+
+

नेपालमा भेटे, ‘भूतघर’मा गेष्टहाउस चलाए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १३:५०
दाइसुके काजियामा र उनकी जीवनसाथी हिला ।

काठमाडौं । विश्व भ्रमण गरेर वर्षौँ बिताएपछि जापानी यात्री दाइसुके काजियामा अन्ततः एउटा गेष्ट हाउस खोल्ने आफ्नो लामो समयदेखिको सपना पूरा गर्न आफ्नो घर फर्किन तयार थिए ।

सन् २०११ मा काजियामा स्वेदश फर्किए । उनीसँग आफ्नी इजरायली जीवनसाथी हिला पनि थिइन् । हिला र काजियामाबीच नेपालमा भेट भएको थियो । उनीहरु आफ्नो भविष्यको योजना कार्यान्वयन गर्नका लागि उनीहरुले उपयुक्त ठाउँको खोजी गरिरहेका थिए ।

तर उनीहरुको मार्गमा धेरै अड्चनहरु आए । कोरिया, ताइवान, भारत, नेपाल, ग्वाटेमाला, क्युवा तथा क्यानडा लगायतका देशहरुमा वर्षौंसम्म घुमिरहेका कारण काजियामासँग पर्याप्त पैसा बचत थिएन । साथै उनको लगाव कोमिन्का भनिने परम्परागत जापानी घरप्रति थियो, जो पुस्तौदेखि हस्तान्तरित हुँदै आएका हुन्छन् ।

सीएनएनसँगको कुराकानीमा काजियामाले बताए अनुसार उनलाई गाउँमा परम्परागत घरको चाहना थियो । त्यसैले उनले सँगसँगै रहेका दुईवटा घर खोज्ने निधो गरे ताकि एउटामा उनी र हिला बस्न सकुन् भने अर्कोमा गेष्टहाउस चलाउन सकियोस् ।

गेष्टहाउस सपना

तर आफ्नो आवश्यकता अनुसारको कुनै पनि चिज भेटाउन नसकेपछि काजियामाले देशमा रहेका मानिस बस्न छाडेका घरहरु खोज्ने निर्णय गरे ।

युवाहरु जागिरको खोजीमा सहरतर्फ लाग्दा जापानमा गाउँहरुमा घरहरु रित्तिएर भूतघर अर्थात् आकिया बनिरहेका छन् । जापान पोलिसी फोरमका अनुसार जापानमा सन् २०१३ मा कूल ६ करोड १० लाख घर र ५ करोड २० लाख घरधुरी भएकोमा सन् २०६५ सम्ममा त्यहाँको जनसंख्या १२ करोड ७० लाखबाट घटेर ८ करोड ८० लाख हुने र त्यसपछि गाउँमा रहेका भूतघरको संख्या अझै बढ्नेछ ।

काजियामाले क्योटो र टोक्योको बीचमा पर्ने शिजुओका प्रान्तमा पर्ने तामातोरी नामक सानो गाउँमा गाडीमा यात्रा गरिरहेका थिए । सो गाउँ हरियो चियाबारी तथा धानखेतले घेरिएको छ । उक्त गाउँमा एकजना वृद्ध महिलाले रोपाइँ गरिरहेकी थिइन् । काजियामाले ती वृद्धालाई भेटेर कुराकानी गर्ने निधो गरे ।

गाउँमा कुनै खाली घर छन् कि भनेर आफूले सोध्दा ती वृद्धाले औँलाले देखाएतिर हेर्दा उनले त्यहाँ दुईवटा खाली घर देखे । त्यसमध्ये एउटा पुरानो चिया कारखाना थियो भने अर्को एकजना बुढा किसानको घर थियो, नदीको नजिकै । ती दुईवटै भवनहरु सात वर्षदेखि खाली थिए र त्यसको सरसफाइ तथा मर्मतमा ठूलै मिहिनेत लाग्ने देखिन्थ्यो ।

