+
+
विचार :

काठमाडौं आसपास देखिएको वायु प्रदूषणको नालीबेली

काठमाडौँ लगायत तराई र देशका पूर्वी भू-भागको रेकर्ड हेर्ने हो भने पनि वायुको गुणस्तर ज्यादै अस्वस्थ तहमा पुगेको देखिन्छ। गत वर्ष पनि यही समय वायुको गुणस्तर खतरनाक तहसम्म पुगेको थियो।

डा. अर्जुन बानियाँ, डा. महेन्द्र बहादुर बानियाँ डा. अर्जुन बानियाँ, डा. महेन्द्र बहादुर बानियाँ
२०८० वैशाख ७ गते १५:४६

वायु प्रदूषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु हो। स्वच्छ हावामा विविध कारणले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्दछ। विगतका केही वर्षदेखि नेपालको काठमाडौं, पोखरा, भरतपुर र वीरगंज लगायत क्षेत्रमा वायु प्रदूषणको मात्रा बढिरहेको छ।

आजभोलि काठमाडौं उपत्यका लगायत देशका धेरै भू-भागको आकाशलाई तुवाँलोले ढाकेको देख्न सकिन्छ। चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो, आँखा र छालामा सङ्क्रमण हुनसक्दछ। त्यसैले घर बाहिर निस्कँदा मास्क, चश्मा र पूरै शरीर ढाक्ने कपडाको प्रयोग गर्ने गर्नुपर्छ।

द्रुतगतिमा विकासले अघि बढिरहेको राजधानी काठमाडौं लगायत राजधानी बाहिरका उपत्यकाहरूमा वायु प्रदूषण एक दीर्घकालीन समस्याको रूपमा आइरहेको छ। गत साताको तथ्यांकलाई हेर्ने हो भने काठमाडौंको वायु प्रदूषण तोकिएको मापदण्डभन्दा निकै बढी पुगेको देखिन्छ।

डा. महेन्द्र बहादुर बानियाँ/डा. अर्जुन बानियाँ

विगत पाँच वर्षको वायु प्रदूषणको तथ्यांक अवलोकन गर्ने हो भने मात्र पनि यसअवधिमा ५० प्रतिशत भन्दा बढीले वायु प्रदूषण बढेको देखिन्छ। गत वर्ष पनि वायु प्रदूषण मापन खतरनाक स्तरसम्म पुगेको थियो।

बेला–बेलामा अन्तर्राष्ट्रिय/राष्ट्रिय विमानस्थलमा हुने उडान र अवतरणमा समेत वायु प्रदूषणको कारणले कम दृश्यावलोकन (पुअर भिजिविलिटी) हुन गई समस्या भइरहेको र उडानहरू अवरुद्ध भएका समाचार आइरहेका छन्।

नेपालमा हरेक वर्ष लगभग दुई हजार मानिसको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको तथ्यांकहरू भेटिन्छन्। संयुक्त राज्य पर्यावरण संरक्षण एजेन्सीको वायु गुणस्तर सूचकांक गाइडले प्रदूषणको जोखिमलाई कम गर्न मानिसहरूले अपनाउन सक्ने सावधानीहरूलाई टेबल–१ मा देखाइएको छ।

नोट: ५०० भन्दा माथिको मान AQI भन्दा बाहिर मानिन्छ। यो समय खतरनाक श्रेणीको लागि गरिएका सिफारिसहरू पालना गर्नुहोस्।

वायु प्रदूषण बढ्नुका कारण

वायु प्रदूषण हुनुका धेरै कारक हुन सक्छन्। नेपालमा प्राय:जसो चैतदेखि जेठसम्म वन क्षेत्रमा धेरै आगलागी हुने गरेको पाइन्छ। प्राकृतिक/मानवीय कारकको रूपमा वन क्षेत्रमा लागेको डढेलो एक महत्त्वपूर्ण कारक हुन सक्छ। अर्को कारक हाल हिउँदका दिनहरूमा वर्षा भइरहेको छैन साथै वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी देखिएकोले पनि हुन सक्छ। तसर्थ पानी नपर्नु साथै हावा पनि नचल्नु अहिलेको अवस्थाको कारण हुन सक्छन्।

