 
																			२२ वैशाख, लुम्बिनी । लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्ने मागसहित शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा उक्त कुराको ध्यानाकर्षण गराएका हुन् ।
दुई २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० मूल समारोहका लागि लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई सिद्धार्थ उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलले भेटी विमानस्थल पूर्णरुपले सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यस्तै नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतारको उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यहीँ भएकाले विश्वका सबै बुद्धिष्ट मुलुकलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकामा त्यो छुट थप एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु ६० अर्ब बढी लगानी भइसकेकोले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने माग गरिएको छ ।
यस क्षेत्रको आर्थिक मेरुदण्डको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडानको व्यवस्थाका लागि माग गर्दै ज्ञापनपत्र बुझाइएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । उनले ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री प्रचण्ड विमानस्थल पूर्णरुपमा सञ्चालका विषयमा सकारात्मक रहेको र तत्कालै विभागीय मन्त्री सुदन किरातीलाई निर्देशन दिने काम भएको बताए ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले संघको मागप्रति आफू सकारात्मक रहेको तथा विमानस्थलको सञ्चालनका लागि भारत भ्रमणबाट फर्केपछि निजी क्षेत्रका व्यवसायी र सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढने बताएको सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4