त्यसपछि काजियामाले ती घरहरु बिक्रीमा छन् कि भनेर बुझ्नका लागि घरधनीको सम्पर्क नम्बर मागे । तर घरधनीले भने ती घरहरु त्यागिसकिएको भन्दै त्यहाँ कोही पनि बस्न नसक्ने बताए । तरपनि घरधनीले हुन्न नभनेका कारण उनलाई केही आशा जाग्यो ।

भूतघर

उक्त घर खरीद गर्ने सम्झौताका लागि कुराकानी गर्न घरधनीसँग भेट्नु अगाडि काजियामाले ५ पटकसम्म त्यहाँ पुगेर ती घरहरु हेरे । पुरानो चिया कारखानाको भवनलाई आफू बस्ने घर तथा वृद्ध किसानको घरलाई गेष्ट हाउसको रुपमा परिणत गर्ने उनको योजना थियो ।

ती घरहरु खरीद गर्न काजियामा निकै आतुर थिए । तर जापानमा घरको स्वामित्व सम्बन्धी परम्परा अनुसार कुनै पनि घरको स्वामित्व बाबुपछि छोरामा सार्नुपर्ने हुनाले उनले तत्कालै उक्त घरहरु खरीद गर्न नपाउने अवस्था थियो । यद्यपि घरधनीसँग त्यसको सबै जिम्मेवारी लिने प्रतिबद्धता जनाएसँगै घर खरीद सम्झौताको कागज भयो ।

ती भूतघरमा आफ्नो निवास तथा गेष्ट हाउस तयार गर्नका लागि धेरै काम गर्नु आवश्यक छ भन्ने कुरा हिला र काजियामालाई थाहा थियो । तरपनि आफूहरुले मनले चिताएको ठाउँमा आफ्नै गेष्टहाउस तथा घर तयार गर्ने सपनाको नजिक पुगेकाले उनीहरु निकै उत्साहित थिए ।

काजियामाका अनुसार त्यो निकै उत्तम ठाउँ हो जुन सहरको नजिक छ तर गाउँ हो । त्यहाँ अझैपनि केही मानिसहरु बसोबास गर्दछन् र त्यहाँबाट काम गर्नका लागि सहरमा जान्छन् । साथै ती घर नदीको नजिक भएको हुनाले रातमा सुतेको बेला नदीको आवाज सुन्न पाइन्छ ।

९० वर्ष पुरानो घरको जिर्णोद्धार गर्नुअघि त्यसको सरसफाइ गर्ने काम सबैभन्दा कठिन काम थियो । किनकि घरभित्रका धेरै सरसामानहरु छुट्टाउनु तथा हटाउनु पर्थ्यो । उनी त्यहाँका धेरै सामानलाई पुनः प्रयोगमा ल्याउने गरी व्यवस्थापन गर्न सफल भए ।

त्यसपछि पहिलो वर्ष उनले स्थानीय मानिसहरुसँग सम्बन्ध स्थापना गर्न, घरको बारेमा ज्ञान हासिल गर्न तथा स्थानीय किसानलाई खेती किसानीमा सहयोग गर्नमा बिताए ।

आधिकारिक प्रारुप

जिर्णोद्धारको काममा धेरै अनुभवी नभए पनि विगतमा भ्रमणको समयमा कहिलेकाहीँ कृषि तथा भवन निर्माण अनि घरहरु मर्मत गर्ने काम समेत उनले गरेका थिए । त्यसैले आफ्नो गेष्टहाउस बनाउने काममा पनि उनी आफैं खटिए र अधिकांश काम आफैंले गरे ।

उनले भुईं परिवर्तन गर्नुका साथै शौचालय पनि थप गरे । त्यसमा उनको करीब १० हजार डलर जति खर्च भयो । उनले परम्परागत सामग्रीहरु प्रयोग गरेर घरलाई सम्भव भएसम्मको आधिकारिक स्वरुपमा तयार गर्न चाहन्थे । परम्परागत घर भत्काउने प्रक्रियामा रहेका निर्माण कम्पनीहरुसँगबाट उनले परम्परागत काठहरु संकलन गरेर रकम बचत गरे ।