अन्य मानवीय कारकहरूमा सवारी साधन, पावर प्लान्ट, औद्योगिक कलकारखानाबाट निस्किएको धुवाँ, निर्माण गतिविधिका कारणहरू हुन्। कृषकले गर्मी र सुक्खा समयमा बालीबाट निस्कने प्रयोगविहीन पदार्थहरूलाई जलाउने कार्यले पनि वायु प्रदूषणको मात्रा बढाएको छ।

आजभोलि पोखरा-मुग्लिन, नारायणघाट-बुटवल राष्ट्रिय राजमार्गहरूका सडक खण्ड विस्तार कार्यले तीव्र गति लिएको अवस्था छ। सँगसँगै यस्ता निर्माणका गतिविधिले प्रशस्त धुलो वायुमण्डलमा देखिने गरेको छ।

यस बाहेक नेपाल दुई ठूला औद्योगिक राष्ट्र भारत र चीनको बीचमा अवस्थित हुनु र यी दुई राष्ट्रले धेरै औद्योगिक उत्पादन गर्ने हुँदा पनि थप प्रदूषणको मात्रा बढेको हुन सक्छ। यी कारकहरूमा अरु थप अध्ययन अनुसन्धान हुन आवश्यक देखिन्छ।

(पोखरा-मुग्लिन सडकखण्ड विस्तार कार्यसँगै निस्किएको धुलो)

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले वायु गुणस्तरमा राखेको रेकर्ड अनुसार गत अप्रिल १२ तारिखका दिन खुमलटारमा पीएम-१० को मात्रा २४५.३७ रेकर्ड गरेको थियो। पीएम-१० भनेको करिब १० µm व्यास भएका कण हो र मुख्यतया कम गुणस्तरको सडक, निर्माणस्थल र खेतबारीबाट निस्कने गर्दछ।

यसले आँखा, नाक र तीव्र श्वास–प्रश्वासमा संक्रमण गराउने गर्दछ। पीएम-१० कारणले श्वास–प्रश्वासका रोगहरू उत्पन्न हुने र जसको कारणले मृत्युदर पनि उच्च हुने गरेको छ।

गत अप्रिल १२ बाट यो आलेख तयार पार्दासम्मको ६ दिनको रेकर्ड हेर्दा पनि अप्रिल १४ बाहेक अरु दिन पीएम-१० को मात्रा २०० भन्दा माथि नै देखिएको छ (चित्र नं. १)। काठमाडौं लगायत तराई र देशका पूर्वी भू-भागको रेकर्ड हेर्ने हो भने पनि वायुको गुणस्तर ज्यादै अस्वस्थ तहमा पुगेको देखिन्छ।

गत वर्ष पनि यही समय वायुको गुणस्तर खतरनाक तहसम्म पुगेको थियो। खुमलटारको रेकर्ड अनुसार सार्वजनिक बिदाका दुई दिन क्रमशः अप्रिल १४ (नयाँ वर्ष) र अप्रिल१५ (शनिबार)का दिन वायु प्रदूषणको मात्रा घटेको देखिन्छ।

सबैभन्दा कम नयाँ वर्षको दिन पीएम-१० को मात्रा १९०.९९ रेकर्ड गरिएको थियो। सार्वजनिक बिदाका दिन प्रदूषणको मात्रा घट्नुले सवारी साधनहरू कम गुडेकोले हुन सक्दछ। तसर्थ काठमाडौंको वायु प्रदूषण हुनुका धेरै कारकमध्ये धेरै गुड्ने पुराना सवारी साधनहरू पनि प्रमुख कारक हुन सक्छन्।

