+
+

सपनाको अवसान, महामारी र हामी

शिव रिजाल शिव रिजाल
२०८० वैशाख ५ गते १६:२०
शिव रिजाल

सपनाको अवसान हुँदा हाम्रो मस्तिष्क हलुका हुनुपर्ने हो । तर अचम्म आफ्नो अवसानपछि सपनाहरु त एसिडजस्तो हुने रहेछन् । पोल्न थाल्ने रहेछन् । विशृंखलित मस्तिष्क भनेको सपनाहरु एसिड भएर जमेको अवस्था हो कि त सायद ।

वीरेन्द्रप्रताप कार्की तीस–चालीस वर्षदेखि विभिन्न कम्पनीका उत्पादनहरु बेच्दै आइरहेका छन् । साठी वसन्त पार गर्दा उनका सपनाहरु साकार हुनुपर्ने थियो, तर नियतिले उनलाई एउटा अक्करे भीरको डिलमा उभ्याइदिएको छ । यो घर उनको हो । तीसौं वर्षदेखि बैंकलाई किस्ता बुझाउँदा पनि जुन अझै आफ्नो भइसकेको छैन । यो रेफ्रिजेरेटरको किस्ता पनि बल्ल तिरिसकियो तर यसको मर्मतसम्भार गर्नुपर्ने आर्थिक भार थपिएको छ उनलाई ।

उनी चढ्ने यो कारको कथा पनि उस्तै छ । घरको यो छानो अब चुहिन थालेको छ । पुँजीवादी अर्थतन्त्रले गाँजेको यो समाजमा कार्की केवल एउटा उपभोक्ता मात्र हुन्, पेशाले सेल्सम्यान भए पनि । कार्कीका दुई छोरामध्ये जेठो चाहिं अझै पनि संघर्षरत छ । आफ्नो जेठो छोरोलाई कार्की एउटा प्रख्यात खेलाडी भएको हेर्न चाहन्थे । एउटा सफल सेल्सम्यान भएको हेर्न चाहन्थे । तर सोचेजस्तो भएन । कान्छो छोरो आर्थिक रुपले सफल भएको छ तर यौनेच्छा पूरा गर्नुलाई ऊ जीवनको उद्देश्य मान्दैछ ।

त्यही भएर विचरा यो बाउ पात्र जीवनमा कहाँ कहाँ गल्ती भए छ त हैरान छन् । निकै वर्षअघि दाजुले अफ्रिकामा व्यापार गर्न आऊ भन्दा ठाडै इन्कार गरेका थिए उनले । यो पनि सम्झनामा आउँछ । युवा जोश थियो त्यो बेला । काठमाडौं केन्द्रित नेपाली बजारमा आफ्नो भविष्य सुनिश्चित हुने उनलाई पक्का थियो । सहृदयी छिमकीले पनि जागिर दिएका थिए तर उनले खान मानेनन् । जीवनका यस्तै उत्कर्ष पलहरुमा आफूले लिएका निर्णयहरु अनि बोलेका संवाद अहिले उल्का खसे झैं उनको मस्तिष्कमा खस्न आइपुग्छन् । दुःखद् कुरा सम्झना उनलाई मुलायम भएर आउँदैनन् । यसरी आफ्नै विगतका पलहरु पुनः चिथोर्न र गिज्याउन आउँछन् उनलाई । उनी रन्थनिन्छन् । त्यही भएर उनि बर्बराउन थाल्छन् । उनकी श्रीमती र छोराहरु सबै जना हैरान हुन्छन् । कथा एकदमै मार्मिक छ । उनको कथा हेर्दै जाँदा हामीलाई जीवन साँच्चिकै त्रासदीमय छ भन्ने बोध हुन थाल्छ ।

काठमाडौंको थापागाँउस्थित मन्डला नाटकघरमा प्रदर्शन भइरहेको नाटक ‘एउटा सपनाको अवसान’को कथा हो यो । कलाकार अनुप बरालको निर्देशन रहेको अमेरिकी नाटककार आर्थर मिलरको प्रसिद्ध नाटक डेथ अफ अ सेल्सम्यानको नेपाली भाषामा अनुदित यो नाट्य प्रस्तुतिलाई समालोचकीय दृष्टिकोणले महत्वपूर्ण भनी मान्न सकिने निकै बलिया आधारहरु छन् ।

एउटा सामान्य व्यक्ति पनि त्रासदीको नायकजस्तै अर्थहरुको एउटा पुञ्ज हुन सक्छ । बरालले यो महत्वपूर्ण विषयलाई बडो जतनका साथ दर्शकसमक्ष ल्याएका छन् । नाटकले उजागर गर्ने त्रासदी समाउन उनले प्रमुखपात्रको मस्तिष्कमा चलायमान विम्बलाई प्रस्तुतिको मुख्य आधार मानेका छन् ।

