+
+

अन्तरिक्षमा सुटिङ भएको रुसी फिल्म बक्स अफिसमा सुपरहिट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते ९:२१

एकजना व्यवसायिक फिल्म निर्माताले अन्तरिक्षसँग सम्बन्धित फिल्म निर्माण गर्नका लागि फिल्मको केही भाग साँच्चिकै अन्तरिक्षमै छायांकन गरे ।

विश्वमै अन्तरिक्षमा छायांकन भएको पहिलो फिचर फिल्म हो ‘The Challenge’ । अप्रिल २० मा रिलिज भएको रुसी फिल्मको रुसी भाषाको नाम ‘Vyzov’ हो ।

यो फिल्मले रिलिज भएसँगै बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मको छायांकनका लागि सन् २०२१ को अक्टोबरमा फिल्म निर्देशक तथा अभिनेत्रीले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा गएर १२ दिन बिताएका थिए ।

यो फिल्मलाई हालसम्म रुस तथा पूर्वसोभियत संघका अन्य मुलुकहरुमा गरी १४ लाखभन्दा धेरैले हेरिसकेको र साढे ४४ करोड रुबल अर्थात ५५ लाख डलर आम्दानी गरिसकेको बताइएको छ ।

यो चलचित्रको कथा अनुसार छातीको शल्य चिकित्सकको भूमिकामा रहेकी अभिनेत्री युलिया पेरेसिल्डलाई एकजना बिरामी अन्तरिक्षयात्रीको उपचार गर्नका लागि आकस्मिक मिसनमा अन्तरिक्षमा पठाइन्छ । निर्देशक क्लिम शिपेन्कोले फिल्मको कथा लेखेका हुन् ।

रुसको राजधानी मस्कोस्थित स्टेट क्रेमलिन प्यालेसमा कस्मोनटिक्स डे अर्थात १२ अप्रिलका दिन यो फिल्मको एक विशेष प्रदर्शन गरिएको थियो । जसमा फिल्मका निर्देशक तथा अन्य कलाकार र क्रू सदस्यहरु समेत सहभागी भएका थिए ।

यो चलचित्रमा व्यवसायिक रुसी अन्तरिक्षयात्रीहरु एन्टोन शाकप्लेरेभ, ओलेग नोभित्स्की र प्योत्र डबरोभले पनि अभिनय गरेका छन् । नोभित्स्कीले बिमारी अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्म निर्माणमा लागेको लागतका बारेमा कुनै जानकारी हालसम्म सार्वजनिक भएको छैन । यद्यपि रुसी मिडियाहरुका अनुसार फिल्मको लागत कम्तिमा एक करोड १६ लाख डलर रहेको छ ।

यो फिल्म मध्यपूर्वमा अप्रिल २७ मा रिलिज हुने तय भएको छ भने विश्वका अन्य देशहरुमा प्रदर्शन हुने बारेमा चाहिँ निर्णय नभैसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?