+
+

आत्मविश्वासले भरिएका ‘जोन्टी’

भीम सार्कीका अनुसार नेपाल टिमको एकता र आत्मविश्वास यतिसम्म उच्च छ कि एसिया कपमा नेपालले भारत र पाकिस्तानलाई प्रतिस्पर्धात्मक क्रिकेटमा माथ दियो भने अचम्म नमाने हुन्छ ।

नमिता दाहाल नमिता दाहाल
२०८० वैशाख २४ गते ११:१६

२४ वैशाख, काठमाडौं । दुई दिन लगाएर खेलिएको फाइनलमा एसीसी एसिया कपमा छनोट हुन यूएईले दिएको ११८ रनको लक्ष्य जति सहज थियो, नेपालको सुरुवात पनि त्यति नै खराब । ८ ओभरमा नेपाल २२–३ को स्थितिमा थियो ।

तेस्रो नम्बरमा पठाइएका गुल्सन झा यूएईका दुई लेफ्टआर्म स्पिनरको आक्रमण थेग्न संघर्षरत थिए । पाएको बलमा हान्ने गुल्सनको खेल हो । त्यसका लागि नै प्रशिक्षकले उनलाई तेस्रो नम्बरमा पठाएका थिए । उनलाई साथ दिन क्रिजमा पुग्दा भीम सार्कीको जिम्मेवारी थियो, विकेट होल्ड गरेर टिमको रन मार्जिन घटाउनू ।

किनकी त्रिवि मैदान, कीर्तिपुरमा बादल लागिरहेको थियो, पानी पर्ने पूर्वानुमान थियो । यूएईका आयान खान र रोहन मुस्तफाले बलिङ आक्रमणको प्रतीरक्षा मात्र होइन, वर्षाको सम्भावना रहँदा डीएलएस पार स्कोरमा पनि ध्यान दिनुपर्ने थियो । कुनै खराब शट खेलेर आउट हुने छुट थिएन ।

दुवैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाए । २१ वर्षका भीमले संयमित व्याटिङ गरे, गुल्सनले केही ठूला सर्टहरु खेले । ‘सर (प्रशिक्षक मोन्टी देशाई)ले त्यही रोल दिनु भएको थियो’, भीमले अनलाइनखबरसँग भने, ‘मेरो दिमागमा विकेट होल्ड गरेर टिमको रन मार्जिन घटाउँछु भन्ने थियो । ओभरको बीचमा गुल्सनसँग खेल सकाएरै जाने भन्ने सल्लाह भयो ।’

३३.३ ओभरमा नेपाल ७ विकेटले विजयी भयो । गुल्सनले अविजित ६७ रन बनाउँदा भीम ३६ रनमा नटआउट रहे । यो जितसँगै नेपालले सेप्टेम्बरमा भारत र पाकिस्तानसँग एसिया कप खेल्ने तय भयो । यो नेपाली खेलाडीको सपना पूरा भएको क्षण थियो ।

एसीसी प्रिमियर कपको फाइनल खेलमा भीम सार्की र गुल्सन झा ।

२०७५ साल माघमै टिममा परेर पनि अवसर नपाएका भीमले अन्तर्राष्ट्रिय डेब्यूको अवसर पाएको तीन वर्षपछि मात्र हो । लिग टु अन्तर्गत अघिल्लो वर्ष चैतमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरे पनि उनले ब्याटिङ गर्न पाएनन् । सोही महिना पपुवा न्युगिनीसँग नेपालमा खेलिएको दुई खेलको शृंखलामा भीमले राम्रो गर्न सकेनन् । करिव १ वर्ष पुनः टिम बाहिर रहे । पछिल्लो समय भने अवसर मात्र पाएका छैनन्, आफ्नो संयमित ब्याटिङ कलालाई प्रमाणित गरेका छन् ।

गत माघमा मोन्टी देशाई नेपाल टिमको प्रमुख प्रशिक्षक बनेर आएसँगै भीमले अवसर पाउन थालेका हुन् । भीम भन्छन्, ‘मोन्टी सरले यू–१९ खेल्दादेखि नै चिन्नुभएको थियो । यहाँ आएपछि पक्कै पनि अध्ययन गर्नुभयो होला ।’

