+
+
नरहरि प्रेमीसँग संवाद :

‘हिमालय लोकस्टारले धेरैलाई मौलिक संगीतप्रति मोह जगायो’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १८:४६

काठमाडौं । लोकसंगीतमा आधारित टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारको ग्राण्ड फिनाले यसैसाता सम्पन्न भएको छ । चार महिना चलेको यो टेलिभिजन कार्यक्रमले लोकसंगीतमा नयाँ पुस्ताका कलाकार जन्माएको छ ।

हजारौं हुँदै अन्तिम ६ जनासम्मको यो रोचक प्रतिस्पर्धामा एक से एक तन्नेरी लोकगायकले गायकी प्रस्तुत गरे । उनीहरुको प्रस्तुतिलाई निखार्न र कार्यक्रमलाई रोचक तुल्याउने केही हस्तीको भूमिका महत्वपूर्ण हुन्छ । नरहरि प्रेमी तिनैमध्येका एक हुन्, जसले संगीत निर्देशकको जिम्मेवारीमार्फत लोकस्टारलाई चम्काउन भूमिका खेले । लोकस्टारको सफलता, काम गराइको अनुभव र लोकगायनका विभिन्न आयामबारे संगीतकार तथा गायकसमेत रहेका नरहरि प्रेमीसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

संगीत निर्देशकको रुपमा लोकस्टारको अनुभव कस्तो रह्यो तपाईंको लागि ?

एक किसिमको रमाइलो भयो । रमाइलोसँगै केही चुनौती पनि थिए । नेपालको एक मात्र अर्गानिक शो जसलाई कसरी मर्यादित पनि बनाउन सकिन्छ, लोकसंगीत क्षेत्रसँग जोडिएको भूगोल र वर्गको संस्कृतिलाई कसरी समेट्न सकिन्छ र सबै ठाउँका प्रतिभालाई समेट्ने भन्ने कुरा आफैंमा चुनौती पनि थियो । यस अर्थमा कार्यक्रम राम्रैसँग सम्पन्न भयो, सुखद् रह्यो । म आफैंमा कोच भएको नाताले कार्यक्रम राम्रो रह्यो ।

चुनौतीहरु कस्ता रहे ? यो सिजनले कस्तो अनुभव सिकायो ?

अर्को सिजनका लागि हामी यसभन्दा कैयौं गुणा राम्रो गर्न सक्छौं भन्ने मलाई लाग्छ । काम गर्ने सन्दर्भमा कहिलेकाहीं सबैलाई समेट्ने सोच हुन्छ तर सबैलाई समेट्न नसकिने अवस्था हुन्छ । जस्तै पूर्वको संस्कृति दर्शाउन पूर्वको कलाकार हुँदा सजिलो हुन्छ । हामीले पश्चिमी कलाकारमार्फत पनि पूर्वेली संस्कृति गाउन लगाएका छौं । यसले सांस्कृतिक सद्भाव पनि विस्तार हुन्छ भन्ने लाग्छ ।

यस्तो खालको रियालिटी शोले नेपालको लोकसंगीतमा कस्तो खालको योगदान पुर्‍याउन सक्छ भन्ने लाग्छ ?

यसै पनि रियालिटी शोले लुकेर रहेको प्रतिभा र संस्कृतिलाई उजागर र प्रवद्र्धन गर्ने काम गर्छ । लोकगीत भनेको हाम्रो भेग, जाति, सम्प्रदाय, वर्ग सबैलाई प्रतिनिधित्व गरेर प्रत्यक्ष जोडिएको संगीत हो । लोकसंगीतको उत्थानले सामाजिक मर्यादा बोकेका हाम्रा परम्परा, रीतिरिवाज, संस्कृतिलाई सम्वद्र्धन गर्ने काम गर्छ । यसले नेपाली पहिचान विश्वमा जोगाएर राख्न र यसलाई चिनाउन माध्यमको भूमिका खेल्छ भन्ने मलाई लाग्छ ।

यस्तो कार्यक्रममा हामी अनुसन्धानमा पनि हिंडिराखेका हुन्छौं । हामीले बिर्सन थालेका लोकशैलीका गीतलाई हामीले यसमा समावेश गर्‍यौं । वास्तविक लोकगीतहरु निकै कम रेकर्ड भएका छन् पछिल्लो समय यो अनुभव मैले गरें । अघिल्लो सिजनमा पनि म म्युजिक कोचको रुपमा थिएँ र यसमा पनि रहें । दुवै सिजनको अनुभवले मलाई यो महसुस गरायो । कलाकारमा दोहोरी मोह बढी भएको छ । ठाडो व्यावसायिकताको हिसाबले मात्र लागें । सांस्कृतिक महत्वका विषयवस्तुसँग जोडिएका वास्तविक लोकगीत कम रेकर्ड भएका छन् ।

