+
+

‘सिङ्गल ट्री’को सकस

एक्लो रुखको आत्मलाप

यहाँ सडकपेटीबाटै शासक बनेकाहरू अहिले आश्रितहरूलाई लछारपछार गर्छन् र आफ्नो शक्ति नाप्छन् । जहाँ रक्सी सहितका जुवाघर रातभर फुक्छन्, तर दुई मुठा साग र एकाध किलो आलु–प्याजको कारोबार वर्जित हुन्छ। कालोबजारी फुक्काफाल हुन्छन्।

सुरेश सुवेदी सुरेश सुवेदी
२०८० वैशाख ३० गते ७:२७

मिलनसार मित्र एउटै मात्रै भए पनि उसँग हज्जारौं हाँसो,  सयौं सम्झना र कैयौं सम्झना र कैयौं गोप्य कुराहरू साट्न सकिन्छ । म त एक्लो छु, फगत एक्लो !

एक्लो हुनुको पीडा मैले जो भोगेको छु, तपाइँसँग साट्दै छु । यस्तो अरुले पनि भोगेका होलान्। यदि छैनन् भने पक्कै भोग्ने छन्।

म सिङ्गल ट्रीको नामले चर्चित छु। हुन त मेरो स्थानलाई मानिसहरू आकाशदेवीका रूपमा पूजा गर्थे। तर यो कुनै कथा जस्तै भएको छ।

सिङ्गल ट्री भनिए पनि म एक्लो रुख मात्र हुँदै होइन। रुखहरूको समूह पूरै जंगल फाँडेर मलाई ‘सिङ्गल’ बनाइएको हो। मेरो वरिपरि भएका साथी-संगी-परिवार सबै सिध्याइसके। मलाई सुरक्षा दिने जमिन र मैले सुरक्षा दिएको जमिन खनिएको छ। मेरो आफ्नै पनि जरा-जरा काटिएका छन्। म एक्लो ! नितान्त एक्लो भएको छु।

म पतझड वर्गको वनस्पति हुँ । भन्नेहरूले खरी नामले पनि चिन्दछन् । म घाँसको लागि काटिन्छु र मादलका लागि ढालिन्छु । मेरो बोटमात्र होइन बास्ना पनि मनपराउँथे तर अहिले उपेक्षित छु ।

हुन त यो शहरमा म मात्र होइन शहर नै सकसपूर्ण देख्छु।

शहरमा मेरो जस्तै जीर्ण रहर

म नागार्जुन नगरपालिका वडा नम्बर ३ को हल्चोक नजिकैको थुम्कोबाट हर क्षण शहरवासीलाई हेरिरहेको हुन्छु।

अझैसम्म पनि बिहानको सूर्यका किरणहरू मलाई चुमेर मात्रै अरु अग्ला घरहरूमा पुग्छन्। त्यसैले होला मान्छेले मलाई मिचेर संरचना बनाएका छन्। तैपनि मलाई छोप्न सकेका छैनन्। मेरो छिमेकी बन्न आएका संरचनासँग सुरक्षाको कुनै आश छैन बरु त्रास छ।

थोरै आश मेयर मोहन बस्नेत र वडा अध्यक्ष उमेश लामासँग बाँकी छ ।

एकभन्दा अर्को अग्लो, अर्को भन्दा झन् अर्को चम्किलो बन्न प्रतिस्पर्धा गरेका कंक्रिटका थुप्रोहरूमा बिहानको किरणसँगै म आफूजस्तै हरियाली खोज्छु। अहँ शहरमा हरियाली देखिंदैन । बरु साँझ नपर्दै घरहरू जूनकिरीलाई जित्दै रातभरि आफ्नो उपस्थिति देखाउन खोज्छन्।

अरु के छैन र यो शहरमा ? गाउँदेखि यौवनाहरू ओइरिएका छन्– दुःख सिद्धाउन दुःखकै कथा बोकेर। विदेशबाट मन बहकाउन मात्रै होइन विदेश जान पनि बहकिंदै आइपुगेका छन् यहाँ– हृदय चिमोट्ने दुःखान्त यात्रा र उपयात्रा गर्नका लागि। मानिस कुनै उपन्यासको पात्र र शहर त्यसैको सेटिङ जस्तो ।

