
२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘इन्द्र सभा’ स्थलको पुनर्निर्माण सम्पन्न गरेको छ । काठमाडौं–१९ मा पर्ने यो सभा स्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक रुपमा महत्वको साथ हेरिने गरिएको छ ।
१ करोड ४६ लाख ५९ हजार रुपैयाँको लागतमा सभा स्थलको पुनर्निर्माण सम्पन्न भएको महानगरपालिकाका सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यले जानकारी दिए । २ रोपनी ३ पैसा जग्गामा इन्द्र सभा परिसर पुननिर्माण सम्पन्न भएको उनले बताए ।
सहायक निर्देशक बज्राचार्यका अनुसार ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ । पुनर्निर्माणका लागि ११ कात्तिक २०७८ मा एक वर्ष अवधि दिएर कार्यादेश दिएको थियो । तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर १० वैशाख २०८० सम्म पुर्याएको थियो ।
सभास्थल मर्मत सम्भारको अभाव अव्यस्थित भएपछि महानगरपालिकाले ठेक्का लगाएको थियो ।
पुनर्निर्माणपछि यस क्षेत्रको अवस्थामा देखिने परिवर्तन आएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठले बताए । ‘पुनर्निर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिन थियो । अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको छ’ श्रेष्ठले भने ।
यस्तो छ इन्द्रसभाको लोक कथन
रैथानै अगुवाहरुका अनुसार इन्द्र जात्रा मनाउनुको धार्मिक पक्षको घटनासँग यो ठाउँ जोडिएको छ । आमाले लिने बसुन्धराको व्रतमा, पूजा सजाउनका निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लागेका थिए । अपरिचित कसैले आफ्नो ठाउँमा आएर फूल चोरेको देखेपछि स्थानीयले उनलाई समातेर पाता कसेर बन्धनमा राखे ।
फूल लिन गएको छोरो नफर्किएपछि इन्द्रकी आमा आफैं खोज्न आइन, छोरालाई बन्धनमा राखेको जानकारी पाइन् । उनले छोरोलाई छोडिदिन स्थानीयसँग आग्रह गरिन् । स्थानीयले सर्तविना इन्द्रलाई छुटाउन मानेनन् । त्यसपछि इन्द्र बिनायकको नेतृत्वमा इन्द्रलाई छुटाउनका लागि काठमाडौँको कंगः अजिमा मन्दिरबाट दक्षिण, विष्णुमती नदीबाट पूर्व, मरुढोकाबाट पश्चिम र द्वका दःबाट उत्तरमा पर्ने स्थानमा देवताहरुको सभा बस्यो । लोक कथन र धार्मिक विश्वाशका विषयमा जानकारी गराउँदै नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गी भन्छन् ‘देवताहरुको सभा स्वर्गमा हुन्छ । यहाँ पनि देवताहरुको सभा चलेको र त्यो सभा सञ्चालन गर्नु पर्ने कारण इन्द्र भएकोले इन्द्र सभा भनिएको हो ।’
इन्द्रलाई स्थानीयले निःसर्त छुटाउन नमानेपछि उनकी आमाले छोराको बदलामा कुहिरो दिने वाचा गरेर छोरालाई बन्धनबाट छुटाएर लगेकी थिइन् । इन्द्र जात्रा मनाउँदा यो कथन स्मरण गर्ने, जात्रा मनाउनुको कारणका अरुलाई सुनाउने चलन अहिले पनि छ ।
संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार यो क्षेत्रका विषयमा लिच्छवीकालीन अभिलेख छ । प्राप्त अभिलेख अभिलेख, ठाउँसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चलनका कारण सभाको विशेष महत्व छ । बज्राचार्य भन्छिन्, ‘सभा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4