हामीले यो कार्यक्रमको दौरानमा हामीले ती चीज पनि खोज्ने र रिसर्च गर्ने गीतहरु संरक्षण, सम्वद्र्धन र रेकर्ड गरेर अघि ल्याउने काम गर्ने प्रयास गर्‍यौं, भोलिका दिनमा यसले उल्लेख्य रुपमा ठाउँ पाउँछ जस्तो लाग्छ मलाई । जति पनि मूलधारका संगीत छन्, ती गीतहरु जोगाउन र बढावा दिन पनि हामीले वास्तविक मौलिक लोकसंगीतलाई जोगाउनु जरुरी छ । यसका लागि यो कार्यक्रम औचित्यपूर्ण हुन्छ भन्ने लाग्छ ।

यस अर्थमा कति सफल रह्यो त लोकस्टार ?

निश्चय पनि यसले गर्दा धेरैलाई लोकसंगीतप्रति मोह जागेको छ । हामीले सोच्दै नसोचेका मौलिक र लोकल कलाकारलाई पनि हामीले कार्यक्रमको दौरानमा भेट्यौं । उहाँले हामीलाई ती ठाउँमा बोलाउनुभयो । यसपटक हामी धेरै जान पाएनौं । यहीं बसेर हामीले सम्पर्क गरेर उहाँहरुलाई लोकस्टारमा समावेश गर्ने काम गर्‍यौं ।

निश्चय पनि एकदम अर्थपूर्ण र सफल रह्यो । चलचित्रका कलाकार, गायक, संगीतकार, निर्मातालाई पनि गेस्ट जजको रुपमा बोलायौं सन्दर्भ मिलाएर । लोकशैलीका चलचित्र गीत, लोकशैलीका पपगीत मिलाएर । उहाँहरुले त्यसक्रममा पनि नेपालको मौलिकता भने लोकसंगीत नै रहेको बताउनुभयो । नेपाली संगीतबाट लोकपन हटाइदिने हो भने मौलिकता के रहन्छ र ? हामीले नेपाली भनेर चिनाउने आधार नै रहँदैन । समग्र मूलधारको संगीतलाई जोगाउन हामीले लोकसंगीतलाई जोगाउन जरुरी छ । यसका लागि हिमालय लोकस्टार सफल रह्यो ।

राउण्डअनुसार गीतको छनोट कसरी गर्नुभयो ?

हामीले हरेक राउण्ड गर्‍यौं, जसरी गन्धर्व राउण्ड भयो । पुराना लोकगीत, चलचित्र, पप शैलीका लोकगीत राउण्ड रहे । गायकमा विविधता पनि देखियोस् । गायकले सबै किसिमका गीत गाउन दखल छ र होस् भन्ने हो । त्यसलाई निखार्ने काम पनि हामीले गर्‍यौं । उनीहरुले जति जानेका छन्, त्यति नै निखारेर उति नै राम्रो बनाउने कोसिस पनि रह्यो । यसका लागि हामीले फरक–फरक राउण्ड पनि गर्‍यौं । कुनैमा युगल गर्‍यौं, कुनैमा चार जनालाई गाउन लगायौं । दोहोरीको राउण्ड पनि गर्‍यौं । लोकदोहोरी लोकसंगीतको एउटा महत्वपूर्ण हाँगो हो । लोकदोहोरी पनि उनीहरु समर्थ हुनुपर्छ किनभने यो हाम्रो पहिचान हो भनेर यो राउण्ड पनि राख्यौं । गन्धर्व हाम्रो विशिष्ट परम्परा छ । गन्धर्वलाई संगीतको अगुवा मानिन्छ ।

