+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

११ महिना अघि नै प्रहरी कार्यालय पुगेका सानु भण्डारी कसरी छुटेका थिए ?

गौरव पोखरेल गौरव पोखरेल
२०८० वैशाख २५ गते २३:०४
बायाँबाट क्रमशः सानु भण्डारी, टंक कुमार गुरूङ र केशव दुलाल प्रहरी कार्यालयमा । तस्वीरः नेपाल प्रहरी

२५ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणले अहिले राजनीति तातेको छ । संसद्मा हरेक दिन यो विषयमा प्रश्न उठ्ने गरेको छ । सोमबार सांसद् अमरेशकुमार सिंहले भ्रष्ट्राचारको विषयमा बोल्न नपाएको भन्दै अर्धनग्न भएर विरोध प्रदर्शन नै गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले आफ्नो दलविरुद्ध प्रतिशोध साँध्ने र अरु दललाई जोगाउन खोजेको आरोप लगाएका छन् । त्यसक्रममा ओलीले ११ महिनअघि नै दुई जनालाई पक्राउ गरेर किन छाडियो भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् ।

त्यसबेला के भएको थियो ? यसबारे सरकारले अहिलेसम्म केही बताएको छैन । तर, अनलाइनखबरले ११ महिना अघि के भएको थियो भन्नेबारे खोजबिन गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा ११ महिना अघि १८ जेठ २०७९ मा प्रकरणका एक जना आरोपी सन्देश शर्माविरुद्ध पीडितले जाहेरी दिएका थिए ।

त्यसबेलै प्रहरीमा परेको जाहेरीमा आरोपीहरुले गृह मन्त्रालयका उच्च अधिकारीसँग कुरा गरेको सुनाएर विश्वासमा लिएको उल्लेख गरिएको छ ।

अनलाइनखबरलाई प्राप्त पीडितले १८ जेठ २०७९ मा प्रहरीमा दिएको जाहेरी दर्खास्तमा आरोपी दाङका सन्देश शर्माले गृह मन्त्रालयको ‘ठूलो मानिससँग फोन गर्छु भन्दै कुरा गरेको सुनाएर काम गरिदिन्छु’ भनेको उल्लेख छ ।

‘तपाईंको काम पक्का भयो भनेर विश्वास गराउँदै आएका थिए, त्यसक्रममा काठमाडौंका विभिन्न स्थानमा भेट गर्न बोलाएर परिवार, साथीभाइहरु पनि अमेरिका जान चाहनुहुन्छ भने शरणार्थी बनाएर पठाइदिन्छु भन्दै अफर गरेका थिए’, भक्तपुर बस्दै आएका पीडितले भनेका छन्, ‘यस्तो अफर आइ रहँदैन, तपाईंले मौकाको फाइदा लिनु भनेर पटकपटक विश्वासमा दिलाएर मैले चलाउने गरेको ह्वाट्स एपमा श्रम मन्त्रालय, गृह मन्त्रालय र सरकारका विभिन्न निकायबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा कहिले निर्णय भएको भनी पठाउने कहिले सोसम्बन्धी समाचारको फोटो पठाउने जस्ता कार्यहरु गरी मलाई विश्वास दिलाएका थिए ।’

ती समाचारहरु समेत पठाएपछि विश्वास गरेर आफूले भाइ, दिदी, भिनाजु लगायतलाई समेत भनेर प्रति व्यक्ति ५ लाख रुपैयाँको दरले ५ जनाको २५ लाख नगद रकम सुन्धारास्थित एक होटलमा शर्मालाई बुझाएको उनले भनेका छन् ।

त्यसबेला दाङका शर्मासँगै गृह मन्त्रालयको कर्मचारी बताउने अर्का एक जना व्यक्ति पनि भएको उनीहरुले बताएका छन् । त्यही बेला शर्माले दर्ता छुटमा परेका शरणार्थी सम्बन्धी फारम भर्न लगाएको जाहेरीमा उल्लेख छ ।

रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गरेको थियो । कार्यदलले छुट भएका शरणार्थीहरुलाई उपलब्ध प्रमाणसहित मोरङको पथरी शनिश्चरे र झापाको बेलडाँगी शिविरस्थित शरणार्थी व्यवस्थापन इकाइमार्फत निवेदन बुझाउन सूचना जारी गरेको थियो ।

त्यसरी जो कोहीले शिविरमार्फत बुझाउनसक्ने निवेदन सुन्धाराको होटलमा बसेर शर्माले भराएको पाइएको छ । कार्यदलले पछि प्रमाण नपुगेको भन्दै ती निवेदनहरु अस्वीकृत गरिदिएको थियो ।

त्यसबेला गिरोहले थप व्यक्तिहरुको खोजी गर्न भनेपछि भक्तपुर बस्ने यी पीडितले अन्य साथीभाइलाई समेत अमेरिका जाने अफर दिएका थिए । त्यसक्रममा जम्मा २० जनाले ३ करोड ८५ लाख रुपैयाँ शर्मालाई बुझाएका थिए ।

‘म र परिवारको शरणार्थी फारम भर्न लगाएर सुन्धारामा बायोमेट्रिक गरेर फोटो खिचेपछि ट्राभल डकुमेन्ट बनाउनुपर्छ भन्दै १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म नगद लिएका थिए’, पीडितले भनेका छन्, ‘म लगायत मेरो सम्पर्कबाट गएका व्यक्तिहरुको ट्राभल डकुमेन्ट बनी सकेको छ भन्दै मैले चलाउने गरेको ह्वाट्स एपमा म्यासेज गरेर नामावली पठाएर फोनबाट समेत बताएका थिए ।’

त्यति मात्र होइन, शर्माले त्यसबेला ग्यारेन्टीका लागि भन्दै ग्लोबल आईएमई बैंकको आफ्नो खाताको चेक समेत पीडितलाई दिएको पाइएको छ । ९० लाख रुपैयाँको ३ वटा र ३० लाख रुपैयाँको एउटा चेक गरेर जम्मा ३ करोड रुपैयाँको चेक दिएको पाइएको छ । २०७८ को २४ र २५ चैतमा रकम भुक्तानी पाउने गरी चार वटा चेक दिएर ट्राभल डकुमेन्ट बनेको भन्दै ह्वाट्स एपमा म्यासेज गरेको पीडितले बताएका छन् ।

‘तर २०७८ को चैतसम्म पनि कुनै काम नभएपछि चेक सटही गर्न खोज्दा चेक बन्द गरेको, दर्खास्त समेत नमिलेको भनेर बैंकले चेक फिर्ता गरिदिएको थियो’, पीडित भन्छन्, ‘चेक फिर्ता भएपछि उनले प्रयोग गर्ने मोबाइल तथा सामाजिक सञ्जलमा सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि उनले पठाएको नामावली र विभिन्न कार्यालयको कागजातहरु समेत बुझ्दै जाँदा ठगी गरेको यकिन भएको थियो ।’

त्यसपछि शर्माले ठगी गर्ने योजना बनाएर सरकारका उच्च अधिकारीसँग सम्पर्क गरेको भनेर फोन सुनाउँदै अमेरिका पठाइदिन्छु भनेर ठगेको थाहा पाएको पीडितले बताएका छन् ।

यो जाहेरी परेका बेला उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर प्रमुख थिए । जाहेरी दर्ता भएपछि ठगीसम्बन्धी अनुसन्धान गर्ने पिल्लरका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुसन्धान भएको थियो ।

त्यसक्रममा प्रहरीले छानबिनका लागि हाल पक्राउ परेका ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय बोलाएको थियो ।

