News Summary
Generated by OK AI. Editorially reviewed.- मनोचिकित्सक डा. सगुन बल्लभ पन्तले शोकका विभिन्न चरणहरू र त्यसको व्यवस्थापनमा समय र सहयोग आवश्यक हुने बताएका छन्।
- आन्दोलनमा ज्यान गुमाउने परिवारमा पोस्ट–ट्रमाटिक डिसअर्डर, तनाव र डिप्रेसन देखिन सक्ने मनोचिकित्सक डा. सुमन प्रसाद अधिकारीले बताएका छन्।
- डा. अनन्त अधिकारीले शोकमा रहेका परिवारलाई मनोसामाजिक परामर्श र सकारात्मक वातावरण आवश्यक रहेको र हेल्पलाइन ११६६ मा सम्पर्क गर्न सुझाव दिएका छन्।
शोक एक प्राकृतिक प्रक्रिया हो, जसलाई बुझ्न र व्यवस्थापन गर्न समय र सहयोग आवश्यक हुन्छ । शोक बेला व्यक्तिलाई यथार्थ स्वीकार निकै कठिन हुने मनोचिकित्सक डा. सगुन बल्लभ पन्त बताउँछन् । उनका अनुसार शोकका विभिन्न चरणहरू हुन्छन् ।
‘शोकमा सबैभन्दा पहिले त शून्यताको अवस्था हुन्छ’ डा.पन्त भन्छन्, ‘प्रियजन गुमाएपछि व्यक्तिलाई यो घटना सपना हो कि वास्तविकता हो भन्ने भान हुन्छ । आफ्नो सन्तान वा आफन्त फर्केर आउलान् जस्तो लाग्न सक्छ ।’
डा पन्तका अनुसार समय बित्दै जाँदा शोकाकुल परिवारमा रिस उठ्न थाल्छ । अहिले आन्दोलनमा ज्यान गुमाउनेहरूका परिवारको कुरा गर्ने हो भने उनीहरूमा सरकारको नेतृत्व गर्नेहरू, सुरक्षाकर्मी वा यस घटनासँग जोडिएका व्यक्तिसँग रिस उठ्न सक्छ । घटनाका विषयमा मनमा विभिन्न भावनाहरू उब्जिन्छन् । जस्तै ‘यस्तो नभएको भए मेरो आफन्त बाँच्थे’ भन्ने खालका भावनाहरू आउने डा. पन्त बताउँछन् ।
यो चरणमा व्यक्तिले ‘यदि यस्तो भएको भए, यो घटना हुँदैनथ्यो’ भन्ने सोच राख्छ । जस्तै: सरकारमा बस्नेले भ्रष्टाचार नगरेको भए, गोली नचलेको भए वा त्यहाँ नगएको भए जस्ता विचारहरू मनमा खेल्न थाल्ने उनको भनाइ छ ।
यसपछिको चरणमा शोक बिस्तारै निराशामा परिरण हुने डा.पन्तले जानकारी दिए । ‘यो चरणमा व्यक्तिलाई गहिरो दुख, एक्लोपन, र निराशा महसुस हुन्छ’ डा.पन्त भन्छन्, ‘खाना र निद्रामा रुचि हराउने, भोक नलाग्ने र छटपटी हुने जस्ता लक्षण देखिन सक्छन् ।’
उनका अनुसार समयसँगै व्यक्तिले यथार्थ स्वीकार गर्न थाल्छ । यो चरणमा शोकलाई शक्तिमा बदल्ने सम्भावना बढ्छ । विशेष गरी उनीहरूले आफ्नो प्रियजनको बलिदान देशको परिवर्तनका लागि भएको ठानेर केही सम्हालिन्छन् ।
मनोचिकित्सक डा.अनन्त अधिकारीले यस्ता प्रतिक्रियालाई ‘एक्युट स्ट्रेस रियाक्सन’ भनेका छन्, जसमा छटपटी, डर, घटना स्मरण, अनिद्रा, रुन मन लाग्ने र बेहोस् हुने जस्ता लक्षण देखिन्छन् । यदि यो समय पीडा दबाइयो भने दीर्घकालीन डिप्रेसन वा आत्महत्याको जोखिम बढ्छ ।
