
१७ वैशाख, विराटनगर। मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र सर्ने भएको छ । प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने निर्णय गाउँसभाले गरेको हो ।
पालिकाको प्रशासनिक केन्द्र कानेपोखरी ८ रमाईलो बजारमा छ । आइतबारको गाउँसभा बैठकले कानेपोखरी ५ भौसबारीमा सार्ने निर्णय गरेको हो ।
पालिकामा लामो समयदेखि केन्द्र सार्ने पर्ने माग थियो । गाउँसभामा सार्ने सहमति नभएपछि आइतबार मतदान भएको थियो । बहुमत सदस्यले सार्ने पक्षमा मतदान गरे ।
कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीका अनुसार ३९ सदस्यीय गाउँसभा सदस्य मध्ये २७ जनाले सार्ने पक्षमा मतदान गरेका थिए । सात जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरे ।
पालिका अध्यक्ष राजमती इङनामले भने मतदान प्रक्रियामा सहभागी भइनन् । एक भोट बदर भएको थियो । तीन जनाले मतपत्र खाली राखेको अधिकारीले जानकारी दिए ।
१३औं गाउँसभाको तेस्रो बैठकमा वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।
कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो।
प्रतिक्रिया 4