+
+

‘प्राइस वार’ले बढायो इन्टरनेटको गुणस्तर ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:५८

२१ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरुमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबीच मूल्य र गति (स्पिड) को प्रतिस्पर्धा जति रोचक बनेको छ, उतिकै अस्वस्थप्रद पनि बन्दै जान थालेको छ । सस्तोमा इन्टरनेट जोडेका ग्राहकलाई भनिएजति ‘स्पिड’मा इन्टरनेट नपाइने समस्याले झन् बढी पिरोल्न थालेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उच्च गतिका इन्टरनेट सेवाको योजना त ल्याएका छन्, तर अधिकांशले ग्राहकको अनुभव बदलेर सन्तुष्ट पार्न सकेका छैनन् ।

कुनै कम्पनीले उच्च गतिको इन्टरनेट सेवा सस्तोमा दिने घोषणा गर्नासाथ अर्कोले त्यसलाई उछिन्ने गरी प्रस्तुत हुने क्रम चौधरी ग्रुपको सीजी कम्युनिकेसनले इन्टरनेट सेवा सुरु गरेपछि बढेको हो । अहिले डिसहोम फाइबर नेट आक्रामक ढंगले बजार विस्तारमा लागेको छ ।

अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरु अरुलाई माथ खुवाउने गरी मूल्यको प्रतिस्पर्धा (प्राइस वार)मा छन् ।

तर, अस्वस्थ प्रतिस्पर्धाकै कारण विभिन्न इन्टरनेट कम्पनीहरु पनि प्रभावित हुन थालेका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पानका पूर्वअध्यक्ष विनय बोहोरा पछिल्ला दिनमा २–३ वटा सेवा प्रदायक कम्पनी नै बन्द हुन पुगेको बताउँछन् । अन्य कम्पनीले पनि समस्या भोग्नु परेको उनको गुनासो छ । कतिपय लगानीकर्ता नै इन्टरनेट उद्योगबाट पलायन भएको उनको भनाइ छ ।
‘देश पनि आर्थिक मन्दीतिर गइरहेको छ, आम्दानी घटेकै छ, जताततैबाट असर परिरहेको छ,’ उनी भन्छन्,‘ इन्टरनेटमा घाटाको सौदा भइरहेको छ, यसले न कम्पनीहरुलाई फाइदा भयो, न उपभोक्तालाई ।’

अस्वस्थ प्रतिस्पर्धाले आर्थिक रुपमा लाभ भएजस्तो देखिए पनि ‘स्पिड’मा भने ठगिएको पत्तो उपभोक्ताले नपाउने अवस्था बनेको छ । ‘कम मूल्यमा इन्टरनेट दिएपछि राम्रो सर्भिस र सपोर्ट दिन सकिंदैन,’ पूर्व अध्यक्ष बाहोरा भन्छन्, ‘नियामक निकायले चाह्यो भने इन्टरनेट सेवा र यसको व्यवसायलाई अझै भरपर्दो, गुणस्तरीय र मर्यादित बनाउन सकिन्छ ।’

उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमा घोषणा गरेका कम्पनीले प्याकेजअनुसार गति उपलब्ध गराउन सक्लान् भन्नेमा स्वयम् नियामकीय निकाय दूरसञ्चार प्राधिकरण नै विश्वस्त छैन ।

प्राधिकरणका अधिकारीहरुका अनुसार सेवा प्रदायक कम्पनीले सस्तोमा दिने भन्दै आफूखुसी घोषणा गरेको स्पिड कुन खालको हो भन्ने स्पष्ट हुने गरेको छैन ।

इन्टरनेटका स्पिड अधिकतम्, न्यूनतम् र साधारण गरी तीन किसिमका हुन्छन् । ‘उच्च गतिको इन्टरनेट सेवा दिने’ भन्ने गरेका कम्पनीले तोकेको स्पिड अधिकतम्, साधारण वा न्यूनतम् के हो भन्ने खुलाएर ग्राहकलाई भन्ने गरेको पाइँदैन ।

जानकारहरुका अनुसार अहिले बजारमा उपलब्ध उच्च गतिका सस्ता प्याकेज घोषित मूल्यमा उपलब्ध गराउन सम्भव नै छैन । नेपालमा खपत हुने ब्यान्डविथमध्ये करिब १५ प्रतिशत अन्तर्राष्ट्रिय कन्टेटमा आधारित हुन्छ भने करिब ८५ प्रतिशत स्थानीय कन्टेन्टमा । फेसबुक, टिकटक, युट्युब जस्ता धेरै हेरिने कन्टेन्टका लोकल सर्भर नेपालमा नै छन् । तर पनि केही केन्टेटहरुका लागि अन्तर्राष्ट्रिय सर्भरमा भर पर्नुपर्दा ब्यान्डविथ पनि विदेशी नै खपत हुन्छ । यसअनुसार अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्दा तोकिएको स्पिड पाउनै सकिंदैन ।

