ढुङ्गाका पर्खालहरू लगाएको देखियो। मैले केही तस्वीर पनि लिएँ। अनि समाजशास्त्री चैतन्य मिश्रले भर्खरै भनेको कुरा सम्झिएँ। त्यो सामग्रीमा उनले भाग्यवादका बारेमा नयाँ तर्क अघि सारेका छन्।

‘...नेपालमा गएको २–४ सय वर्षमा कस्ता मान्छे रहे भने पहाड फोरेर घर र खेतबारी बनाए, पूर्वदेखि पश्चिमसम्म। कल्पना गर्नुस्, यति धेरै कान्लाबारी संसारभरि नै छैन। पेरुमा पनि यो भन्दा कम छ। सबैले पहाडमा अलिअलि कान्लो त बनाउँछन् तर नेपालमा जति कान्लो कहिँ छैन। यसरी पहाड फोरेर बस्ती र खेतबारी बनाउने मान्छे कसरी भाग्यवादी हुनसक्छ? …’ मिश्रका तर्क सम्झिएँ ।

गाउँ कटेपछि जंगल छिरियो। बाटामा भेटिएका केही महिलाहरूसँग मन्दिर जाने बाटो यही हो भनेर सोधें। उनीहरूले हामी त बिहेमा जान लागेको भनेर जवाफ दिए। मैले पुनः दोहोर्‍याएर सोधें। उनीहरूले दोहोर्‍याएर उही जवाफ दिए। त्यसपछि मैले थप सोधिनँ। उनीहरू मेरो नजिकैबाट जाँदा नाकमा रक्सीको गन्ध ठोकियो।

उनीहरू छुटेपछि गोगरतिर जान लागेका बालबालिका भेटिए। बाटो सोधेर अगाडि बढिरहेँ ।

जंगलमा भिर भएका ठाउँमा छेउमा बार समेत बनाइएको रहेछ। पारी गाउँ पुग्नै लाग्दा वृद्धा र युवती भेटिए। नातिनी बज्यै हुँदा हुन्। नातिनी मोबाइलबाट गीत सुन्दै थिइन्। मैले उनीहरूलाई मन्दिर कति टाढा होला भनेर सोधें। बज्यैले अब एक बिसौनीमा मन्दिर पुगिने बताइन्।

भिरालो जमिनमा साँघुरा बारीका पाटा हुँदै अगाडि बढेँ । सिमेन्ट प्रयोग भएको बाटो सकियो। गाउँ सुरु भयो। कुनै कुनै बारीका पाटामा गाइबाख्रा बाँधिएका थिए। अलिक मास्तिर मकै छर्न लागेका मानिसहरू भेटिए। अन्दाजी २-३ वर्षजतिकी सानी नानी आमाहरूसँग बारी खन्न सिक्दै थिइन्। यो वर्ष हिउँदमा अहिलेसम्म पानी परेको थिएन। सबैतिर सुख्खा थियो।

मैले मन्दिर कति टाढा होला भनेर सोधें। उनीहरूले माथितिर देखाउँदै भने, ‘ऊ त्यहीँ हो आइपुग्यो ।’

मैले सोधेँ, ‘मकै उम्रेला र ?’ उनीहरूले कुनै जवाफ दिएनन् वा टाढा भएका कारण मैले सुनिनँ। आफ्नो दैनिकी उनीहरूले छाडेका थिएनन्।

अलिक मास्तिर एकजना युवा भेटिए। मैले मन्दिरका बारेमा कुरा गरें। मन्दिर आसपासमा तामाङ समुदायको बस्ती रहेछ। योञ्जन थरका तामाङ मन्दिरका पुजारी रहेछन्।

मन्दिरको अलिक तलतिर सडक पुगेको रहेछ। मन्दिर वरपर चिलाउने, बाँझ र खस्रुका ठूला रुख थिए। मन्दिरको छेउमै धारामा पानी निरन्तर आइरहेको थियो। मन्दिर पुरातत्व विभागबाट निर्माण गरिएको मैले अनुमान गरें किनभने त्यहाँ सुकीको प्रयोग गरिएको थियो।