यो आन्दोलनका कारण मानसिक समस्या लिएर अस्पताल आउनेहरूको संख्या बढेको डा.अधिकारीले बताए ।
आन्दोलनमा प्रत्यक्ष संलग्न वा आफन्त गुमाउनेहरूमा पोस्ट–ट्रमाटिक डिसअर्डर, तनाव, एन्जाइटी वा डिप्रेसन देखिन सक्ने मनोचिकत्सक डा. सुमन प्रसाद अधिकारी बताउँछन्। उनका अनुसार जसमा घटनाको झल्को आउने, सपनामा देखिने र सानो आवाजले पनि डराउने हुन सक्छ ।
मनोसामाजिक परामर्शको महत्व
मनोसामाजिक परामर्शले शोकमा रहेका व्यक्तिलाई आफ्ना भावना व्यक्त गर्न, तनाव व्यवस्थापन गर्न र शोकलाई शक्तिमा बदल्न सहयोग गर्छ । शोकलाई शक्तिमा बदल्न समय लाग्ने मनोचिकित्सक डा.पन्त बताउँछन् ।
‘यो एकैचोटि सम्भव हुँदैन’ डा.पन्त भन्छन्, ‘परामर्शले व्यक्तिलाई आफ्नो दु:ख व्यक्त गर्न सुरक्षित वातावरण प्रदान गर्छ, जसले आत्मबल र स्वाभिमान बढाउन मद्दत गर्छ ।’ शहीद परिवारलाई राजनीतिक क्रियाकलापमा संलग्न गराउँदा आत्मबल बढ्ने पन्त बताउँछन् । शोकको फाइदा उठाउने वा उसलाई अनावश्यक प्रयोग भने गर्न नहुने उनले स्पष्ट पारे ।
शोकमा रहेका परिवारलाई तत्कालीन तनाव व्यवस्थापन र दीर्घकालीन समस्या रोक्न परामर्श जरूरी रहेको डा.अनन्त बताउँछन्। ‘समाज र मिडियाले सकारात्मक सन्देश दिनुपर्छ’ उनी भन्छन्, ‘अतिरञ्जित समाचारबाट बच्नुपर्छ ।’
कुनै काममा सक्रिय रहने, सिर्जनात्मक काममा लाग्ने, परिवारसँग बस्ने र भावना सेयर गर्दा सहज हुने डा.अनन्त बताउँछन् । यस्तो समयमा तनाव कम गर्ने नाममा लागू पदार्थ सेवनबाट भने बच्नुपर्ने उनको सुझाव छ ।
लक्षणहरू बढेमा हेल्पलाइन सुसाइड प्रिभेन्सन हटलाइन ११६६ वा मनोचिकित्सकसँग सम्पर्क गर्न डा.सुमनको सुझाव छ ।
परिवार र आफन्तको भूमिका
शोकमा भएका व्यक्तिको भावना सुन्ने, रुन दिने र सम्झना सेयर गर्न प्ररित गर्नुपर्छ । डा. पन्तका अनुसार, उनीहरूलाई यो कुराबाट टाढा राख्ने भन्दा पनि दिवंगतका फोटो र सामान हेरेर उपलब्धि सम्झाउनुपर्छ।
शोकमा भएका व्यक्ति र परिवारलाई आफन्त तथा छिमेकीले व्यवहारिक सहयोग पनि गर्न सक्छन् । घरेलु काममा मद्दत गर्नुपर्छ । ‘सान्त्वना दिने, एक्लो नछाड्ने, उनीहरूको मृत्यु संस्कारका प्रकियामा सघाउनुपर्छ’ डा. अनन्त भन्छन् ।
शोकको बेला आफन्तको साथ सपोर्ट गर्दा शोकमा भएका व्यक्तिको डर घट्ने र हिम्मत बढ्ने डा. सुमनको भनाइ छ ।
समाज र छिमेकीको भूमिका