प्राधिकरण एक अधिकारीका अनुसार ६०० एमबीपीएको सेवा दिने कम्पनीले कम्तीमा १२० एमबीपीएस इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउनुपर्छ । यसअनुसार ४ डलर प्रतिमहिना प्रतिएमबीपीएस भुक्तानी गर्दा पनि अन्तर्राष्ट्रिय ब्यान्डविथका लागि महिनामा प्रतिग्राहक ४० हजारभन्दा बढी हजार रुपैयाँ खर्चिनुपर्ने हुनसक्छ ।

‘अहिले केही हजारमै सयौं एमबीपीएमाथिको इन्टरनेट सेवा दिने भनिँदैछ, त्यो कसरी सम्भव हुन्छ ?,’ प्राधिकरणका ती प्राविधिक अधिकारी भन्छन्, ‘लोकल कन्टेन्टमा मात्रै त्यो स्पिड मिट हुन्छ, अन्तर्राष्ट्रिय कन्टेन्टका लागि सस्तो मूल्यमा दिन कठिन हुन्छ ।’

फाइबर इन्टरनेट लोकप्रिय भएसँगै नेपालमा १० वर्षका बीचमा तारमा आधारित इन्टरनेट प्रयोगकर्ता ३ प्रतिशतबाट ३८ प्रतिशत पुगेका छन् । इन्टरनेट सेवालाई ग्रामीण सतरसम्म लैजान सरकारभन्दा बढी निजी क्षेत्रले योगदान पनि दिएको छ ।

तर, पछिल्ला दिनमा इन्टरनेट सेवा प्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा झांगिदा एउटा सेवा प्रदायकको तार अर्कोले काटिदिनेसम्मका काम भइरहेको छ । यसले कम्पनीको खर्च बढेर अन्ततः उपभोक्ताको टाउकोमाथि नै भार परिरहेको सेवा प्रदायक कम्पनीहरु नै बताउँछन् ।
इन्टरनेट सेवा प्रदायकहरुले मूल्यमा अधिक छुट दिएर ग्राहक आकर्षित गर्ने तर, कमजोर गुणस्तरको इन्टरनेट सेवा दिने गर्दा सेवाग्राहीहरु नै मर्कामा परिरहेका छन् ।

नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्म गुणस्तर मापदण्डको अनुमगन नै गर्न सकेको छैन । प्राधिकरणका निर्देशक मिनप्रसाद आर्याल भने मूल्यमा कम्पनीहरुबीच प्रतिस्पर्धा हुँदा ग्राहक आफूतिर फर्काउन गुणस्तर सुधार्नुपर्ने भएपनि त्यसो भएकोमा आशंका जनाउँछन् । ‘इन्टरनेट राम्रो गतिको दिन्छु भनेर सस्तोमा बेच्ने तर साँझ एकसाथ परिवारका सदस्यले इन्टरनेट चलाउँदा घुम्ने मात्रै भइरह्यो भने त त्यो राम्रो होइन,’ उनले भने, ‘मूल्य जति भएपनि गुणस्तर तोकिएजति दिनुपर्छ ।’

अस्वस्थ प्रतिस्पर्धाका बीच मूल्य घटाएर सेवाका गुणस्तर बढाउनै नसकिने सेवा प्रदायकहरुको दाबी छ । बढ्दो सञ्चालन खर्च, वृद्धि भएको पोल भाडा, अमेरिकी डलरको अधिमूल्यन, बैंकको ब्याजदरमा भएको उच्च वृद्धि लगायतका कारण इन्टरनेट सेवा महँगिने अवस्था रहेको उनीहरुको भनाइ छ ।

‘इन्टरनेट ब्यान्डविथदेखि तार र उपकरणसम्म आयात गर्नुपर्छ, खर्च बढ्दो छ तर मूल्य भने नाफको मार्जिन नै नराखेर निर्धारण गर्ने अवस्थाले इन्टरनेट कम्पनी कस्मिक एयर बन्ने खतरा छ,’ पूर्वअध्यक्ष बोहोरा भन्छन्, ‘अब विस्तारै सेवा प्रदायकहरु प्राइसवारमा जान छाडेका छन्, कम्पनी भायानेट अब अस्वस्थ प्रतिस्पर्धामा लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?