+
+

कीर्तिपुरमा स्थापित मूर्ति स्थानीयले हटाए

अमृत चिमरिया अमृत चिमरिया
२०८० वैशाख २४ गते १९:००

२४ वैशाख, काठमाडौं । कीर्तिपुरको प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथ र याकःमिसाको मूर्ति स्थानीयले हटाएका छन् । कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यंगःथामा सुखी गँछेः समाजले स्थापना गरेको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थानीयले हटाएका हुन् ।

आइतबार कीर्तिपुरका स्थानीयले सुखी गँछेः समाजलाई हस्तक्षेप गरेर याकःमिसाको मूर्ति र रातो मच्छिन्द्रनाथको हटाएका हुन् । स्थानीय युवाहरुले जनप्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरीसहितको उपस्थितिमा मूर्ति हटाएका हुन् ।

समाजले १५ मंसिरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि मच्छिन्द्रनाथका पुजारीहरुले विरोध गर्दै आइरहेका थिए ।

विवाद बढ्दै गएपछि विरोधमा ह्यगृब भैरवनाथ र ३२ पानेजु(पुजारी) संघले लिखित असहमति जनाउँदै कीर्तिपुरमा प्रसाद नै नलैजाने चेतावनी दिएका थिए ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले मूर्ति स्थापनाले ललितपुरसँग विवाद आउने र मेलालाई नै असर पर्ने भएपछि स्थानीयबासीले हटाएको बताए । ‘सुखी गँछेः समाजले स्थापना गरेको मूर्ति यहींका युवाहरु मिलेर हटाएका छन्, मूर्ति ढलान गरेर राखिएको रहेछ, यसलाई उखेलेर अहिले नगरपालिकामा राख्दै छौं’ मेयर नकर्मीले अनलाइनखबरसँग भने ।

मूर्ति हटाइसकेपछि पानेजु संघले प्रसाद ल्याउने बाटो खुलेको भन्दै सयौं वर्षको इतिहास रहेको प्रसाद ल्याउने मेला नरोकिने उनले बताए । नकर्मीका अनुसार मूर्ति गुठी संस्थानमा बुझाउनेबारे छलफल भइरहेको छ ।

मूर्ति स्थापना गरेलगत्तै ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघले १९ मंसिरमा असहमति जनाउँदै विज्ञप्ति निकालेर विरोध जनाएका थिए । संघले २१ मंसिरमा गुठी संस्थानको कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाएको थियो । विरोधका बाबजुद कीर्तिपुरले बेवास्ता गरेपछि ३ पुसमा अर्को विज्ञप्ति निकाल्दै संघले मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहटेसम्म प्रसाद ग्रहण नगर्ने चेतावनी दिएको थियो ।

पानेजु संघ, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिका बीच समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि सहमति नहुँदा पानेजु संघले प्रसाद नलैजाने भन्दै १२ वैशाखमा आधिकारिक निर्णय गरेको थियो ।

करिब १६०० वर्ष अघिदेखि कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा करुणामय, मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरुपा कन्या याकःमिसाको मूर्ति स्थापना गरेपनि सिर्जना भएको विवादले परम्परा नै रोकिने खतरा बढ्दै गएको थयो ।

मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने परम्परा छ । रातो मच्छिन्द्रनाथको प्रत्येक वर्ष पाटनमा गरिने जात्रा र १२ वर्षको १ पटक बुंगमतीबाट पाटनमा लामो रथ यात्रा हुने गरेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?