पहिलो त जटिल रंगविधानले भरिएको छ, यो नाट्य प्रस्तुति । बरालका विद्यार्थी कलाकार रोयदीपले अभिनयमा उतारेको नायक पात्र चलिरहेको संवादको बीचमा एक्कासि आफ्नै मस्तिष्कमा भूत झैं बोलाउन आउने आवाजले तानिएर अर्कै लय र सन्दर्भमा हराउन थाल्छ । जीवनको एउटा विद्रूप रुप प्रकट भएको हामी देख्न थाल्छौं । सपनाको अवसान हुँदा ऊ आफ्नै जीवनको खाडलबाट प्रतिध्वनित हुने आवाज सुन्न थालिरहेको छ हिजोआज । प्राचीन दार्शनिकहरुले त भनेकै थिए जीवन त्रासदीमय छ । मिलरले त्यही भने जीवन उत्तिकै त्रासदीमय छ आधुनिक समयमा पनि ।

एउटा सामान्य व्यक्ति पनि त्रासदीको नायकजस्तै अर्थहरुको एउटा पुञ्ज हुन सक्छ । बरालले यो महत्वपूर्ण विषयलाई बडो जतनका साथ दर्शकसमक्ष ल्याएका छन् । नाटकले उजागर गर्ने त्रासदी समाउन उनले प्रमुखपात्रको मस्तिष्कमा चलायमान विम्बलाई प्रस्तुतिको मुख्य आधार मानेका छन् । नाटकमाथिको यो बुझाइ एउटा सामर्थ्य हो उनको । एउटा दृश्यमा चलिरहेको संवादको बीचमा नै एक्कासि अर्को दृश्य र पात्र देखिन थाल्छन् । अझ निकै वर्षअघिको सम्झना आउँदा स्वयं प्रमुखपात्र नै अहिलेको साठी वर्षबाट अधबैंसे उमेरकमा  पुगेका देखिन्छन् । भुमरीजस्तो एक्कासि उठेर आउने सम्झनाका चेपोमा पर्ने पात्रको मनोदशा समाउने चुनौती पक्कै पनि चानचुनै  होइन । सबभन्दा पहिला उनले प्रमुख भूमिका निभाउन उत्रेका कलाकार रोयको अभिनय क्षमतामा निकै ठूलो दाउ लगाएका छन् । यो प्रमुख पात्रलाई निर्देशक बरालले ह्याट दिएका छन् । कोट दिएका छन् । यो पात्र जसै विगतले तानिएर बर्बराउन थाल्छ, ऊ तनक्क तन्किएर हिंड्न थाल्छ । उसको शिरमा ह्याट देखिन छाड्छ । अनि जब ऊ वर्तमानको आक्रान्त समयमा फेरि फर्कन्छ, उसको शरीर हल्का कुप्रिन्छ, उसको टाउकोमा ह्याट पुनः देखिन थाल्छ ।

अग्लो कदका कलाकार रोयको अभिनय क्षमताले यहाँ काम गरेको देखिन्छ । जीवनले थकित, आफ्नै अभिमानको जाँतोमा पिंधिदै आएको यो पात्र हेर्दा हेर्दै जवानीले चुर अनि आत्मविश्वासले भरिपूर्ण भएको देखिन थाल्छ । रोयले आफूलाई दिएको पात्रले माग्ने फरक–फरक उमेर र मनोदशालाई कुशल ढंगमा उतारेका छन् । उनको फराकिलो अनुहारमा उमेर तलमाथि गर्दा आँखा र गालामा चलायमान भावहरु प्रशंसनीय छ ।

रोयका कदमले लिने बांगोटिंगो आयाम र कम्मरमाथि थुप्रेर अचल बसेको शरीर, कुमबाट उछिट्टिएर अगाडि बढेको टाउको, यी सबले जीवनको एम्बुसमा परेको पात्रको बेहोसी अवस्थालाई जीवन्त रुपमा दर्शक समक्ष ल्याएको प्रतीत हुन्छ । यसरी रोयले निर्देशक बरालले उठाएको जोखिमलाई न्यूनीकरण गर्न सफल भएका छन् ।

वीरेनप्रताप कार्की विगतका प्रसँग सम्झेर बर्बराउँदै अर्को समय र स्थानमा फरक उमंग लिएर प्रस्तुत हुँदा उनका छोराहरु पनि युवावस्थामा फर्कन्छन् । यी दुई छोरा पात्रहरु हुर्केको देखाउन बरालले चार जना कलाकारहरुलाई मञ्चमा ल्याएका छन् । सनुपप्रताप, जेठो छोरो अलि सोझो र निर्णय लिन नसक्ने संवेदनशील स्वभावको छ । कान्छो छोरो सगुनप्रताप भने केटीहरुलाई मोहित पार्ने कामुक स्वभावको छ । विद्यालय पढ्दाका यी युवा पात्रहरु कलाकार जीवन गौतम र अभिषेक खड्काका अभिनयमा जीवन्त देखिन्छन् । वर्तमान समयमा यी छोरा पात्रहरु तीसको दशकमा पुगिसकेका छन् । दिव्यदेव पन्त र विकास जोशीको अभिनयमा यी छोरा पात्रहरुले बोकेको जीवन स्पन्दन गौतम र खड्काले छोडेको जीवनकै निरन्तरता हो भन्ने आभास पनि प्रस्तुतिले दिन्छ । पन्तको अग्लो शरीर र हस्की आवाजले रच्ने क्यान्भासमा जेठो छोराको जीवन सुन्दर ढंगमा समातिएको छ । पात्रले बोकेको संवेदनशीलतालाई पन्तले बडोे कुशलतापूर्वक उतारेका छन् ।

