+
+

ब्युँतियो मेलम्ची विकास समिति, सरकारले बढायो नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १९:२८

६ वैशाख, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समितिलाई पुनःस्थापित गरेको छ । मन्त्रिपरिषद बैठकले मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश–२०७९ जारी गर्दै मेलम्ची खानेपानी विकास समिति ब्युँताएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि आयोजनाको बाँकी काम नै अलपत्र परेको थियो । यसका कारण काम गरिरहेको मेलम्ची खानेपानी विकास समिति अधिकारविहीन हुन पुगेको थियो । बजेटले समितिबाट सञ्चालन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने भने पनि त्यसो हुन सकेको थिएन ।

हालै सरकारले नयाँ गठन आदेश जारी गर्दै मेलम्ची खानेपानी आयोजनामा परेको गाँठो फुकाएको छ । तर, सरकारले मेलम्ची खानेपानी विकास समितिमा आफ्नो पकड बढाउने गरी नयाँ व्यवस्थाहरु गरेको छ ।

समितिको सञ्चालक समितिमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तहका एक जना र मेलम्चीको खानेपानीको लाभग्राही स्थानीय तहका एक जना जनप्रतिनिधिलाई खानेपानी मन्त्रालयले रोजेर नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ ।

यसअनुसार मेलम्ची खानेपानी विकास समितिमा खानेपानी तथा सरसफाइमन्त्रीले रोजेका २ नयाँ सञ्चालकहरु आउने बाटो खुलेको छ । अब काठमाडौं उपत्यका खानेपानी बोर्डका प्रमुख पनि मेलम्चीको सञ्चालक समितिमा सदस्यक रुपमा आएका छन् ।

खानेपानी मन्त्रालयका सचिव अध्यक्ष रहने बोर्डमा समितिका कार्यकारी निर्देशक सदस्य सचिव हुने व्यवस्था छ भने प्रभावित क्षेत्रका एक प्रतिनिधि, अर्थ मन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।

विगतमा उपत्यकामा खानेपानीको आपूर्ति गराउन मेलम्चीबाट पानी ल्याउनका लागि एशियाली विकास बैंकसहितका दातृ निकायसँगको सहमतिमा बनेको यस्तो समितिमा को–को पठाउनेभन्नेबारे अहिलेसम्म सरकार अनिर्णित छ । यसका कारण आयोजनाको बाँकी काम अघि बढाउन तयार गरिएको योजना अलपत्र परेका छन् ।

१ असार, २०७८ मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएपछि वर्षमा करिब ६ महिना मात्रै पानी ल्याउन सकिने अवस्थामा आयोजना छ ।

मेलम्चीको बाढीपछि तयार भएर सञ्चालनको तयारीमा अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र (डिसेन्डर) मुहानस्थल पुरिएको छ । नदीको सतहभन्दा मुनि परेका ती संरचनाहरूको अवस्था के छ भन्ने बुझ्न अहिलेसम्म खोतलेर हेरिएको सम्म छैन । एशियाली विकास बैंक (एडीबी)को प्राविधिक टोलीले आयोजनाको मुहानस्थल र त्यसभन्दा माथिको भूगर्भको अवस्थाबारे अध्ययन गरे पनि निष्कर्ष सार्वजनिक भएको छैन ।

आयोजनाको मुहान पुनर्थापना नभएसम्म प्रत्येक १५ जेठपछि वर्षयाम सकिएर हिउँद नलागेसम्म मेलम्चीको सुरुङ बन्द राख्नुपर्छ । वर्षायाममा बन्द नराखे बाढीले सुरुङ क्षतिग्रस्त पार्ने जोखिम हुन्छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्त समिति पुनर्स्थापित भएकाले अब १२ महिना नै पानी ल्याउन सकिने गरी निर्माणका काम अघि बढाउन बाटो खुलेको बताउँछन् । ‘बोर्ड बैठक बसेपछि कार्ययोजनाबारे छलफल भएर निर्णय हुन्छ,’ उनले भने, ‘समिति खारेजीपछि अन्योल भएकाले धेरै समय काम अघि बढेन, सम्भवतः चालु आर्थिक वर्षमा मुहान पुनर्स्थापनाको काम अघि बढाउन गाह्रो छ ।’

अस्थायी संरचना बनाएर हिउँदभरि पानी ल्याइँदै गर्दा वर्षायाममा पनि मेलम्चीको पानी ल्याउने गरी स्थायी मुहान तयार गर्न समितिले लागत अनुान तयार गरिसकेको उनले बताए । समितिले कहाँ र कहिलेदेखि मुहानस्थलका संरचना कसरी बनाउने भन्नेबारे अध्ययन र निर्णय गर्नुपर्छ ।

भविष्यमा पनि ठूलो बाढी आएका मुहानस्थल बचाउने गरी संरचना बनाउनुपर्ने भएकाले त्यस्तो मुहान कहाँ बनाउने र त्यसका लागि कसले लगानी गर्ने भन्ने अन्योल पनि छ । मेलम्ची खानेपानी आयोजनाबाट एडीबीले हात झिकिसकेको छ । अब नयाँ संरचना बनाएर १२ महिना नै मेलम्चीबाट पानी ल्याउनसक्ने गरी नयाँ संरचनाहरू तयार गर्न कहाँबाट लगानी ल्याउने भन्नेमा सरकार अलमलमा छ ।

‘स्थायी संरचनाहरु तयार गरेर मेलम्चीबाट निरन्तर काठमाडौंमा पानी ल्याउने योजना छ,’ प्रवक्ता पन्त भन्छन् । करिब ३४ अर्ब खर्चिएर बनेका सुरुङसहितको संरचनाको पूर्ण उपयोग गर्न अब समिति अघि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?