‘त्यसबेला दुवै जनाले सबै काम शर्माले नै गरेको भन्दै दोष जति उनीमाथि थुपारेका थिए, उनीहरुसँग सोधपुछ गरेर त्यसबारे जानकारी लिने काम भयो’, त्यसबेला उक्त पिलरमा काम गरेका एक अधिकृत भन्छन्, ‘तर, भण्डारी र गुरुङविरुद्ध जाहेरी नभएकाले पक्राउ गर्न सम्भव भएको थिएन ।’

भण्डारीले पन्थी नेतृत्वको कार्यदलमा शरणार्थीसम्बन्धी पृष्ठभूमि नै नभएका ललितपुरका गणेशबहादुर केसीलाई सदस्य बनाउन भूमिका खेलेका थिए । उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई ‘मोटो रकम’ बुझाएर कार्यदलमा आफू अनुकूल सदस्यलाई नियुक्ति दिलाएका थिए ।

पाँचथरका गुरुङले झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रबाट ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मान्छे खोज्न’ सहयोग गरेका थिए । एकातिर उनीहरुविरुद्ध जाहेरी थिएन भने अर्कातिर त्यतिबेला गृह प्रशासनबाट दुवैलाई छाड्न दबाब आएपछि प्रहरी हच्किएको अधिकृतहरु बताउँछन् ।

त्यसबेला छुटेका शर्मा र गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको सरुवा भएसँगै फेरि अनुसन्धानको दायरामा ल्याएको थियो । पाण्डे ठगीमा संलग्न गिरोहलाई सहयोग गरेको आरोपमा अहिले प्रहरी हिरासतमा छन् ।

भण्डारी, मोरङका केशव दुलाल र पाँचथरका गुरुङलाई प्रहरीले १२ चैत २०७९ मा ठगी आरोपमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोजकुमार केसी बताउँछन् । त्यसबेला ८१ जना पीडितबाट करिब १३ करोड ६३ लाख रुपैयाँभन्दा बढी गरेको प्रहरीले बताएको थियो ।

प्रहरीले त्यसबेला सार्वजनिक गरेको संक्षिप्त विवरणमा पीडितलाई कहिले शरणार्थी शिविरमा अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, बिराटनगर, सौराहा, काठमाडौं लगायतका विभिन्न स्थानमा पटकपटक बेलाइएको उल्लेख थियो ।

लामो समयसम्म काम नभएपछि रकम माग्दा उल्टै ज्यान मार्ने धम्की आएको पीडितले प्रहरीसमक्ष बताएका थिए । त्यसबेलासम्म प्रहरीले प्रकरणमा गृह मन्त्रालयका उच्च अधिकृतहरुको संलग्नता आशंका गरेपनि ठोस प्रमाण हात पारिसकेको थिएन ।

तर, जब प्रकरणका मुख्य योजना मानिएका दाङका सन्देश शर्मालाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले २९ चैत २०७९ मा पक्राउ गर्‍यो, त्यसपछि यो प्रकरणमा ट्वीस्ट आएको थियो । उनीसँग मन्त्रालयका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई लाखौं रुपैयाँ बुझाएको विवरण भेटिएको थियो ।

शर्मामार्फत मात्रै चुरो कुरा खुल्ने भएपछि प्रहरीले भारतको हरियानाबाट पक्राउ गरेर उनलाई नेपाल ल्याएको थियो ।

शर्माले नै सुन्धाराको होटलमा बसेर पीडितहरुलाई छुट शरणार्थीको आवेदन भराएका थिए । तर, त्यसरी आवेदन भर्न लगाएका नामहरुलाई सहसचिव पन्थी नेतृत्वको कार्यदलले अस्वीकृत गरेको थियो । त्यसपछि ठगी गर्ने गिरोहले मन्त्रालयमा सचिव प्रेमकुमार राईलाई बुझाएको प्रतिवेदन नै हात पारेर कीर्ते गरेर नक्कली अनुसूची थप गरेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?