युगौंदेखि महाभारतका भीष्मपितामह जस्तो म ठिङ्ग अवतार बनेर पर्खिरहेछु, कैयौं चीरहरण हेर्दै यो शहरमा । शहरवासीहरू समयका विभिन्न पलहरूमा अनेक प्रतिरूपमा उदाइरहेका देख्छु।

उनीहरू आफ्नो भाग्य विधाताको स्वरूप खोज्दै मेरै फेदमा रहेको ढुंगालाई देवता ठानेर पुज्थे। मलाई उनीहरूको सुख–दुःख र माया पिरतीका साक्षी बनाउँथे। समयले तिनैका फूललाई चल्ला हुँदै वयस्क बनाएको छ। अहिले उनीहरू त्यसैगरी जोडी बनेर आउँछन् र मलाई त के आकाशदेवीको थानलाई पनि वास्ता गर्दैनन् बरु आकाश छोइने गरी पीङमा मच्चिन्छन्। रेस्टुरेन्टको सोफामा थच्चिन्छन्। अनि माया गाँसेको ठान्छन्।

अबका पुस्ताले बिर्सन्छन् यो थानलाई ललितपुरदेखि दीपंखा यात्रामा आउनेहरू अब त १२ बर्षमा पनि देखिन छोडेका छन् ।

शहरभित्र समयको घुम्तीहरूसँगै जब आफ्नो माया र मोह गलत भएको चाल पाउँछन् तब आकाशदेवीको थानमा क्षमाभाव होइन बरु विदेशी झोलमै झोक्रिएको देख्छु। पहिले आकाशदेवीको थानमा विश्वास चढाउनेहरू अहिले बिर्सन्छन्। देवीको आँखामा आँखा जुधाउन डराउनेहरू यो विश्वासबाटै हराएका छन् ।

मलाई त यो शहर कुनै सिकारु चित्रकारको अमूर्त पेन्टिङ जस्तो लाग्छ। जसलाई न झिल्काउन सकिन्छ, न मिल्काउन ।

रिङरोडमा दौडिरहेका सार्वजनिक सवारी, सवारीलाई दौडाइरहेका चालक, चालकलाई रिंगाइरहेका ट्राफिक अनि ती ट्राफिकलाई रिंगाइरहेका तिनका हाकिमहरू मनभरि फोहोरको अवशेष बोकेर अनाम यात्रामा कुनै दुर्घटनातिर ओभरट्याक गर्न खोजे जस्तो देख्छु ।

यिनै सवारीमा घञ्चमञ्च सहँदै, कुइनो र कुम ठेल्दै जब कोही सिटमा टुसुक्क बस्न पाउँछ उसले गाडीको फलामे डन्डी पक्रेर वा कसैको पिठ्युँको भरमा आफूलाई थामेर धर्मराउँदै उभिइरहेका यात्रु सामु आफूलाई भाग्यमानीसम्झिन्छ। अनि काठमाडौंमा कटेरो बनाउने भाग्य … !

नदेखिएका दृश्य

सडक सद्दे बनाउन खानेपानी विभाग, ढल विभाग र विद्युत् प्राधिकरण सारै मेहनत गर्छन्। यहाँसम्म कि सडक सहज बनाउन टोल सुधार समितिहरू, सडक विभाग, प्रदेश, पालिका, वडा सबै निकायमा योग्यता भएका इन्जिनियर देख्छु। मैले यो उचाइबाट पनि देख्न नसकेको भनेको मान्छे हिंड्ने सडकपेटी मात्रै हो।

अरु धेरै चिज देखिन्छ। ढलका मंगालहरू फुटेका वा चोरिएका। तिनीहरूको गन्ध दुर्गन्धमा छन्द मिलाएर बसेका मानिसहरू।

