+
+

‘लागूऔषधले चेतना र सोचलाई नै प्रभावित बनाउँछ’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख २३ गते ९:४५

काठमाडौं । लागूऔषधको लतमा धेरै युवा परेका छन् । यसले स्वयं प्रयोगकर्तालाई त दुःख दिन्छ नै परिवार, साथीभाइलाई पनि तनाव दिन्छ ।

लागूऔषध खराब हो, यसले स्वास्थ्यलाई हानि पुर्‍याइरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि यसको लतमा फसेपछि धेरैलाई सामान्य जीवनमा फर्किन कठिन भइरहेको छ । यसबाट छुटकारा पाउने प्रयास गर्दा पनि शरीरमा यस्तो असर देखिन थाल्छ कि व्यक्ति फेरि लागूऔषधतर्फ नै फर्किन्छ । तर यसबाट छुटकारा पाउन गाह्रो होला तर असम्भव भने नभएको त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक तथा मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् ।

सन् २०२० मा गृह मन्त्रालयले एउटा राष्ट्रिय सर्वेक्षण गरेको थियो । यसअनुसार नेपालमा कडाखाले लागूपदार्थ सेवन गर्नेको संख्या एक लाख ३० हजारको हाराहारीमा छ । ‘तर यो क्षेत्रमा लामो समयदेखि काम गरेको हुनाले प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको मैले पाएको छु,’ पन्त भन्छन् । लागूपदार्थ प्रयोगकर्तामध्ये पनि धेरै गाँजाजन्य पदार्थ प्रयोग गर्नेको संख्या बढी रहेको डा. पन्त बताउँछन् । ‘२० देखि २५ वर्ष उमेर समूहका युवा यसमा बढी छन्,’ उनी भन्छन् ।

मानसिक स्वास्थ्य समस्याको एक कारण

लागूऔषध सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गर्नुका साथै प्रयोगकर्ताको भावना र सोचाइमा परिवर्तन ल्याउँछ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झिने र सोच्ने शक्तिलाई विकृत तुल्याउने डा. पन्त बताउँछन् ।

‘लागूऔषध दुर्व्यसन सानै उमेरबाट वा दिमागको पूरै विकास नहुँदै गरियो भने यसले व्यक्तिको व्यक्तित्व विकासमा नै असर गर्छ । लागूऔषधको सेवनले पढाइमा असर पर्ने, करिअरमा असर पर्ने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘योसँगै परिवारसँगको सम्बन्धमा, जीवनोपयोगी कुरा सिक्ने क्षमतामा पनि यसले असर गर्छ ।’

युवाहरूमा लागूऔषधको सेवनको लत लामो समयसम्म रह्यो भने विभिन्न प्रकारमा शारीरिक र मानसिक स्वास्थ्य समस्या देखिन सक्ने पन्त बताउँछन् । ‘सुईमार्फत प्रयोग गर्ने लागूपदार्थ प्रयोग गर्दा रगतबाट सर्ने विभिन्न किसिमका रोग एचआईभी, हेपाटाइटिस सी जस्ता रोग पनि सर्न सक्छ,’ उनी भन्छन् ।

गाँजा, अफिमको प्रयोग गरिरहेका व्यक्तिमा दीर्घकालीन रूपमा विभिन्न किसिमका मानसिक समस्या जस्तै डिप्रेसन, एन्जाइटी र कडा प्रकारका मानसिक रोग लाग्ने सम्भावना हुने पन्त बताउँछन् ।

लामो समय गाँजाजन्य पदार्थको सेवनले साइकोसिस, सिजोफ्रेनिया जस्ता रोगको जोखिम बढ्छ । अफिमको प्रयोगले डिप्रेसन र डरको समस्या बढाउने डा. पन्त बताउँछन् ।

लागूऔषध प्रयोगकर्तामा देखिने अर्को समस्या आत्महत्याको जोखिम पनि हो । ‘लागूऔषधले मानिसलाई अलि उत्साहित, आक्रामक र झोंकी बनाउँछ । जसले गर्दा के गर्नु ठीक के बेठीक भनेर छुट्याउन अप्ठ्यारो हुन्छ । लामो समय प्रयोग गरेपछि यसलाई छोड्दा आफूलाई हािन पुर्‍याउने गतिविधि गर्न सक्छन्,’ डा. पन्त भन्छन्, ‘यस्ता व्यक्तिमा व्यक्तित्वको समस्या पनि बढी देखिन्छ । ‘एन्टी सोसल पर्सनालिटी’मा तनावको व्यवस्था हुन नसक्दा तथा मानसिक समस्याको सही उपचार नगर्दा आत्महत्याको जोखिम समेत बढ्छ ।’

कोही लागूपदार्थको दुर्व्यसनमा फसेको कसरी चिन्ने ?

