
२१ वैशाख, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महसुस गरेका कमी कमजोरी समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खेलकुद मन्त्रालयको काममा दैनिक १८ घण्टा समय दिने बताएका हुन् ।
‘सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरुले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु’ उनले भने ।
खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नु आफ्नो प्राथमिकता हुने मन्त्री लिम्बूले बताए । ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरुले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु’ उनले भने ।
बुधबार नियुक्त भएका खेलकुदमन्त्री लिम्बूले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।
प्रतिक्रिया 4