मन्दिरबाट गौरीशंकर हिमाल तुँवालोले मधुरो मधुरो देखिएको थियो। दर्शन गरेपछि मैले मन्दिरका केही तस्वीरहरू लिए। मन्दिरको कथा स्वस्थानीसँग जोडिन्छ। महादेवले सतिदेवीलाई हिमालय पर्वतका घरबाट ल्याएपछि राखेको खरको टहरा नै मन्दिर हो भन्ने किंबदन्ती रहेको छ।

फर्केर गोगर आउँदा ९ बजिसकेको थियो। माथिल्लो तामाकोसीको भूमिगत जलविद्युत उत्पादन गृह हेर्न चाहेको मैले अघिल्लो दिन नै पदमलाई सुनाएको थिएँ। पदमका अन्य साथीहरू पनि आएका हुँदा हामी सँगै विद्युत गृह गयौं।

गोगरमा रहेको सुरुङको मुखबाट १ किलोमिटर भित्र छिरेपछि अर्कै संसार रहेछ। त्यहाँभित्र चार तल्ला भएको संरचना निर्माण गरिएको रहेछ। पदमका साथीहरू पनि सिभिल इञ्जिनियरहरू नै भएकाले उनीहरूको कुराकानी धेरै प्राविधिक थियो।

माथिल्लो तामाकोसी आयोजनाले नेपालमै विकासका क्षेत्रमा नयाँ मानकहरू स्थापना गरेको छ। स्वदेशमा नै ठूलो पुँजीका आयोजना निर्माण सम्भव छ भन्ने विश्वास दिलाएको छ। यो आयोजना यसरी नेपाली पुँजी परिचालन गरेर नेपालीकै नेतृत्वमा बन्दै बन्दैन भनेर अगाडि डाक्टरको फुर्को गाँसेकाहरूले सार्वजनिक रूपमै ग्यारेन्टी गरेका थिए। ती विदेशी थिएनन्। नेपाली नै थिए, सबैले पत्याएका अर्थशास्त्रीहरू!

तामाकोसी जलविद्युत परियोजनाको प्रवेशद्वार ।

अनेकन अविश्वास छिचोल्दै तामाकोसी निर्माण सम्पन्न भयो। अहिले विद्युतको माग उच्च भएका बेला बिहान र साँझमा चार घण्टासम्म जडित क्षमता ४ सय ५६ मेगावाट बिजुली यहाँबाट उत्पादन हुन्छ। यो क्षेत्रमा अरू योजनाहरू पनि धमाधम बन्दै छन्।

अहिले यो क्षेत्रमा तामाकोसी बाहेक नै करिब १ सय मेगावाट क्षमताका विद्युत आयोजनाहरू सञ्चालनमा छन्। ४ सय मेगावाट क्षमताका विद्युत आयोजनाहरूमा काम सुरूवात भएको छ। यी योजना बन्न बाटो खोलिदिएको यही तामाकोसी आयोजनाले हो। नत्र यो ठाउँमा बाँदर लड्ने भिर छिचोलेर अहिल्यै बाटो के पुग्थ्यो होला र !

कसका लागि यो भिर काटिन्थ्यो होला र ? देशका लागि सोच्ने नेतृत्व भए तिब्बत जोड्ने यो बाटो बनाउन तामाकोसी किन पर्खनुपर्थ्यो र ! अझै पनि विभिन्न बहानामा चीन जोड्ने बाटो बन्ने काम रोकिएकै छ। दोष पाउने त विभिन्न पक्ष छँदैछन्।

मलाई छ्योतछ्योत जानु थियो। आयोजनाकै गाडी लामाबगर जाने रहेछ। म त्यसैमा चढेँ ।

छ्योतछ्योतको झरनाअघि म झर्नका लागि गाडी रोकियो। मलाई सिमीगाउँ जानु थियो। त्यहीबाट त्यो बाटो सुरु हुन्थ्यो। म झरेको ठाउँभन्दा अलि अगाडि सिमिगाउँ पुग्न २ घण्टा लाग्ने जानकारी लिखएको बोर्ड थियो। त्यो म भएको ठाउँभन्दा ६ सय मिटर अग्लो ठाउँमा पर्थ्यो। म उभिएको ठाउँ समुद्री सतहबाट १ हजार ३९८ मिटर उचाइमा थियो जहाँ पुग्नका लागि २.४ किलोमिटर खुट्टाले नाप्नुपर्ने थियो।