आफ्नो सन्तान कतै लागूऔषधको दुर्व्यसनमा फसेको त छैन ? भन्ने चिन्ता धेरै अभिभावकलाई लाग्न सक्छ । यसका लागि घरमा अभिभावक र स्कुलमा शिक्षकले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

‘छोराछोरीको पढाइ बिग्रिंदै गएको छ, उसको साथीसंगत परिवर्तन भएको छ । बोल्ने शैली परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ, उसको व्यवहारमा अस्वाभाविक परिवर्तन हुँदै गइरहेको छ, आक्रामक हुने, रिसाउने, निद्रामा समस्या र खानमा अरुचि भएको छ भने लागूपदार्थको दुर्व्यसनमा फसेको हुन सक्छ,’ डा. पन्त भन्छन् ।

साथै उसको कोठामा सलाईको काँटी, औषधिको खोल र सुई भेटियो भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ । तर सिधै गएर उसलाई गाली गर्नु भन्दा उसले कहिलेबाट यो प्रयोग गरेको हो ? गरेको हो कि होइन भनेर खुल्ला वातावरणमा कुराकानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने पन्त सुझाउँछन् ।

धेरै अभिभावक मेरो छोराछोरीले वा परिवारका व्यक्तिहरूले लागूऔषध गर्नै सक्दैन भनेर सोच्छन् । त्यो सोचेर मेरो नैतिकता पतन हुन्छ अब भन्नुभन्दा उनीहरूलाई त्यसबाट कसरी बाहिर निकाल्ने भन्ने कुरा सोच्नुपर्ने उनको सुझाव छ ।

लागूऔषधको लत कसरी छुटाउने ?

‘कुनै पनि पूर्वाग्रह नराखी कुलतमा फसेको व्यक्तिको कुरा सुन्नुपर्छ । उसलाई गाली गर्ने, कुरा नसुन्ने गरियो भने उसले सहयोग लिन सक्दैन र झन् कुलतमा फस्न सक्छ,’ डा. पन्त भन्छन्, ‘उसको कुरा राम्ररी सुनिदियो भने उसले परिवारको सहयोगमा यो लत छोड्न सक्छ । लत छोड्नका लागि उपचार अघि बढाउन सकिन्छ ।’

लागूपदार्थको दुर्व्यसनमा फसेका व्यक्तिलाई बाहिर निकाल्न अभिभावकले सहरी क्षेत्रमा मानसिक रोग विशेषज्ञ  तथा क्लिनिकल मनोविद्को सहयोग लिन सक्छन् भने गाउँमा स्वास्थ्य चौकीमा भएका चिकित्सकको सहयोग लिन सक्छन् । त्यसपछिको उपचार सुधार गृहमा तथा अस्पतालमा गर्न सकिने पन्त बताउँछन् ।

‘लागूऔषध प्रयोग गर्ने व्यक्तिलाई एक समयमा पुगेर यो छोड्छु भन्ने सोच आउँछ । तर उसले छोड्छु भनेर सजिलै छोड्न सक्दैन । यदि कुनै व्यक्तिलाई भित्रबाटै केही छोड्छु भन्ने सोच आएको छ भने उसले मिल्ने साथी वा परिवारका सदस्यको सहयोग लिन जरुरी छ,’ पन्त भन्छन्, ‘त्यसपछि विशेषज्ञको सहयोग लिनुपर्छ । किनकि सहयोग बिना छोडेको लत फेरि दोहोरिन सक्छ ।’

लागूऔषध प्रयोग गरिसकेको व्यक्तिको आत्मबल कमजोर हुन्छ । त्यसैले जतिसक्दो छिटो उसलाई काममा वा पढाइमा फर्काउनुपर्छ । कुनै कुरामा व्यस्त भयो भने समय व्यवस्थापन हुने र लागूऔषधको तलतलबाट बाहिर निस्किन सक्ने पन्त बताउँछन् ।

लागूऔषधको लतमा फस्नै नदिन के गर्ने ?

प्रत्येक अभिभावकले आफ्ना सन्तानलाई सानै उमेरबाट लागूऔषधबारे शिक्षा दिनुपर्छ । यसको प्रयोगले हुने असरका बारेमा जानकारी दिनुपर्छ ।

‘साथीहरूले लागूऔषध प्रयोग गर्छन् र गर्ने सल्लाह दिन्छन् भने कसरी नाइँ भन्ने, सही र गलतको पहिचान कसरी गर्ने जस्ता कुरा स्कुलमा सिकाउनुपर्छ,’ डा. पन्त भन्छन्, ‘अभिभावक तथा विद्यालयले बच्चा कहाँ जान्छ, उसको संगत कस्तो छ, उसको व्यवहारमा परिवर्तन आएको छ कि भनेर ध्यान दिनुपर्छ ।’

साथै सरकारी स्तरबाट पनि लागूऔषध दुर्व्यसनबारे जनचेतना फैलाउनुपर्छ । डा. पन्त सmुभाउँछन्, ‘दूरदराजका स्वास्थ्य संस्थामा लागूऔषध जाँच कसरी गर्ने भन्ने तालिम दिनुपर्छ ।’

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?