तीन महिनाको अवधिमा ८ एकदिवसीय अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेलेका भीमले २ चैतमा एकदिवसीय विश्वकप छनोटका लागि निर्णायक मानिएको लिग टु शृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध ६७ रनको संकटमोचक पारी खेलेका थिए ।

महेन्द्रनगरमा एकेडेमीमा खेल्न थालेपछि उनले जोन्टी को हुन् भन्ने थाहा पाए । साथी सर्कलमाझ छिट्टै लोकप्रिय बनेको जोन्टी नाम पाउनुलाई उनी गर्व गर्छन् ।

विश्वकपमा छनोट, अनि एसिया कपमा पनि स्थान बनाएपछि नेपाली क्रिकेटरको आत्मविश्वास पनि बढेको छ । भीमका अनुसार नेपाल टिमको एकता र आत्मविश्वास यतिसम्म उच्च छ कि एसिया कपमा नेपालले भारत र पाकिस्तानलाई प्रतिस्पर्धात्मक क्रिकेटमा माथ दियो भने अचम्म नमाने हुन्छ ।

‘हामी अहिले मानसिक रुपमा बलियो छौं । नतिजा पनि राम्रो निस्किरहेको छ । हामीले राम्रो लेभलमा खेल्यौं भने कोहीभन्दा कम छैनौं,’ भीमले थपे, ‘वान बल ब्याटल हो । यसभन्दा अगाडि पनि अन्डरडग टिमहरुले राम्रो टिमहरुलाई हराएको रेकर्ड छ । त्यसैले हामीले पनि जित निकाल्न सम्भव छ ।’

भारत र पाकिस्तानसँग खेल्नु नेपालको सपना हो । एसिया कपमा जितको मनोबलसहित खेल्नु चाहिँ आत्मविश्वास । भारतीय अनुभवी प्रशिक्षक देशाईको वान बल ब्याटलले खेलाडीको आत्मविश्वास बढाएको छ भने ह्याप्पी ड्रेसिङ रुमले टिम एकता । पछिल्लो एक वर्षमा भोगेको उतारचढाव र खराब लयको निराशापछि एकाएक आएको सफलताले देशभर क्रिकेट क्रेज पुनर्ताजगी भएको छ ।

भीम आफ्नै मैदानमा यति धेरै समर्थकमाझ रन बनाउन सक्नुलाई करिअरकै अविष्मरणीय क्षण मान्छन् । ‘केहीसमय अघि क्रिकेटले राम्रो नतिजा दिन सकिरहेको थिएन । नयाँ प्रशिक्षक आएपछि नतिजा निकालिरहेका छौं’, उनी भन्छन्, ‘दर्शक तथा परिवारको माया पाइरहेका छौं । त्यसले एकदमै खुसी छु ।’

नेपाली ‘जोन्टी’

भीम सार्कीको नामसँगै जोडिएर आउँछ उनको ‘जोन्टी’ पहिचान । ब्याटिङ र बलिङबाहेक फिल्डिङमा चर्चित दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्सको उपनाम पहिलोपल्ट पूर्वराष्ट्रिय क्रिकेटर चन्द्र साउदले दिँदा भीमलाई यसबारे केही थाहा थिएन ।

महेन्द्रनगरको खुलामञ्चमा क्रिकेट खेल्दा उनको बलमाथि नियन्त्रण जमाउने कला देखेर चन्द्रले भीमलाई ‘जोन्टी’ भनेर बोलाउन थाले । साथी सर्कलमाझ छिट्टै लोकप्रिय बनेको जोन्टी नाम पाउनुलाई उनी गर्व गर्छन् । ‘हामीले टेनिस बल भिजाएर खेल्थ्यौं । सानै भएकाले मैले ब्याटिङ पाउँदिनथेँ । त्यसैले फिल्डिङ गर्नुपर्थ्यो,’ भीमले २०६८/६९ तिर आफ्नो सुरुवाती दिनबारे स्मरण गरे, ‘नेट नहुने ठाउँमा बललाई जति छिटो नियन्त्रणमा राख्न सक्यो त्यति सजिलो हुन्थ्यो । सानैदेखि मलाई त्यसमा बानी पर्यो ।’

