 
																						२७ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी आर्थिक वर्षको बजेटलाई सुधारको प्रस्थानविन्दु बनाउनुपर्ने बताएका छन् । बुधबार महासंघले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
‘विगत ४५ वर्षमा प्रतिव्यक्ति आय औसत आम्दानी दक्षिण एशियामा सबैभन्दा कम दरमा बढेको छ । यस अवधिमा आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रह्यो । अब पनि हामीले छलाङ लगाउन सकेनौं भने धेरै पछाडि पर्नेछौं । तसर्थ आगामी आर्थिक वर्षको बजेटलाई सुधारको प्रस्थानविन्दु बनाउनुपर्छ’ उनले भने ।
उद्योग व्यवसायमा प्रतिष्पर्धी व्यावसायिक वातावरण बनाउँदै लगानी आकर्षित गर्नका लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको उनले बताए । उद्योग व्यवसायमा लगानी आकर्षित गर्नको लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको उनको भनाइ छ। उनले द्वन्द्वका बेला बढाइएको मूल्य अभिवृद्धि करको दरलाई आगामी बजेटमा सापेक्ष सुधार गर्न आवश्यक रहेको बताए । उनले मूल्य अभिवृद्धिकरको दरमा सुधार गर्दा व्यवसायीको हितका लागि मात्र नभएर समग्र अर्थतन्त्रमा गुणात्मक प्रभाव पर्ने बताए ।
‘अब प्रविधिको उच्चत्तम प्रयोगबाट सुशासन कायम गर्नेतर्फ बजेटले विशेष पहल गर्नु आवश्यक छ । नीतिगत सुधारले राजस्व प्रसासन र संकलनमा पनि सुधार हुनेछ । राजस्व सम्बन्धी विभिन्न कानूनी व्यवस्थाहरु कार्यान्वयनका क्रममा उद्यमी व्यवसायीले नीतिगत र प्रक्रियागत समस्या भोग्नुपरिरहेको छ । यस्तो अवस्थामा एकीकृत कानुन निर्माणसँगै कर प्रशासनको पुनःसंरचना, प्रविधिको प्रयोग र दर समायोजन आवश्यक छ’ उनले भने ।
अध्यक्ष ढकालले विगत १५ वर्षमा आधा घटेको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा बढाउन विशेष कार्यक्रम आवश्यक रहेको बताए । उद्योगलाई सहज र सस्तो दरमा बिजुली उपलब्ध गराई प्रतिष्पर्धी बनाउन नीतिगत र व्यवहारिक समस्या समाधानका उपाय अवलम्बन गर्नुपर्ने उनले बताए । उनले साना तथा मझौला उद्यम प्रवर्द्धन गर्न परियोजना कर्जा, करमा सहुलियत, बजार विविधिकरणमा सहयोग पुर्याउन आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले साना उद्यमको संरक्षण दीगो अर्थतन्त्रको निर्माण भएको भन्दै थोरै लगानीमा रोजगारी सम्भव रहेको बताए । उनले कृषि खाद्य सुरक्षाका लागि मात्र नभइ उद्योगहरुका लागि पनि कच्चा पदार्थ भएको भन्दै कृषिमा हालसम्म अवलम्बन गरेका नीति तथा कार्यक्रमले प्रभावकारी नतिजा निकाल्न नसकेको भन्दै कृषिको इकोसिस्टममै सुधार आवश्यक भएको बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा चुनौती र समस्यामा रहेकाले सरकारले फजुल खर्च कम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक सुरक्षा भत्तालाई घटाउने वा कसरी व्यवस्थापन गर्ने विषयमा बजेटमा हेर्नुपर्ने बताए । उनले वित्त नीति र मौद्रिक नीतिबीचको तारतम्य मिलाउन आवश्यक रहेको बताए ।
अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन र गभर्नरले मौद्रिक नीतिमा सबै विषय समावेश गर्न नसकिने अभिव्यक्ति दिनुले निजी क्षेत्रमा चिन्ता थपिएको उनको गुनासो थियो । उनले आगामी आर्थिक वर्षको बजेट उत्पादन र रोजगारी वृद्धिलाई केन्द्रमा बसेर ल्याउने विश्वास निजी क्षेत्रलाई लिएको बताए ।
विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन ब्याजदर स्थायित्व, कर्जाको पुनर्संरचना र पुनःतालिकीकरण गर्नु पर्ने महासंघको माग छ । त्यस्तै, अर्थतन्त्र सुधारका लागि तत्कालै आउने मौद्रिक नीतिको चौथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमार्फत गर्न माग गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4