
२५ वैशाख, काठमाडौं । इंगलिस प्रिमियर लिगमा उपाधि होडमा रहेको आर्सनल विजयी हुँदा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
आइतबार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले घरेलु टोली न्युकासल युनाइटेडलाई २-० ले हरायो । यो जितसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी एकमा झार्न सफल भयो ।
न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले जर्गिन्होको पासमा १४औं मिनेटमा एक गोल गर्दा ७१ औं मिनेटमा अर्को एक गोल उपहार पाएको थियो ।
ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो । यो जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक जोड्न सफल भयो ।
आर्सनलभन्दा एक खेल कम खेलेको सिटी भने ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ ।
हारपछि न्युकासल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमै छ ।
अब लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ ।
आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १-० ले पराजित भएको छ ।
वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो ।
यो हारले युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ भने ३५ खेलबाट ३७ अंक जोडेको वेष्टहाम १५ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4