ढुङ्गाको सोलिङ गरिएको बाटोमा अलिक अगाडि लाग्नेबित्तिकै रिगु र सिमिगाउँ जाने बाटो छोटियो। तामाकोसी नदीको किनारै किनारतिरको बाटो रिगु पुग्थ्यो। झोलुंगे पुल तरेपछि सिमिगाउँ पुगिन्थ्यो।

झोलुंगे पुल तरेपछि उकालो सुरु हुनै लाग्दा बाटोको छेउमा पहरामा बौद्ध देवताको तस्वीर कोरिएको थियो। बाटो असाध्यै उकालो थियो। भिरको बाटोमा छेउमा फलामे बार थियो। बाटोमा सिमेन्ट प्रयोग गरेर सिँढी निर्माण गरिएको थियो।

पहिला छेउमा बार नहुँदा र व्यवस्थित सिँढी नहुँदा यो बाटो कस्तो थियो होला। कसरी स्थानीयहरूले दैनिक आउजाउ गर्थे होलान् ? उँभो हेर्दा टोपी खस्ने भिर। तल सुसाइरहेको तामाकोसी। पारिपट्टी कतै कतै १-२ घर।

मैले हिंड्न सुरु गरेको ठाउँ सिधै तल देखियो। बाटोमा चौतारोसँगै धारा भेटियो र सँगै भेटियो धारा बनाउनेको नाम पनि ।

 

सिमिगाउँ: पराईको पाखुरामा विकास

अलिक माथि पुगेपछि एकजना अधवैंशे मानिस झर्दै गरेको भेटेँ। उनले सिमिगाउँ पुग्न आधा घण्टा लाग्ने बताए। त्यसपछि मोबाइलमा गीत सुन्दै ओरालो झरिरहेकी एकजना युवती भेटिइन्। उनले २० मिनेटमा पुगिने बताइन्।

अलिक माथितिर चौतारीमा भारी बिसाएर २ जना सुस्ताइरहेका थिए। उनीहरूका भारीमा कोक ड्यु लगायतका पेय पदार्थ र चाउचाउ बिस्कुट लगायतका खानेकुरा थिए। यो सामान सिमिगाउँ पुर्‍याउँदा १ केजीको सत्तरी रूपैयाँ पर्ने रहेछ। मैले मोबाइलमा त्यसको हिसाब गर्दा ठूलै अंक पर्ने थाहा पाएँ ।

उनीहरूलाई छाडेर अगाडि बढ्दा केही मानिस आलु बोकेर ओरालो लाग्दै थिए। आलु उनीहरूले अन्नसँग साटेका हुँदा हुन्। अब उनीहरूले कसैले पाथीको २ सय भने, कसैले २ सय ५० मा बेच्ने बताए ।

धेरै अगाडि मेरो गाउँबाट पनि सिमिगाउँमा मानिसहरू आलु लिन आउँथे। पैसाभन्दा अन्न बोकेर आउँथे। एकपाथी चामलमा ४ पाथी आलु पाइन्थ्यो। अन्य अन्नमा अलिक कम। चामलको महत्त्व कहिले घटेको छ र !

घरबाट हिंडेको चार दिनमा गाउँलेहरू गाउँ पुग्थे। यहाँको आलुको बिउले धेरै उत्पादन दिन्थ्यो। मलाई पनि यो काम गर्ने रहर त जागेथ्यो त्यस बखत। तर घरबाट कहिल्यै अनुमति नै मिलेन।

म गाउँमा छिरेको थिएँ। अलिक मास्तिर एक घरको आँगनमा त्रिपालमाथि कोदो कुटिरहेको देखेँ । ३-४ वटा ग्याल्वी भित्तामा ठड्याइएका थिए। घर ढुंगा मात्रैको पर्खालले घेरिएको थियो।

