३ वैशाख, काठमाडौं । अनामनगर बस्दै आएकी बबिता राई आइतबार बिहानै बानेश्वर तिर निस्किएकी थिइन् । केही दिनदेखि धुम्म परिरहेको काठमाडौंको आकाशमा घाम देखिएको थिएन, अचानक अँध्यारोजस्तै हुन थाल्यो ।
आँखा पिरो भएपछि मिच्दै घर फर्केकी उनले अनलाइनखबरसँग भनिन्, ‘बानेश्वरमा मात्रै होइन रहेछ, सबैतिर उस्तै पो रहेछ । घर पुग्दा अरुले पनि आँखा किन पोल्यो भन्दै थिए ।’
काठमाडौंमा पछिल्ला केही दिनमा वायु प्रदूषण अत्याधिक बढेको छ, जसका कारण काठमाडौंका बासिन्दाले बबिताकै जस्तो अनुभव गरिरहेका छन् ।
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ ।
कस्तो हावा, कति खतरा ?
काठमाडौंमा वायु प्रदूषण अचानक बढेको होइन र प्रदूषणका कणहरू एक दुई दिनयता आकाशमा जम्मा भएका पनि होइनन् । काठमाडौंको हावामा जंगलमा लागेको डढेलोको धुँवा पनि मिसिइरहेको छ । गत बिहीबार धुँवाको मात्रा अलि धेरै बाक्लिएको थियो ।
डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार वायु प्रदूषण बढ्नुमा डढेलोको धुँवाको ५० प्रतिशतभन्दा धेरै योगदान छ । हरेक बर्ष वैशाखको दोस्रो हप्ता डढेलो धेरै लाग्छ । त्यसपछि बिस्तारै घट्दै जान्छ ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शर्माका अनुसार यस वर्ष ५०० भन्दा धेरै ठाउँमा डढेलो देखिएको छ । जुन, विगतको वर्षमा भन्दा बढी हो ।
‘काठमाडौं मात्रै होइन, देशभर नै वायुप्रदूषण बढेको छ । पानी नपरी आकाशमा जम्मा भएको धुलो र धुँवा बाहिर निस्किन पाउँदैन’, शर्माले अनलाइनखबरसँग भने, ‘केही दिनसम्म यस्तै धुम्म नै रहिरहन्छ ।’
प्रदूषणले मानव स्वास्थ्यमा सिधैं असर गर्ने हुँदा चनाखो रहनुपर्ने उनको भनाइ छ ।
दुई सातायता वर्षा पनि हुन सकेको छैन । त्यसैले वायुमण्डलमा जम्मा भएको धुवाधुलो पनि हराउन सकेको छैन ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेल धेरै ठाउँका जंगलमा आगलागी हुँदा र धुलोका कणहरूसमेत त्यसमा मिसिएका कारण अहिले मौसम सफा हुन नसकेको हो ।
अहिले नेपालका धेरै स्थानहरूमा वायुमण्डल स्थिर अवस्थामा छ । हावा चलिरहेको छैन र यहाँको धुवाँ धुलो अन्यत्र फैलिन पाएको छैन, वायुमण्डलमा नै तैरिरहेका हुन्छन् ।
पछिल्ला दिनमा चितवन, पर्सा, बारा लगायतका क्षेत्रमा बढी डढेलो फैलिएको छ । तराइ, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो लागेको छ ।
पौडेलका अनुसार अहिले मध्य र पूर्वी भागमा वायु प्रदूषणको अत्याधिक समस्या देखिएको छ । ‘लामो समयदेखि पानी नपरेका कारणले वायुमण्डल सुख्खा छ । यस्तो अवस्थामा धुलोका कणहरु अत्यधिक हुन्छन् । त्यसमाथि पनि जंगलमा आगलागी पनि भइरहेको छ’, पौडेलले भने, ‘काठमाडौं त कचौराजस्तो छ । यसको भू–बनोट नै यस्तै भएकाले धुलो धुँवा सहजै निस्किएर जान पाएन ।’
अहिले भारतका कतिपय क्षेत्रमा पनि वायु प्रदूषण बढेको छ । ‘नेपालमात्रै होइन, छिमेकी भारतमा पनि यस्तै प्रदूषण देखिएको छ । त्यसको कारण यता पनि बढेको हुनसक्ने अनुमान हो’, पौडेलले भने ।
पौडेलका अनुसार स्याटलाइट इमेजबाट हेर्दा बारा, पर्सा र चितवनबाट बढी नै तुवाँलो निस्किरहेको छ ।
‘त्यो प्रदूषण वागमती करिडोरबाट काठमाडौं प्रवेश गरेकाले काठमाडौंमा अहिले तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ । हावा पहिलादेखि नै दूषित थियो । पानी नपरेको र आगालागी बढेले वायु प्रदूषण झन् थपिएको हो’ पौडेल भन्छन् ।
तर वायु प्रदूषण विज्ञ डा. भुपेन्द्र दासका नेपालमै लागेको डढेलोले मात्र नभई अन्यत्रबाट आएको धुँवाले पनि प्रदूषण बढाइरहेको हुनसक्छ ।
यस्तै वायु प्रदूषण बढ्नुमा डढेलो मात्रै कारक होइन । सरकारले धेरै धुँवा फाल्ने गाडीको नियन्त्रण पनि गर्न सकेको छैन । निर्माण क्षेत्रका काम व्यवस्थित हुन सकेका छैइनन् । ‘इँटाभट्टाहरूको धुँवा नियन्त्रण हुनै सकेन । सडक बनाउँदा काठमाडौंका हजारौं रुख काटिए । त्यसको सट्टा कहिल्यै अरु रूख रोपिएन’, डा. दास भन्छन्, ‘अब यो मुद्दा वातावरणवादीको मात्रै होइन । ’