त्यसैले त यहाँ हिंड्दाहिंड्दै सडकपेटी सकिन्छ। अनि बाटो काट्दा काट्दै जेब्राक्रसमै जीवन सकिन्छ। यसैमा अभ्यस्त छ शहर।

मेरो हाँगामा पात पतिङ्गरको सहायताले गुँड बनाउने बकुल्ला मात्रै होइन गुँड नबनाउने गौंथली पनि मसँग गुनासो गर्न आइपुगेका हुन्थे। लाग्छ- अहिले त गौंथली नै छैनन् शहरमा। मेरा हाँगाले चराको मात्र होइन पुतली, माहुरी, माउसुली, छेपारोको स्पर्श नपाएको पनि धेरै भयो।

शहरमा मानिसहरू प्रकृतिलाई साँघुरो बनाउँदै छन्। टाढा भाग्दै गरेको देख्छु। जहाँ अभिभावकहरू आफ्ना केटाकेटीलाई खेलाउने ठाउँ खोज्दै रेस्टुरेन्टहरूमा छिर्नुपर्छ । स्कुल कलेजमा खेल्न पुग्ने ठाउँ भनेको त चेस र टिटी बल मात्रै जस्तो भएको छ। मानिसहरू सलल बहेको पानीमा पौडिने होइनन् महिनौंदेखि जमेको पानीमा स्वीमिङ गर्छन् यहाँ ।

मेरो नजिकैको स्कुलले बालबालिकालाई असारमा धान र फूल रोप्न सिकाएछ। माटोमा पनि रंग र सुगन्ध महसुस गर्न लगाएछ। प्राकृतिक रूपमा ऊर्जा प्राप्त गर्न योगका कक्षाहरू सञ्चालन गरेछ। तर यस्ता घटना थोरै देख्छु। बालबालिककाको मुहारमा सुन्दर मुस्कान फुलाउन हरियाली प्रकृति नै सुहाउँछ।

यस शहरका शासक सदियौंदेखि चोकचोकमा निरुपाय नागरिकको लामो लाइन उभ्याएर मज्जा चाखेझैं देख्छु। सस्तो श्रमको खोजीमा महँगो शुल्क तिरेर परदेशिन तयार छन् तन्नेरीहरू। भिख मागेको शैलीमा राहदानी विभाग बाहिर उभिन पसिना खर्च गर्छन्। ती तन्नेरी, कर्मचारीतन्त्रको जालोबाट फुत्केर राहदानी हात पार्दा युद्ध जितेर फर्केको सिपाहीको महसुस गर्छन्।

सरकारी अस्पतालको प्रांगणमा, यातायात व्यवस्था विभागको आँगनमा, ट्राफिक कार्यालयको लाइनमा, कर कार्यालयको कुना–कुनामा सेवाग्राहीहरू सरापको भुक्तान गर्न खोजेका झैं देखिन्छन्। नखाएकै विषले छट्पटिएका नागरिकहरू !

यहाँ सडकपेटीबाटै शासक बनेकाहरू अहिले आश्रितहरूलाई लछारपछार गर्छन् र आफ्नो शक्ति नाप्छन् । जहाँ रक्सी सहितका जुवाघर रातभर फुक्छन्, तर दुई मुठा साग र एकाध किलो आलु–प्याजको कारोबार वर्जित हुन्छ। कालोबजारी फुक्काफाल हुन्छन्।

यो उचाइमा उभिएर म देख्न चाहन्छु— शहर जसरी शासकहरूको हो, उसैगरी निमुखाहरूको पनि होस् ! यो शहर भ्रम फिंजाउनेको मात्र होइन, आवाज नहुनेहरूको पनि होस् ! यो शहर सधैं हतारिनेको मात्र होइन, सुस्त गति हुनेहरूको पनि होस् ! यो शहर पापीहरूको मात्र होइन, परोपकारी र प्रकृतिको पनि होस्!

लेखक सुकल्प सञ्चार नेपालका अध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?