चन्द्र साउदकै मार्गदर्शनमा महेन्द्रनगरमै एकेडेमीमा खेल्न थालेपछि उनले जोन्टी को हुन् भन्ने थाहा पाए । त्यसपछि उनलाई ‘रोलमोडल’ मान्न थालेका भीमले जोन्टीका खेलहरु युट्युबमा हेरेर सोहीअनुसार फिल्डिङमा आफूलाई निखार्दै लगे । घरेलु प्रतियोगितामा भीम उत्कृष्ट फिल्डरका रुपमा स्थापित छन् । राष्ट्रिय टिममा पनि आफूमाथिको अपेक्षालाई कम हुन दिएका छैनन् ।

‘दाइहरुले पनि अभ्यासमा अलि कम गर चोट लाग्न सक्छ भन्नु हुन्छ । बल देखेपछि मलाई थाहा नै हुँदैन, मेरो शरीरले आफैं रियाक्ट गर्छ’ ,उनी भन्छन्, ‘डाइभ हान्न, क्याच गर्न अहिले मलाई सानोमा गरेको अभ्यासले नै होला सहज लाग्छ ।’

२०७५ कात्तिकमा जोन्टी रोट्स नेपाल भ्रमणमा आए । भैहरवामा प्रतियोगिता खेलिरहेका भीम रोल मोडललाई भेट्न काठमाडौं आए । ‘मलाई पारस दाइले लैजानुभएको थियो’, त्यो क्षण सम्झिँदै भीम भन्छन्, ‘मेरो भिडियो हेर्नुभएको रहेछ । मलाई राम्रो छ अझै राम्रो गर्नु भन्नुभयो, फिल्डिङका टिप्सहरु दिनुभयो ।’

कञ्चनपुरदेखि राष्ट्रिय टिमसम्म

कञ्चनपुरको भिमदत्त नगरपालिका, गोबरियाका बासिन्दा भीमले करिअर नै बनाउने लक्ष्यले क्रिकेट खेलेका होइनन् । सुदूरपश्चिमको क्रिकेट माहोलमा तत्कालीन राष्ट्रिय खेलाडीहरु विनोद भण्डारी, चन्द्र साउदहरुसँग खेल्ने क्रममा क्रिकेटतिर लागे ।

यू–१६ घरेलु प्रतियोगिता खेलेका उनी सन् २०१६ मा पहिलोपल्ट यू–१९ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे । टिममा स्थान बनाउन भने सकेनन् । २०१८ मा युथ एसिया कपमा भने उनले यू–१९ राष्ट्रिय टिमबाट डेब्यू गरे । २०१९ मा नेपालले विश्वकप छनोट खेल्दा उनी टिमको महत्वपूर्ण सदस्य थिए । नेपाली राष्ट्रिय यू–१९ टिमले यूएईसँग डीएलएसमा १ रनले पछि पर्दै विश्वकप गुमायो ।

उमेर समूहमा गरेको प्रदर्शनका आधारमा उनी त्यसै वर्षदेखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि पर्न थाले । टिममा भने उनी कहिले पर्ने कहिले नपर्ने भइरह्यो । यो बीचमा उनले घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबमा सम्झौता, अनि करारमा खेल्न थाले । राष्ट्रिय टिमबाट लामो समय खेलेका विनोद घरेलु क्रिकेटमा आर्मी टिमका कप्तान हुन् । उनले भीमलाई सहयोग गरे ।

आर्मीमा जागिर हुनुअघि भीम प्रतियोगिता र राष्ट्रिय टिमको क्याम्पका लागि मात्र महेन्द्रनगरबाट बाहिर जान्थे । जागिर भएपछि काठमाडौंमै बसेर प्रशिक्षण थाले । ‘खेल अझ सुधार गर्नुपर्छ भन्ने लागेपछि काठमाडौंमै बसेर प्रशिक्षण थालेँ,’ उनले भने ।

कुनै समय राष्ट्रिय टिमबाट खेल्नु उनको सपना थियो । अब ठूला राष्ट्रहरुलाई चुनौती दिनेस्तरमा टिम पुगेको छ । एक वर्षयता राष्ट्रिय टिमको एकपछि अर्को सफलतामा व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट गरेका भीम भन्छन्, ‘म निकै उत्साहित छु । तर यसका लागि अझै राम्रो मिहिनेत र तयारी गर्नुपर्छ । हामी अनुशासित भएर आफ्नो प्रोसेसलाई फलो गर्नुपर्छ ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?