‘वायु प्रदूषण एक साइलेन्ट किलर’
वायु प्रदूषणले मानव शरीरमा कति असर गर्छ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको फोक्सोको तस्वीरले प्रष्ट पार्छ । २४ चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रंग १० दिनमा फेरिएको छ । सुरुमा राख्दा सेतो रहेको फोक्सो अहिले कालो भएको छ (हेर्नुहोस् माथिको तस्वीर)।
छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपुर्याउने कुनै त्यस्तो अंग छैन । ‘वायु प्रदूषण साइलेन्ट किलर हो । यो देखिँदैन । तर, यसले पार्ने असर अत्यन्तै उच्च हुन्छ । यसले हाम्रो शरीरका प्रत्येक अंगलाई असर गर्न गर्छ,’ डा. पंगेनी भन्छन् ।
उसो त, नेपालमा सबैभन्दा धेरै सताउने रोगमा पर्छ श्वासप्रश्वाससम्बन्धी समस्या । आर्थिक वर्ष ०७८–७९ मा १६ लाखभन्दा बढी श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका बिरामी अस्पताल पुगेको स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्यांकले देखाउँछ ।
छाती रोग विशेषज्ञका अनुसार श्वासप्रश्वास समस्याको प्रमुख कारण नै वायु प्रदूषण हो । प्रदूषणको तत्काल असर दीर्घरोगी, बच्चा तथा वृद्धवृद्धामा देखिए पनि दीर्घकालीन रूपमा यसको असर सबैमा पर्ने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।
दुई हप्तायता अस्पतालमा श्वासप्रश्वासजन्य बिरामी बढेको डा. पंगेनी बताउँछन् । ‘श्वासप्रश्वास सम्बन्धी दीर्घ समस्या भएकालाई बढी फोक्सोमा असर गर्ने गरेको थियो’, पंगेनी भन्छन्, ‘तर, अहिले बढ्दो वायु प्रदूषणको कारणले धुमपान नगर्ने स्वस्थ मानिसमा पनि छाती तथा फोक्सोमा असर देखिने गरेको छ ।’
उनका अनुसार गाडी वा डढेलोको धुँवाले आँखा पोल्ने समस्या हुन्छ । धुलोका कणहरूले आँखा बिझाउने, चिलाउने जस्ता समस्या देखा पर्छन् । ‘२ माइक्रोग्राम भन्दा साना धुलो, वा धुँवाका कणहरू सिधै रक्तसञ्चारका माध्यमबाट मुटु वा मिर्गौलासम्म पुग्न पनि सक्छन्’ डा. पंगेनीले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक मानिन्छ । डब्लूएचओको एक तथ्यांकले १० मध्ये ९ जनाले उच्च स्तरको प्रदूषक भएको हावामा सास फेर्ने देखाएको छ । त्यसैगरी वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसहरूको मृत्यु भइरहेको डब्लूएचओको तथ्यांक छ ।
वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ ।
जस्तै पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सगसँगै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्याउँछ ।
‘वातावरण प्रदूषणका कारण श्वासप्रश्वासका समस्या विकराल बन्दै गएको छ । वातावरणमा भएका जीवाणु वा किटाणुले श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा संक्रमण गर्छ । जसका कारण दम, उच्च रक्तचाप, मिर्गौला बिग्रने जस्ता रोग चाँडै लाग्ने गरेका छन्’, डा. बम भन्छन् ।
वायु प्रदूषणका कारणले एलर्जी हुन्छ । एलर्जीको समयमै उपचार नगरे दम र खोकीको समस्या देखिने डा. पंगेनी बताउँछन् ।
दीर्घकालीन फोक्सोको रोग (सीओपीडी ) नेपालमा हुने मृत्युको ठूलो कारण मध्ये एक हो । स्वास्थ्य मन्त्रालयका अनुसार यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ । ‘केही मिटर माथि नै प्रदूषणले लेयर बनाएर बसेको हुन्छ । त्यो प्रदूषित हावाबाट हामीले श्वास फेरिरहेका छौं । जुन हावा हाम्रो सिधै फोक्सोमा प्रवेश गरिरहेको छ । जसले अल्पकालीन तथा दीर्धकालिन समयसम्म फोक्सोलाई असर गर्छ’, डा. बम भन्छन् ।
पहिले दम रोग धुमपान गर्ने मान्छेमा मात्र हुने भनिन्थ्यो । हिजोआज वायु प्रदूषणका कारण स्वस्थ उमेरका मानिस तथा कहिल्यै धुमपान नै नगरेका मानिसहरुमा पनि फोक्सो क्यान्सर, दम लगायतका समस्या देखिन थालेको छ ।
‘बढ्दो वायु प्रदूषणको तत्कालै समाधानको उपाय नखोजे भविष्यमा झन् ठूलो समस्या देखिने डा. पंगेनी बताउँछन् । ‘अहिले तुरुन्तै देखिने कुनै समस्या हुँदैन । तर, यसले गर्भमा रहने बच्चालाई समेत असर गरेको हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4