डा. सुमनका अनुसार शोक भएका परिवारलाई सहानुभूति दिनुपर्छ । भेदभाव गर्नु हुँदैन । रोजगारी र सामुदायिक क्रियाकलापमा सहयोग गर्नुपर्छ ।
शोकमा भएका व्यक्ति र परिवारका लागि सकारात्मक वातावरण बनाउनुपर्ने डा. अनन्त बताउँछन् । छिमेकीले दिने साथ र सहयोगले समस्या बढ्नबाट बचाउने उनको भनाइ छ ।
चिकित्सक र संस्थाहरूको भूमिका
अनिद्रा, डर, आत्महत्या सोच, दैनिक काममा असर जस्ता लक्षण देखिएमा विशेषज्ञ भेट्नुपर्छ । यस्तो अवस्थामा उपलब्ध भएका ठाउँमा साइकेट्रिक्स वा क्लिनिकल साइकोलोजिस्ट तथा ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाट सहयोग लिन सकिने डा.अनन्त बताउँछन् ।
‘सहयोग लिन हिच्किचाउनुहुन्न । डाइग्नोसिस भन्दा सपोर्टमा जोड दिनुपर्छ’ उनी भन्छन्, ‘संस्थाहरू जस्तै साइकियाट्रिक एसोसिएसन अफ नेपालले निःशुल्क परामर्श दिन सक्छन्।’
डा. अनन्त अधिकारीले सुझाए अनुसार, मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारी र गैरसरकारी संस्थाहरूबीच समन्वय आवश्यक छ । इडिसीडीको मानसिक स्वास्थ्य इकाईले समन्वयकारी भूमिका खेल्न सक्छ । मिडियाले सनसनीपूर्ण समाचारको सट्टा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
सरकार र संस्थागत भूमिका
उपचार दायित्वमा मानसिक स्वास्थ्य समावेश हुनुपर्ने चिकित्सकको भनाइ छ । शहीद परिवारलाई प्राथमिकता दिई निःशुल्क सेवा दिन अपिल गर्नुपर्ने डा.अनन्त बताउँछन् । उनका अनुसार योजना बनाई तत्कालीन र दीर्घकालीन समस्या सम्बोधन गर्नुपर्छ । मिडिया र स्वास्थ्य सेवा प्रदायकहरूले राष्ट्रिय शोकमा मनोपरामर्शयुक्त सूचनाहरू दिई सचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।
शोकलाई शक्तिमा बदल्ने तरिका
शहीद परिवारलाई उनीहरूको प्रियजनको बलिदानले देशमा परिवर्तन ल्याएको महसुस गराउन सक्यो भने त्यसले शोकलाई कम गर्ने डा.पन्त बताउँछन् । उनीहरूलाई सामाजिक र राजनीतिक गतिविधिमा संलग्न गराउँदा आत्मबल बढ्छ ।
शहीद परिवारलाई सामुदायिक कार्यक्रम, सभा र छलफलमा सहभागी गराएर उनीहरूको सम्मान र स्वाभिमान बढाउन सकिने उनले बताए ।
आर्थिक सहयोगसँगै भावनात्मक सहानुभूति र सामाजिक संलग्नताले परिवारलाई शोकबाट बाहिर निस्कन सहयोग गर्ने डा. अनन्तको भनाइ छ । विपत्तिबाट उठेका देशहरू जस्तै जापानको उदाहरण दिँदै उनले भने, ‘यो अवस्थाबाट बाहिर निस्कन सामूहिक भावना र एकताको शक्तिले सम्भव छ ।’
आन्दोलनका शहीद र घाइतेका परिवारलाई आर्थिक सहयोगसँगै मनोसामाजिक सहायता आवश्यक भएको उनी बताछन् ।
प्रतिक्रिया 4