+
+

काज सरुवा मिलाएर खाँणको स्वकीय सचिव बनेका थिए शिक्षक केसी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १८:५१

२८ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ मा रहेको शारदा माविमा बिहीबार पुग्दा प्रधानाध्यापक नरेन्द्र केसीको कोठा रित्तो थियो । उनको चेम्बरमा विद्यालयका शिक्षकहरू आउने, आराम गर्ने, एकछिन सुस्ताउने गर्छन् ।

केसी विद्यालयमा नआएको बिहीबार ४ दिन भयो । वैशाख २४ गते दुर्घटना हुँदा घुँडा र हातमा चोट लागेर काम गर्न नसक्ने भन्दै उनले वैशाख २९ गतेसम्मको विदा लिएर शिक्षिका एण्ड्रिला रिजाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए ।

केसी बुधबार विहानै काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परे । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रधानाध्यापक पक्राउ परेको विषयमा यहाँका शिक्षकहरु खासै खुलेर कुरा गर्दैनन् ।

केसीले विद्यालय स्रोत ब्यक्तिका रुपमा चितवनमा लामो समयसम्म काम गरे । स्रोत व्यक्ति हुँदा नियमित पढाउनुनपर्ने भएकाले उनलाई सजिलो थियो । तर, सरकारले विद्यालय स्रोत ब्यक्ति सम्बन्धी व्यवस्था हटाएपछि मावि द्धितीय श्रेणीका केसीले अरुणोदय मावि गीतानगरमा पढाउन थाले । उनी सामाजिक विषयका शिक्षक हुन् ।

केही समय गीतानगरमा पढाएपछि उनी २०७८ असार १ मा भरतपुर महानगरपालिका– १९ को शारदा माविको प्रधानाध्यापक भएर आए । तर, यहाँ आएको एक महिना पनि नपुग्दै उनले गृहमन्त्री बालकृष्ण खाणको स्वकीय सचिव भएर जान काज मिलाए । शिक्षा मन्त्रालयबाट केसीलाई मन्त्रीको स्वकीय सचिवका लागि काज मिल्यो ।

खाँण गृहमन्त्रीबाट पदमुक्त भएपछि झण्डै डेढ बर्षपछि २०७९ माघ १० गते उनको काज फिर्ता भयो र विद्यालय हाजिर भए । भरतपुर महानगरपालिका– ११ आँखा अस्पताल अगाडि घर भएका केसी कांग्रेसको शिक्षकको राजनीति गर्छन् । खाँण यसअघि सिँचाइ, रक्षा र गृह गरेर तीन पटक मन्त्री बने । खाँण रक्षामन्त्री हुँदा पनि केसी स्वकीय सचिव भएर गएका थिए । खाँणले काजका लागि व्यवस्था मिलाउँछन् ।

वुटवलमा विद्यार्थी राजनीति गर्दा खाँण र केसीहरुको समूह एउटै भएको कारणले केसी खाँणको प्रियपात्र भएको हुन सक्ने कांग्रेसका एक नेताले बताए । खाँणभन्दा केही जुनियर भए पनि केसीले उनको विश्वास विद्यार्थी कालमा नै जितेका कारण उनी रोजाइको पात्र भएको हुन सक्ने उनको विश्लेषण छ ।

उनी थप्छन्, ‘निजामतिलाई छाडेर विद्यालय पढाइ रहने शिक्षकलाई तान्नुको कारण केही न केही त पक्कै छ नि । न उनको जिल्लाका हुन किन सधैं केसी खोज्छन् भन्दा सेटिङका लागि होला ।’

केसी १४ औं महाधिवेशनमा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । मन्त्रीको पटकपटक स्वकीय सचिव भएर पनि जिल्लाका नेताहरुले भनेको काम नगरेको भन्दै नेताहरु उनी प्रति असन्तुष्ट थिए ।

‘अरुको काम गर्दा पैसा खान पाइने भो, आफ्नै नेतासँग कसरी पैसा खानु, बरु काम नै नगरिदिने उनको स्वभाव थियो’, एक जिल्ला नेताले भने, ‘त्यसैले जिल्लामा उनको राजनीति चल्न छाडेको थियो ।’

लामो समयसम्म बुटवलमा पढाएकी केसीकी श्रीमती अहिले नेपाल मावि टाँडीमा सहायक प्रधानाध्यापक छिन् ।

पेन्सन हुन करीव ४/५ बर्ष मात्रै बाँकी रहेका केसीलाई भुटानी शरणार्थी प्रकरणमा पीडितसँग पैसा लिएको प्रमाण भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफ्नो बयानमा खाँणका पीए केसीले पैसा लिएको बयान दिएका दिएपछि उनी पक्राउ परेका हुन् ।

यो पनि पढ्नुस्

कार्यदलमार्फत नेपालीलाई शरणार्थी बनाउने प्रयास, असफल भएपछि प्रतिवेदन हत्याएर कीर्ते

शरणार्थी मामिलामा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न देऊ

गिरोहकै रोजाइमा नियुक्त गरिएको थियो शरणार्थी कार्यदलमा सदस्य

नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा कसरी जोडियो गृह प्रशासन ?

‘गृह सचिवले बुझेको प्रतिवेदन कीर्ते होला भन्ने सोचेकै थिइनँ’

११ महिना अघि नै प्रहरी कार्यालय पुगेका सानु भण्डारी कसरी छुटेका थिए ?

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गृह प्रशासनकै दुरुपयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?