+
+

१० वटा डोजर चलाएर एकै छिनमा खाली गराइयो बस्ती

हरि अधिकारी हरि अधिकारी
२०८० वैशाख ६ गते १९:०६

६ वैशाख, विराटनगर । अदालतले रिट खारेज गरेको २४ घण्टा नबित्दै सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका– ५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाली गराएको छ ।

नगरपालिकाका प्रवक्ता विजयकुमार चौधरीका अनुसार नगरपालिकाको नाममा रहेको जग्गामा निर्माण भएको संरचना खाली गराउन सूचना जारी गरे पनि स्थानीय वासिन्दाले ठाउँ छाड्न मानेका थिएनन् । नगरपालिकाले एक्कासी डोजर प्रयोग गर्दा दुहबी बजार क्षेत्र मंगलबार दिनभर तनाबग्रस्त बनेको थियो ।

नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेको संरचना हटाउन गत पुसमा ३५ दिने सूचना जारी गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले पुस १५ गते उच्च अदालत विराटनगरमा नगरपालिकाको सूचना विरुद्ध रिट दायर गरेका थिए ।

वैशाख ४ गते उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी  र किरणकुमारी गुप्ताको इजलासले रिट खारेज गरेपछि नगरपालिकालाई संरचना भत्काउने बाटो खुलेको थियो । रिट खारेज भएपछि कार्यपालिका बैठक बसेर भत्काउने निर्णयलगत्तै डोजर प्रयोग भएको चौधरीले बताए  ।

उनका अनुसार डोजर प्रयोग गरेर खाली गराइएको क्षेत्रमा २०३० साल भन्दा अगाडिदेखि बसोबास गरिरहेका मानिसहरु थिए । सुरुमा झुप्रा संरचना बनाएर बसेको पातलो बस्तीमा बजार बढेपछि संरचना र बस्ती थपिएको थियो ।

संरचना हटाएको स्थानमा व्यापारिक कम्प्लेक्स निर्माण गर्ने पालिकाको तयारी छ । ‘त्यहाँ अब मल बन्छ, त्यसको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ’, प्रवक्ता चौधरीले भने, ‘उच्च अदालत विराटनगरले नगरपालिकाको पक्षमा फैसला गरेपछि संरचना हटाउन सहज भयो ।’ अब सपिङ कम्प्लेक्स निर्माण भएपछि विस्थापितलाई नै मलभित्र व्यवसाय गर्नका लागि प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोधका कारण विराटनगर धरान जोड्ने ६  लेन सडकको काम दुहबी खण्डमा अगाडि बढेको छैन । दुहबीबाट दक्षिण तर्फको क्षेत्रमा ६ लेन सडक निर्माणको काम भइरहेको छ । उत्तरतर्फ पनि काम अन्तिम चरणमा छ ।

दुहबी बजार क्षेत्रको करिब २ किलोमिटर खण्डमा सडक विस्तारको काम अघि बढेको छैन । सडक निर्माण नहुँदा दुहबी बजार क्षेत्रमा ट्राफिक जाम छ । नगरपालिकाले खाली गराएको क्षेत्र ६ लेन सडकको क्षेत्रभित्र नै पर्छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?