पञ्चेबाजा पनि रह्यो । पञ्चेबाजा सुन्दा विवाहमा गाउने मात्र भन्ने लाग्छ । पञ्जेचाजाको यति विशाल अस्तित्व र महत्व छ, देशका हरेक कुनाकाप्चामा पञ्चेबाजाको गीत गाइन्छ । त्यसको शैली फरक छ । विवाहमा मात्र झ्यामझ्याम गरेर नाच्ने भनेर बुझिन्छ । त्यसो होइन । पूर्वेली गीत, चण्डी नाचमा पञ्चेबाजा प्रयोग हुन्छ । काँठे शैलीका गीतमा पनि पञ्चेबाजाको प्रयोग हुन्छ, पश्चिमतिर भइहाल्यो । उता सुदूरपश्चिममा हुड्क्यौली इत्यादि गीतमा पञ्चेबाजालाई मिश्रण गराइन्छ र पृथक तरिकाले गाइन्छ । यसकारण पञ्चेबाजा हरेक तरिकाले गाइन्छ । गीतको उठान पनि राउण्डअनुसार सान्दर्भिक ठानेर छानेका थियौं ।

यसपटकका प्रतिस्पर्धी कस्तो पाउनुभयो ? उनीहरुमा संगीतप्रतिको लगाव र जाँगर कस्तो पाउनुभयो ?

यसपटक मेहनती र चुनौती रुचाउने खालका भाइबहिनी हामीले पाइयो । म्युजिक निर्देशकको नाताले उनीहरुलाई कठिन हुँदा सजिलो कसरी गराउने भन्ने सोच हुन्थ्यो मेरो । यिनीहरुलाई यो टाइपको गाउनुपर्छ भनेर त्यसरी पनि सिकाइयो । अर्को कुरा, उनीहरुले संगीत परम्परा र संस्कारलाई नै नबुझेको बताए । संगीतको पद्धति के हो ? वास्तविक संगीतको शास्त्र के रहेछ ? भन्ने कुरा छोटो समयमा धेरै बुझ्यौं । लोकस्टारले हामीलाई ठूलो कुरा दियो र बाटो खोलिदियो ।

कम्तीमा वास्तविक संगीत भनेको के रहेछ ? संगीतमा परम्पराको महत्व के रहेछ ? यो कुरा बुझ्नका लागि हामीलाई लोकस्टारले मद्दत गर्‍यो । लोकगीतको सन्दर्भमा सिक्न पर्दैन यत्तिकै गाए भइहाल्छ भन्ने छ । तर त्यो चाहिं होइन । प्रतिस्पर्धीको मेहनत र लगाव पाएँ । गुरुको हिसाबमा गर्ने भूमिका खेलें ।

अपरिपक्व’ गायकलाई फिनालेसम्म लैजाँदा उनीहरुलाई निखार्ने प्रक्रिया हुन्छ । लोकस्टारमा यो प्रक्रिया कस्तो रह्यो ?

म सुरुमा जिरोदेखि नै उनीहरुसँग रहेको छु । सुरुदेखि नै उनीहरुलाई निखार्ने अहम् भूमिका थियो । उनीहरुले संगीतबिनै यत्तिकै गाएर गीत पठाएका थिए । त्यसलाई सुन्यौं, त्यसलाई जजमेन्ट गरेर निखार्‍यौं । त्यो छनोट गरेर फिजिकल रुपमा बोलाएर हजारौंबाट छान्यौं । त्यसपछिका चरणका लागि उनीहरुलाई तयार पार्दै लग्यौं । संगीत भनेको सुर र तालको राम्रो संयोजन हो । त्यसपछि त्यहाँ लोकपन र मन चाहियो । भाव र फिल हुनुपर्‍यो । प्राविधिक र अप्राविधिक शैली पनि बुझाउँदै गइयो । सुरुमा पियानो, त्यसपछि मादल र तालबाजा, गर्दै गर्दै धेरै बाजामा गाउँदै गए । यस्तो गर्दा व्यायाम गरेजस्तो हुने रहेछ । सुरुको दिनमा उनीहरुको प्रस्तुति र फाइनलसम्म आउँदा उनीहरुको प्रस्तुतिको बीचमा उनीहरुले धेरै कुरा सिक्न पाए । त्यसमा गुरुको हिसाबले सिकाउने माध्यमको रुपमा म भएँ । जजहरुको कमेन्टले पनि उनीहरुलाई टिप्स मिल्थ्यो । मैले यसमा यो पार्टलाई बढाउनुपर्छ, रेन्ज मिलेको छ भने हाइ-लो कसरी बढाउने, स्वरलाई कसरी बचाउने जस्ता कुरा, केही भयो भने सांगीतिक योग सकेसम्म गराइयो । जसले गर्दा उनीहरुमा निखार हुँदै आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?