माथितिर केही मानिसहरू जम्मा भएको तलैबाट देखेको थिएँ। त्यहाँ पुरानो चैत्य मर्मत हुँदै रहेछ। ३ लाख बजेटको काम भैरहेको उनीहरूले बताए। ‘सिमेन्ट किन्न ८ सय पर्छ सर यहाँ बोकेर ल्याउँदा ९ सय ।’ उनीहरूमध्ये कसैले सुनायो। त्यसैकारण होला उनीहरू चैत्य छेउकै चौतारो ढुङ्गा मात्रै प्रयोग गरेर बनाइरहेका थिए।

अलिक माथितिर एउटा होटलको बोर्ड देखियो। बोर्डका छेउमा परम्परागत मौरीका घार थिए। मैले तिनको फोटो खिचें। होटलको छेउमा चुनावमा प्रयोग गरेका झण्डाहरू अझै थिए। शहरमा त आयोगले निर्वाचनको बेला प्रयोग भएका सामग्री हटाउ भनेर पत्र काटेर बस्छ। यो त गाउँ, सडक छाडेपछि कम्तिमा दुई घण्टा पैदल दूरीको।

लामो लामो काठ बोकेर आउँदै गरेका मानिस भेटें। यो अलिक अप्ठ्यारो थियो। उनलाई मैले काठका बारेमा सोधें। काठ गुम्बा पुनर्निर्माणका लागि ल्याइएको रहेछ। त्यो सालको काठ गुम्बासम्म पुर्‍याउँदा उनले ५ हजारजति पाउने रहेछन्।

अलिक मास्तिर अर्को काठ बोक्ने मानिससँग कुरा गरेपछि त्यो टिम स्थानीय हैन भन्ने थाहा पाएँ। त्यो ठेकेदारले काम गर्न ल्याएका खोटाङतिरको समूह रहेछ।

तलदेखि मैले यो गाउँमा ५० जति घर देखेको थिएँ। बाटामा हिंड्दा नदेखिने अरू पनि होलान्। यो गाउँका मानिस काम खोज्न पक्कै अर्को ठाउँमा पुगेका होलान्। यहाँ काम गर्न अन्यत्रबाट मानिस आएजस्तै।

समयमा पानी नपरेका कारण सबैतिर सुख्खा थियो। तैपनि गाउँ हरियाली देखिन्थ्यो। मानिसहरूले बारीमा गहुँ जौ लगाएका थिए। सिञ्चाइको प्रबन्ध नभएका कारण त्यो भनेजस्तो फलेको थिएन।

एकजना स्थानीयले निगालोको भकारी बुनेर चौपायाहरू बाँधेका थिए। मैले उनीसँग सजिलै नेपालीमा संवाद गर्न सकिनँ । तर तामाङ भाषामा सहजै गफिए ।

सिमिगाउँ लेखेको बोर्ड भेट्दा १२ बजेर ३९ मिनेट भएको थियो। काठको फल्याकले छाएको घर देखें। एउटा तस्वीर खिचें।

म सिमिगाउँको सिरानमा पुग्दा त्यहाँ केही काम भैरहेको थियो। सायद बौद्ध धर्मको कुनै कार्यक्रममा लामाहरू आएका थिए ।

गाउँको टुप्पामा पुग्दा एकजना युवा होटलमा छारो मार्नका लागि पानी हाल्दै थिए। त्यो पानी खान मिल्ने हो कि होइन भनेर मैले सोधें। उनले खान मिल्ने हो भने। त्यो होटलका उनी मालिक रहेछन्।

अब तेर्सो बाटो सुरू भो। ढुंगा बोक्ने मानिसहरू बाटोमा भेटिए। स्वास्थ्य संस्थाको नयाँ भवन भर्खरै बनेको जस्तो देखिन्थ्यो। त्यहाँ ढुंगा बोक्ने मानिसहरूलाई मैले च्छोरोल्पा जाने बाटो सोधें। एक युवाले भने, ‘त्यही बाटो जान्छन्। मचाहिँ यहाँबाट अगाडि गएको छैन।’ मैले उनको घर सोधें। उनी साविक चंखु गाविसका रहेछन्। उनी अघि भेटिएका जस्तै अर्को जिल्ला नभई पालिकाकै अर्को वडाका रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?