आफने भाइसँग बोल्दा उनले देखाउने ढाडस, बाउप्रति रहेको उनको तिक्तता भरिएको सम्बन्ध, बेलाबेलामा एक्लो पार्ने मौनताले यो पात्रलाई जीवन्त बनाएको छ । पन्तले गरेको यो कामलाई प्रस्तुतिकै सबभन्दा प्रशंसनीय पाटो मान्न सकिन्छ ।

दीया मास्केले लीला कार्कीको चरित्रमाथि बनाएको पकड सराहनीय छ । उच्छवासबिहीन परिधानमा बिना कुनै नाटकीयता थपी यो पात्रलाई मञ्चमा उतार्नु आफैंमा चुनौतीपूर्ण काम हो । शेखर चापागाईं र सन्देश शाक्यले उतारेका पात्रहरु क्रमशः बन्धु र चन्द्रवीरले नाट्य प्रस्तुतिलाई थप जीवन्त र स्तरीय बनाएको छ । सेतो रंगको कोट र पाइन्ट, कालो ह्याट र हातमा ब्रिफकेश लिएर बन्धु पात्र मञ्चमा आउँदा नायक पात्र स्वयं वीरेनप्रतापको सम्झनाबाट ओर्लेर आएको प्रतीत हुन्छ बेलाबेलामा । त्यस्तैगरी वीरेनप्रतापको छिमेकीको भूमिकामा शाक्यले उतारको चरित्र अर्को प्रशंसायोग्य कामको रुपमा लिन सकिन्छ । मोटो ज्यानको यो पात्र वीरेनप्रतापको मुड बुझ्छ । त्यही भएर उसले गर्ने वार्तालाप निकै चुस्त र घोचपेचले भरिएको छ । शाक्यको संवादशैली निकै राम्रो छ ।

गएको एक दशकदेखि नाटकका लागि उत्कृष्ट गीतहरु लेखेर समकालीन नेपाली रंगमञ्चमा नयाँ आयाम थप्न सफल कवि विप्लव प्रतीकलाई यस नाटकको अनुवाद गर्ने काम भने त्यति सजिलो नभएको भान हुन्छ । दिव्य देव, शेखर चापागाईं र सन्देश शाक्यले बोल्ने संवाद स्वभाविक लाग्छन् । दीया मास्केले स्थानीय लवजमा बोल्दा संवाद स्वभाविक भएर गएको भान हुन्छ । मुख्य पात्र वीरेनप्रतापले बोल्ने संवाद भने बेलाबेला अस्वाभाविक सुनिन्छन् ।

कोरोना महामारीले थपेको चरम आर्थिक संकटको संघारमा यो नाटक हेर्न पाउनु दर्शकका लागि आफैंमा एउटा अवसर हो । आर्थिक रुपले चुनौतीमय यो समयमा नाट्य उत्पादनमा लगानी गरेर कलाकार गोविन्द पराजुलीले सबैको मन जित्न सफल भएका छन् । नाट्य उत्पादकको रुपमा उनले कमाएको अनुभव अब एउटा चर्चा गरिनुपर्ने विषय भएर गएको छ । आधुनिक सहरमा आर्थिक संघर्ष गर्दागर्दै हार मानेर जीवन सिध्याउन पुग्ने नायक पात्रको कथामा आफ्नो लगानी गरेर जुन सन्देश पराजुलीले दिएका छन्, यो जोशको तारिफ गर्नैपर्ने हुन्छ ।

अन्त्यमा, यो प्रस्तुतिलाई अनुप बरालको उत्कृष्ट कामका रुपमा लिनुपर्छ । यो प्रस्तुतिले उनमा रहेको निर्देशकीय क्षमतालाई व्यापक बनाएको छ । लामा र गम्भीर विषय भएका विश्वप्रसिद्ध नाटक पनि कसरी सफल ढंगले निर्देशन गर्न सकिन्छ ? रंगमञ्चका विद्यार्थीका लागि यो थाहा पाउनुपर्ने हुन्छ, अनुभव गर्नुपर्ने हुन्छ ।

कपडाको तान बुनेजस्तो हो नाटक निर्देशन गर्ने काम पनि । कलाकारहरु सबै तानमा बाँधिएका डोरी हुन् । निर्देशक बरालले आफ्ना कलाकार विद्यार्थीहरुलाई नाट्य प्रस्तुतिमा कलात्मक संरचना कसरी भर्न सकिन्छ भन्ने सिकाउन पनि यो नाट्य प्रस्तुतिलाई लामो समयसम्म निरन्तरता दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?