+
+

उपत्यकामा धमाधम बढ्न थाले बिजुली ट्याक्सी

१७ वटा भइसके दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १६:४३

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् ।

‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’

बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड ल्याएको छ ।  श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले जारी गरेको ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८’ अनुसार ट्याक्सी धनीहरुले विद्युतीय ट्याक्सी किन्न थालेका हुन् ।

मापदण्डअनुसार विद्युतीय ट्याक्सीलाई साधाराण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा वर्गीकरण गरिएको छ । मापदण्डअनुसार २० वर्ष पुगेका काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सीको सट्टा नयाँ ट्याक्सी किन्दा विद्युतीय नै किन्नुपर्ने अवस्था छ । सरकारले साधारण र डिलक्सका लागि छुट्टाछट्टै दरमा ट्याक्सी भाडा तय गर्ने भनिए पनि अहिलेसम्म फरक दर तय भएको छैन ।

नयाँ मापदण्डअनुसार २० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्छ । ट्याक्सीभित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्डले गरेको छ ।

प्रदेश सरकारले विशेष प्रकृतिका ट्याक्सीमा रुपमा सेडान कार र भ्यान दुबै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालमा भ्यानलाई ट्याक्सीका रुपमा प्रयोग गर्ने अभ्यास छैन ।

मन्त्रालयले ‘ट्रान्समिसन’लाई अटोमेटिक हुनुपर्ने, बुट स्पेस (डिकी) साधाराण ट्याक्सीको लागि २०० लिटर र विशेषका लागि २५० लिटरमाथि हुनुपर्ने भनिएको छ । साधारण ट्याक्सीको मोटर क्षमता ३० किलोवाट र विशेष ट्याक्सीको ५० किलोवाट त्यसभन्दा माथि हुनुपर्ने व्यवस्था छ ।

साधारण ट्याक्सीका लागि २० किलोवाट आवर र विशेषका लागि ४० किलोवाट आवर सोभन्दा माथिको लिथिम आयोन ब्याट्री हुनुपर्ने भनिएको छ । ग्राउन्ड क्लेयरेन्स साधारणका लागि १७० एमएम र विशेषका लागि १७५ एमएम अनिवार्य गरिएको छ । साधारणमा ड्राइभर एयरब्याग र विशेष्मा डुअल एयरब्याग हुनुपर्ने मापदण्ड छ । साधारणमा जीपीएस सिस्टम आवश्यक भनिएपनि विशेषका लागि अनिवार्य गरिएको छ ।

साधारण ट्याक्सी कम्तीमा एक पटकको चार्जमा २१० किलोमिटर गुड्न सक्ने हुनुपर्ने र विशेषका लागि २७५ किलोमिटरको रेन्ज हुनुपर्ने तोकिएको छ । साधारण ट्याक्सीमा दुर्घटना हुँदा खुल्ने ‘एयरब्याग’ ड्राइभरका लागि मात्रै अनिवार्य गरिएको छ । धेरै भाडा खर्चिन नसक्ने यात्रुको सुरक्षा पक्षलाई ध्यान दिएर मापदण्ड बनाइएको छैन ।

विशेष (डिलक्स) ट्याक्सी भनिए पनि त्यसमा वाइफाइ, गाडीभित्रको हेड रुम, लेग रुमसहितको पर्याप्त स्पेसबारेको मापदण्ड, मोबाइल चार्ज गर्ने सुविधा, कप होल्डर, र विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल, टाउको अड्याउने हेड रेस्ट, पछाडिसम्म वातानुकूलित गर्ने गरी एसी, पछाडिको भागमा टच स्क्रिनसहितको डिस्प्ले मापदण्डले अनिवार्य गरेको छैन ।

मापदण्डअनुसार अहिले ट्याक्सी धनीले साधारण ट्याक्सीका रुपमा टाटाको एक्प्रेस टी ईभीलाई विद्युतीय ट्याक्सीका रुपमा दर्ता गरिरहेका छन् । अन्य कम्पनीहरु पनि विद्युतीय ट्याक्सी ल्याएर बजारमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?