काजियामा भन्छन्– उनीहरुले ती काठ फ्याँक्नका लागि उल्टै पैसा खर्च गर्नुपर्थ्यो । तर मेरो लागि ती कतिपय काठहरु सम्पत्ति बने । त्यसले म परम्परागत घर भत्काइएका ठाउँमा गएर त्यस्ता काठ ल्याउँथे । घर निकै पुरानो भएकाले आधुनिक सामानहरु प्रयोग गर्दा त्यो पूर्णरुपमा आधिकारिक नदेखिने भएकाले पुराना परम्परागत काठहरु प्रयोग गरेको उनी बताउँछन् ।

लम्बेतान प्रक्रिया

उनले जापान सरकारबाट केही आर्थिक सहायता पनि प्राप्त गरे, जसबाट उनले सिकर्मी ल्याउन सके । त्यस्तै जापान प्रचलित काम गर्ने विदाको कार्यक्रमले पनि उनलाई फाइदा पुग्यो जसमा घुमन्तेहरुलाई खाना र बासका लागि काम गर्न दिइन्छ ।

त्यसपछि उनले गेष्टहाउसको अनुमति प्राप्त गर्ने सबैभन्दा सजिलो विधिको खोजी गरे र कृषि गेष्टहाउसको रुपमा दर्ता गर्ने निर्णय गरे ।

उक्त ठाउँ बाँसको जंगलले ढाकिएको हुनाले काजियामाले गेष्ट हाउससँगै बाँसको खेती समेत गर्ने योजना बनाए र सोही बमोजिम बाँसखेती पनि सुरु गरे ।

अन्ततः ती घर खरीद गरेर काम सुरु गरेको २ वर्षपछि सन् २०१४ मा काजियामा तथा हिला दम्पतीले पहिलोपटक आफ्नो गेष्टहाउसमा पाहुनालाई स्वागत गरे ।

आफ्नो सपना पूरा भएकोमा उनलाई निकै सुन्दर अनुभूति हुनु स्वाभाविकै हो । तर स्थानीय बासिन्दाहरु भूतघर घरलाई पुनर्जीवन दिएकोमा काजियामा दम्पतीको प्रशंसा गर्दछन् ।

उनको गेष्टहाउसमा संसारका विभिन्न देशका पर्यटक आउने गर्दछन् जसले उनलाई आफ्नो विगतको ब्याकप्याकर पर्यटक हुँदाको समयको सम्झना दिलाउँछ । आफू अहिले एकै ठाउँमा बसिरहेको भएपनि त्यहाँ आउने धेरै देशका पर्यटकहरुका कारण आफूले विभिन्न ठाउँमा यात्रा गरिरहेको अनूभूति गर्ने गरेको उनी बताउँछन् ।

दुर्भाग्यबस क्यान्सरका कारण गत वर्ष हिलाको निधन भयो । आफ्नो सपना पूरा गर्नका लागि पत्नी हिलाले निकै ठूलो भूमिका खेलेको र उनीबिना आफूले गेष्टहाउस तयार गर्न नसक्ने काजियामा बताउँछन् ।

३ वटा बेडरुम सहितको ८० वर्गमिटरमा फैलिएको उक्त गेष्टहाउस ८ वर्षदेखि सञ्चालन छ, तथापि काजियामाले त्यसमा अझै काम गरिरहेका छन् । गेष्टहाउस निर्माणको काम कहिले पूरा हुने हो भन्ने कुरा उनलाई नै थाहा छैन ।

उनी भन्छन्– यो कहिल्यै पनि अन्त्य हुँदैन । मलाई बल्ल आधा भएजस्तो लाग्छ । यो अहिले नै सुन्दर बनिसकेको छ । तर यसलाई विगतमा त्यागिएकाले यसमाथि धेरै मिहिनेत गर्नुपर्दछ । वास्तवमा म पनि सिर्जना गर्ने कुरामा राम्रो बन्दै गइरहेको छु । त्यसैले यसलाई थप बनाउनका लागि मलाई अझै समय आवश्यक छ ।

–सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?