अर्कोतिर पीएम-२.५ (२.५ µm भन्दा साना कणहरू) मात्रा सबैभन्दा धेरै अप्रिल १५ (शनिबार) दिन १२०.१२ मापन गरिएको छ। पीएम-२.५ मात्रा यति धेरै एक्कासी बढ्नुको मुख्य कारण वन क्षेत्रमा लागेको डढेलोले हुन सक्दछ।

पीएम-२.५ फोक्सोभित्र गहिरो रूपमा प्रवेश गर्दछ र रगत भित्र पनि पस्न सक्दछ। यसले थप जीवनको क्षमतालाई घटाउने र कमजोर बनाउने गर्दछ। यी ६ दिनको पीएम -२.५ को रेकर्ड चित्र नं. २ मा देखाइएको छ।

निराकरणका उपाय

प्राकृतिक/मानवीय कारकको रूपमा रहेको वन क्षेत्रमा लाग्ने डढेलो कम गराउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। यसका लागि छुट्टै डढेलो निभाउने फोर्सलाई आधुनिक सरसामानले सुसज्जित बनाइनुपर्दछ। वन क्षेत्रमा हुनसक्ने आगलागी बारे स्थानीय तहबाट समुदायलाई सचेत गराउनुपर्ने देखिन्छ। कृषकले गर्मी र सुक्खा समयमा बाली डढाउने कार्यको न्यूनीकरण एवं नियन्त्रणमा ध्यान दिनु जरुरी छ।

जङ्गलको नजिक जहाँ सुकेका घाँसहरू छन् त्यस्ता क्षेत्रहरूमा सवारी साधन पार्क नगर्ने बानी बसाल्नुपर्दछ। जङ्गली क्षेत्रहरूमा पानीका पोखरीहरू बनाउने र पानी भण्डारण गरेर राख्ने कार्यको सुरुवात पनि गरिनुपर्छ। सानो सावधानीबाट पनि ठूलो क्षति रोक्न सकिन्छ।

सडक निर्माण कार्य भएका स्थानहरूमा समय–समयमा पानी छर्किएर धुलोका कणहरूलाई उड्न नदिने उपायहरू अवलम्बन गर्ने गर्नुपर्दछ। स्थानीय तहमा नै खुला फोहोरहरू प्लास्टिक जन्य पदार्थलाई जलाउने कार्य तत्काल बन्द गर्नुपर्दछ।

सबै तहबाट फोहरलाईकम्पोस्ट बनाउने, बायोग्यास बनाउने, पुन: प्रयोग गर्ने तवरले अघि बढ्नुपर्दछ। नवीकरणीय इन्धन र स्वच्छ उर्जा उत्पादनमा ध्यान दिंदै सौर्य, हावा जस्ता वैकल्पिक ऊर्जाको प्रयोग जति सक्दो बढाउनुपर्ने देखिन्छ।

यसैगरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा विद्युतीय शक्तिको प्रयोग गरी दिगो प्रणालीतिर उन्मुख गराउनुपर्छ। फुटपाथ र साइकल लेन विस्तारसँगै भएका लेनहरूलाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ। निजी क्षेत्रलाई वैकल्पिक ऊर्जातिर लगानी गर्न प्रेरित गर्नुपर्ने, विद्युतीय सवारी साधनहरूमा आयात कर र सडक कर दुवै कम गराइनुपर्दछ।

वायु प्रदूषणले मानव लगायत सम्पूर्ण प्राणी जगतको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्याइरहेको हुन्छ। त्यसैले वायु प्रदूषण गराउने कारकहरू पत्ता लगाई त्यसलाई न्यूनीकरण एवं नियन्त्रणमा हातेमालो गरी अगाडि बढ्नु आजको आवश्यकता हो।

(डा.अर्जुन बानियाँ युनाइटेड टेक्निकल कलेज, भरतपुर-११ मा कार्यरत रिसर्च डाइरेक्टर हुन् भने डा. महेन्द्रबहादुर बानियाँ गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास कार्यालय कास्कीमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?