
बेलाबेला टाउको दुख्ने, गाला, मुख, दाँत दुख्नेजस्ता समस्या हामी भोगिरहेका हुन्छौं । तर दैनिक थकान वा तनावका कारण होला भनेर यसलाई गम्भीर रुपमा लिंदैनौं । तर यो ट्राइजेमिनल न्युराल्जिया भएको पनि हुन सक्छ ।
ट्राइजेमिनल न्युराल्जिया अनुहारमा गम्भीर किसिमको दुखाइ हो । मस्तिष्कमा १२ जोडी स्नायु हुन्छन्, जसमध्ये पाँचौं नम्बरको स्नायुलाई ट्राइजेमिनल भनिन्छ । यसमा कुनै किसिमको दबाब वा अवरोध आएमा अनुहारको एक भागमा चरम दुखाइ हुन्छ । यो नै ट्राइजेमिनल न्युराल्जिया भनिन्छ ।
यस्तो दुखाइ दुई प्रकारको हुन्छ, स्थिर (मन्द रुपमा दुखिरहने) र अचानक (एक्कासि धेरै दुख्ने)
के कारण दुख्छ ?
टयुमरको कारण ट्राइजेमिनल न्युराल्जिया थिचिएमा, यो स्नायुको रुटमा कुनै अवरोध भएमा अनुहारमा दुखाइ हुन्छ । यद्यपि सबै अनुहारको दुखाइ ट्राइजेमिनल न्युरोल्जिया भने हुँदैन । जस्तै, स्टोक, दन्तरोग, नसाको समस्या, टेम्पोरोन्डिबुलर (टाउको दुख्ने कारण) वा क्लस्टर टाउको दुखाइ (टाउको एक साइड मात्र दुख्ने)ले अनुहारमा दुखाइ पैदा गर्न सक्छ । तर यीमध्ये कुनै पनि कारणले टाउको दुखेको होइन भने ट्राइजेमिनल न्युरोल्जिया भएको हुन सक्छ । अत्यधिक औषधि वा केमिकलको प्रयोग, ल्यापटप, मोबाइल र कम्प्युटरमा काम गर्ने व्यक्तिलाई पनि यस्तो समस्या हुन सक्छ ।
लक्षण
ट्राइजेमिनल न्युराल्जियाको मुख्य लक्षण टाउको दुख्नु नै हो । यो ट्राइजेमिनल स्नायुमा समस्या भएर हुने गर्छ । मुख धुँदा, छुँदा (हावाको स्पर्श र्दासमेत), खाना खाँदा, मुख खोल्दा दुख्ने समस्या हुन्छ । यस्तो दुखाइ केही सेकेण्डदेखि मिनेटसम्म हुन सक्छ ।
ट्राइजेमिनल न्यूराल्जिया हुँदा अनुहारको एक साइड करेन्ट लागे झैं दुख्ने भएकाले दैनिक जीवनलाई नै प्रभावित बनाउँछ । दुखाइका कारण खाना नखाने, कुराकानी गर्न गाह्रो हुने, शरीर कमजोर हुने हुन्छ । साथै निरन्तरको दुखाइले मानसिक समस्या समेत निम्त्याउन सक्छ । जसकारण बिरामी डिप्रेसनको सिकार पनि हुन सक्छ ।
कसरी पत्ता लाग्छ ?
ट्राइजेमिनल न्युरोल्जिया भएको शंका लागेमा अस्पताल गएर डाक्टरको सल्लाहमा विभिन्न जाँच गर्नुपर्ने हुन्छ । ईसीजी, रगत जाँच, युरिक एसिड, थाइराइड, सिटी स्क्यान, एमआरआई जाँच गर्नुपर्ने हुन्छ । यस्तो जाँच गर्दा अन्य रोगका कारण भएको हो कि होइन भन्ने पत्ता लगाउन सकिन्छ ।
उपचार
ट्राइजेमिनल न्युराल्जियाको उपचार औषधि, भ्याक्सिन र शल्यक्रियाबाट गरिन्छ । सुरुमा त रोग पत्ता लगाएर औषधि सेवन गर्न दिइन्छ । त्यसले पनि दुखाइ कम नभएमा सुई लगाउने र अन्तिम अवस्थामा शल्यक्रियासम्म गर्नुपर्ने हुन्छ ।
शल्यक्रिया गरेपछि पनि यो रोग पूर्ण रुपमा निको हुन्छ भन्न सकिंदैन, बल्झिरहन पनि सक्छ । त्यसैले न्युरोलोजिस्ट वा न्युरो सर्जरी विशेषज्ञलाई जँचाइरहनुपर्छ ।
(वरिष्ठ न्युरोलोजिस्ट डा. कोइराला वीर अस्पतालको न्युरोलोजी विभाग प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4